जार पीटर प्रथमले हल्याण्डी भाषाबाट दरवारको नाम मात्र राखेका थिएनन्, आफ्नो दर्वार बनाउन वास्तुकलाविद लेब्लोनको योजना समेत पैंचो लिएका थिए । अहिले त्यहाँ विशाल दरवारका साथै डेढ सय फोहराहरुसहितका माथिल्लो र तल्लो पार्क पनि रहेका छन् । तल्लो पार्कमा रहेको पीटर प्रथमको चिटिक्क परेको सानो एकतले दरवार अठारौं शताब्दीको रुसी वास्तुकलाको नमूना मानिन्छ भने विशाल राजदरवारको वाह्य रुपलाई पीटरकी सुपुत्री एलिजाबेथले वास्तुकलाविद रास्त्रेल्लीको सहयोगबाट आकर्षक र भव्य तुल्याइदिएकी थिएन् । त्यस दरवारमा अहिले रुसी तथा यूरोपेली कलाकारहरुका चित्रहरु र विभिन्न मूर्तिहरु, बेल्लोर र चिनियाँ माटोका कलात्मक भाँडाकुँडाहरु, फर्निचर र अन्य कलात्मक वस्तुहरु प्रदर्शित गरिएका छन् ।
मैले सन् १९६२ मा पहिलोपल्ट पेतेरगोफको सौन्दर्य देखेको थिएँ । काठमाडौंमा रहेको फोहरा-दरवार देख्दा नै छक्क पर्ने मजस्तो व्यक्तिका लागि पेतेरगोफको भव्यता त्यतिखेर स्वर्गको सौन्दर्य हेरिरहेजस्तो लागेको थियो । तल्लो पार्कमा घुम्दै जाँदा एक ठाउँमा अलि भिजिरहेको बाटो पार गर्न लाग्दा अचानक दुवै तर्फबाट फोहराहरुको पानीले निथ्रुक्क भिजाइदिंदा नजिकै पार्कमा डुलिरहेका युवायुवतीहरुले खित्का छोडेर गिज्याएको मलाई अहिले सम्झना भएर आयो । म त्यो खतरनाक बाटो छिचोलेर पल्तिर उभिई रमिता हेर्न लागें । केही बेरपछि एक हुल मानिसहरुले त्यस बाटोमा पाइला सार्दा बीचमा फेरि फोहराहरुले अप्रत्यासित ढङ्गले रुझाइदिने आफ्नो करामत देखाइहाले । अब उनीहरुलाई खिज्याउने पालो मेरो थियो, तर आफै निथ्रुक्क भिजिसकेको व्यक्तिले अरुको गिल्ला गर्न सुहाउने कुरै भएन । त्यहाँ एक्कासी कसरी फोहोरा खुल्दोरहेछ भन्ने रहस्य पत्ता लगाउन मैले निकै बेर नियाल्दा पनि भेउ पाउन सकिनँ र त्यहाँबाट हिंडेको थिएँ । अर्कोबाजी पेतेरगोफको अवलोकन गर्न जाँदा भव्य फोहराहरुको भित्री भागको अवलोकनको क्रममा त्यस रहस्यको गाँठो फुकाल्न म सफल भएको थिएँ…
केही वर्षअघि सन् २००९ को ग्रीष्ममा नेपाली सहित्यकारद्वय ध्रुवचन्द्र गौतम तथा गोविन्दराज भट्टराईका साथै पत्रकारबन्धु दिनेश बस्नेतको साथमा सेन्टपिर्टसबर्गको यात्राको क्रममा बिहान १० बजेतिरै पेतेरगोफ पुग्यौं, तर भव्य फोहराहरु भने स्तब्ध थिए । नेपालबाट आइरहनुभएका पाहुनाहरुलाई त्यहाँ हेर्ने मुख्य आकर्षणको वस्तु नै देखाउन नपाइने भयो भनेर म निकै चिन्तित हुन पुगें । तर त्यहाँ दर्शकहरुको कमी थिएन । बिदाको दिन हो कि भनेर बुझ्न म फेरि टिकट किन्ने ठाउँतिर दौडिएँ । बाहिरको भव्यता देख्न नपाइए तापनि फोहराको भित्री भाग देखाउनुपर्ला भनेर मैले त्यसको टिकट पाइने भए किनेर ल्याउने पनि विचार गरेको थिएँ । फोहोरा एक छिनमा खुल्छ भन्ने उत्तर सुन्नेबित्तिकै एकाएक सुमधुर संगीतको धून मेरो कानमा पर्यो । मानिसहरु पनि दगुर्दै माथिको पेटीबाट तल्तिर हेर्न लागेकाले म पनि त्यतैतिर दगुरें जहाँ नेपाली पाहुनाहरु मेरो प्रतीक्षा गर्दै थिए । संगीतको धूनका साथै फोहोराहरुले पनि बिस्तारै जलधारा आकाशतिर ओइर्याउन थाले । जलधार र संगीतको मिश्रित ध्वनि गुञ्जायमान हुनुका साथै सूर्यको किरणमा झलझलाकार टल्किरहेका जीवन्त फोहोराहरुको दृश्य देखिनु निकै मनमोहक थियो । कान र आँखाबाट एकैचोटि अनुभूत गरिने अभूतपूर्व ध्वन्यात्मक मनोरम दृश्य वर्णनातीत लागिरहेको थियो । सबै दर्शकहरु मौनतापूर्वक त्यस दृश्यको रसपान गरिरहेका थिए…
एक छिन भव्य फोहराहरुको वाह्य छटाको माथिदेखि तलसम्म अवलोकन गरिसकेपछि हामी त्यसको आन्द्राभुँडी पनि खोतल्न एक समूहमा सम्मिलित भई युवती पथप्रदर्शिकाको साथमा भित्र पस्यौं र फोहराहरुको इतिहास एवं त्यसभित्र विभिन्न नलीहरुबाट पानी कसरी माथि तानिन्छ र फोहराले कसरी काम गर्दछ भन्ने प्राविधिक ज्ञान पनि आर्जन गर्दै अन्त्यमा अङ्गुर आदि फलफूलले सजाइएको तसला राखिएको एउटा सिंगमर्मरको टेवुलवरिपरि झुम्मियौं । पथप्रदर्शिकाको सङ्केतअनुसार त्यहाँ राखिएको फलफूल टिप्न यसो हात पसार्दा तसलावरिपरिबाट पानीको फोहरा छुटेर हात भिजाइदियो । सबै फलफूल टिप्न खोजेर रमाउन र फोटो खिंच्न लागे । अनि त्यसकोठाबाट बाहिर निस्कने ढोका पार गर्न लाग्दा माथिबाट झ्वार्र पानीको मुस्लो झरेर सबैलाई रुझाइदियो । यस्तो हुन्छ भन्ने थाहा भएकोले म केही वेर पर्खेर पथप्रर्दशिकाको पछि लाग्दै हुर्रिएर बाहिरिएँ । हामीले बाहिर निस्केर धन्यवाद ज्ञापन गर्दै पथप्रदर्शिकाको साथमा फोटो खिच्यौं । त्यतिखेर मैले, सायद चन्द्रशम्शेरको पालामा हो क्यारे, बेलायतकी महारानीलाई नेपालको चारकोसे झाडीमा शिकार खेलेको देखाउन कीराफटेङ्ग्रा पनि बाँकी नरहने गरी सफा पारिएको ठाउँमा यूरोपीय ढाँचाले बस्ने सुव्यवस्था गरिएको सन्दर्भमा बाथरुममा जडिएको कलधारा आदिमा पानी दिन छानामा कसैले नदेख्ने गरी बसिरहेको पालेले गाग्रीबाट कसरी पानी खन्याउँथ्यो भन्ने बताउँदा पथप्रदर्शिका पेतेरगोफका दर्शकहरुलाई छक्क पार्ने जलधाराको मर्म बुझेर मुस्कुराएकी थिइन्…
पीटर प्रथमद्वारा फोहरामा पानी पुर्याउने जुन प्रविधि अपनाइएको थियो त्यसले आजपर्यन्त काम गरिरहेको छ । फोहरा प्रणालीमा परिष्कार चाहिं उन्नाईसौं शताब्दीको मध्यसम्म पनि जारी नै रहेको थियो । यहाँ पार्कको माथिल्लो खण्डमा एक सिंढी तलको स्तरमा रहेका फोहराहरुका साथै ५ वटा फोहराहरु छन् भने तल्लो खण्डमा चार सींढीहरुको सतहमा रहेका फोहराहरुका साथै १५० वटा फोहराहरु क्रियाशील छन् । पेतेरगोफका फोहराहरुको इन्जीनियरिङ्ग र सौन्दर्यात्मक बनावट अद्वितीय र विशिष्ट खालको छ भन्न सकिन्छ । पछिल्लो पटक सन् २००० मा फेरि यहाँका भव्य फोहराहरुको जीर्णोद्धार पूरा गरिएको थियो ।
सोभियत कालमा लेनिनग्राद नामले प्रसिद्ध सेन्ट-पीर्टसबर्गको प्रत्येक यात्राकालमा म कैयौंपल्ट ‘फोहराहरुको राजधानी’ भन्न सकिने पेतेरगोफ हेर्न पुगिसकेको छु । सन् १९६२ मा पहिलोपल्ट म द्रुतगामी नौकामा चढेर त्यहाँ पुगेको थिएँ र उपनगरीय रेल चढेर आफू बसेको होटलमा फर्केको थिएँ भने पछि नाति अनन्तलाई रूसको सांस्कृतिक राजधानी देखाउन लग्दा शहरी यातायातको साधन उपयोग गरिएको थियो । रेडियो मास्कोबाट नेपाली भाषामा प्रसारणको संचालक भई काम गर्दा आयोजना गरिएका यात्राभ्रमणहरुको क्रममा वा नेपालबाट आएका विभिन्न प्रतिनिधि मण्डलहरुलाई रुसको उत्तरी राजधानी देखाउने क्रममा मोटरगाडीमा सयर गरिएको थियो । पछिल्लो पटक नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम तथा डा. गोविन्दराज भट्टराईका साथै पत्रकार बन्धु दिनेश बस्नेतको साथमा सेन्ट-पिर्टसबर्ग पुगेको थिएँ र त्यस यात्राकालमा पेतेरगोफको अवलोकनको क्रममा फोहराको जलप्रपात र संगीतको धूनको संश्लेषणात्मक ध्वनिसहित भव्य फेहराहरुको जुन मनोरम दृश्यावलोकन गरियो सो अविस्मरणीय रहेको छ । छोटकरीमा के भन्न सकिन्छ भने रुसको उत्तरी राजधानी सेन्ट-पिर्टसबर्गको अवलोकन गर्दा हरेकपल्ट पेतेरगोफ नपुगेसम्म यात्रा खल्लो र अधूरै रहेको प्रतीत हुन्छ ।
कृष्णप्रकाश श्रेष्ठ
दिनाङ्क : २७ अक्टोबर २०१३ (वृहस्पतिवार),
मास्को, रुस महासंघ ।

No comments:
Post a Comment