“आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।”
कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले वहाँको देहलाई सकेसम्म चाँडो पोल्न चाहन्थे, हामीले नै लगेर पोल्यौँ। आत्माको आजसम्म कुनै ठेगान छैन, कसैले खोजीगरेको पनि देख्दिन। त्यसैले कताकता लाग्छ, डिस्को, इन्टरनेट, रेमिटेन्स, सेक्स
टोईज् आदि आदि बारे केहिपनि जान्दै नजानेका अघिल्लो शताब्दीका गँवार मान्छेको ब्रेन वाश गरेर ति लक्ष्मीप्रसाद, “महाकवि” बनेका हुन्। तिनको आउटडेटेड शिलोक “देह र आत्मा” को प्रबचनले कुनै तरुण/तरुनीलाई इम्प्रेस गर्न सकिदैंन अब उप्रान्त।
मलाई घरबाहिरका उदाहरणहरुमा बिश्वासपनि लाग्दैन आजकल। जिजुबुबा घर भित्रकै हुनुहुन्थ्यो।
खैर जे होस्, म धेरै अघि देखि मर्ने बारे सोच्दै छु। अनि, लेख्ने बारे पनि। मर्ने निर्णय गर्न र लेख्ने निर्णय गर्न, दुबैमा एक लेभलको मानसिक परिपक्वता आबश्यक हुन्छ। र म अब लेख्नु र मर्नुको चरम आनन्दको पछी दौडेको छु। क्रमश: एक पछि अर्को लिनलाई। मलाई एउटा परिपक्व डिसिजन गर्नु छ: मर्ने। र त्यो भन्दा अघि एक पटक लेख्ने। मलाई मेरो देह अनि कथित “आत्मा”, दुबै सहित मर्नु छ। एउटा पूर्ण मृत्यु। ता कि कुकुर-संसारमा मेरो कुनै निशानी नछोडीयोस्। र देबकोटाले भने बिपरित, यो सम्भबपनि छ।
मेरो वरिपरी कुकुरहरु बस्छन्। मैले बजाउने बाँसुरी यिनलाई हड्डी जस्तो लाग्छ। केहि हाई प्रोफाइल बिज्ञ कुकुरहरु साहित्यमा, राजनीतिमा, ब्यापारमा अनि अध्यात्ममापनि, चालक सिटमा विराजमान छन्। तपाईं बिश्वास गर्नुस्, म मन हलुङ्गो हुने गरि केहि आफ्नै गीत लेखुँला, मेरा दिमाग भित्रका भर्चुअल् बिकारहरु पूर्णत: स्खलित हुने गरी शब्द कोरेर आनन्दले जिउ तनक्क तन्काउँला। तर त्यसपछि मैले कुकुर-संसार छाड्ने निर्णय गरें भने, आई एम् ड्याम् स्योर, मेरो गीतलाई तिनले ´सुसाईड नोट´ भनेर बदनाम गर्नेर्छन्। मेरो मृत्युपछी मेरो गीत निरिह अबला झैं हुनेछ। गुहु-मुत् खुवाउनु तिनको आदत हो, त्यसैले मर्ने निर्णय गर्नु भन्दा अगाडी मैले मेरो गीतको बारे सोच्नुछ। नत्र त्यहि गीतले मलाई मर्न दिनेछैन। हो, यो सबै गर्नका निम्ति म आर्यघाटको छेउमा आएको हुँ। छेउमा सुतिरहेकी श्रीमतीलाई ओछ्यानमा नै छोडेर उसले थाहै नपाउने गरि बेडरुम बाहिर त निस्किएको थिएँ नै, तर च्याँ च्याँ गर्दै मेरी छोरी त्यै बेला रोईदिई। उ सुतेको कोक्रो हल्लाएर बसेको हुँ, धेरैबेर। अन्तत: छोरी चुप लागी। प्रेममा कतिपय मौनताहरु स्वीकृति हुन्छन। म छोरीको स्वीकृतिमै निस्किएको हुँ।