सामाजिक प्राणी भएर पनि मान्छे समाजसँग विरक्तिएर किन बेला बेलामा वनजंगल, खोलानाला र हिमालतिर कुद्छ? के त्यो हन्टर एन्ड ग्यादरर युगको पशुवृत्ति हो, जसलाई मानव सभ्यताले अझसम्म सामाजिकीकरण गर्न सकेको छैन? किन मान्छे अनुकूल मिल्नासाथ सामाजिक दाम्लो चँुडाएर अलिक पर गई बुर्कुसी मार्न मन पराउँछ? प्रकृतिको विराट मौनतामा कुशलतापूर्वक आत्मालाप गर्न सकिने र स्वको विलय हुँदा प्राप्त हुने आत्मसन्तुष्टि पनि कारण होला। अवचेतनको अतृप्ति कहिले सतहमै देखिने गरी आउँछन् भने कहिले त्योे छैन जस्तै गरी गर्तभित्र सुषुप्त बसिरहन्छन्। म पनि त्यही पशुवृत्ति-मान्छेको एक जैविक कडी, अवसरको ताकमा हुँदो रहेछु र मौका मिल्नासाथ प्रकृतितिर निस्किहाल्छु। १ मंसिर २०७० मा भञ्ज्याङ् नर्सरी, थाप्ले र भीरकोटको यात्रामा निस्कन्छौँ, प्रभाकर गौतम, विमल आरोही, विन्देश दाहाल र म। बन्दको दिनमा पनि उत्साह बन्द भएको छैन। बरू पूर्वी आकाशमा सूर्य आफ्नै उज्यालोमा प्रशस्त खुलेको छ। आकाशको धावनमार्गमा चराहरू त्यसरी नै निर्बन्ध उडिरहेका छन्, जसरी सडकमा पातला सवारीसाधनहरू गुडिरहेका छन्।
बस पाउँदा पाउँदै पनि सीतापाइलाबाट भञ्ज्याङ नर्सरीसम्म हिँड्छौँ। सवारीसाधन धेरै नचलेकाले खुला बाटोमा हिँड्नुको मज्जा चौगुना बढेको छ। मनखुसी हिँड्छौँ। कारण, यात्राको कुनै विधान कोरेका छैनौँ। करबि डेढ घन्टा हिँडेपछि भञ्ज्याङ नर्सरीको डाँडा, जुन धेरै अग्लो छैन, उक्लेपछि अकस्मात् अघिल्तिरको अद्भुत सौन्दर्य देखेर हामी अवाक् पछार्ंै। सबै जाम। इन्दि्रयहरू जाम। चेतना जाम। शरीर जाम। उत्तरी आकाशमा हिमालको स्निग्ध टाकुराहरू पश्चिमबाट पूर्वतिर मार्चपास गर्दै गरेझैँ देखिन्छन्। परििचत लाग्नेे हिमाललाई गहिरएिर नियाल्छु। वषार्ंैपछि फर्केका पि्रयजनलाई नियालेझैँ। आहा ! अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, माछापुच्छ्रे र मनासलु। मनभित्र कोही बोलेजस्तो लाग्छ, यी तिम्रा परििचत हिमालहरू। अन्तरमनमा प्रवाहित आनन्दलाई प्रस्ट देख्छु, जसले मेरो जन्मस्थल तातोपानीको कलकल ध्वनि मात्र बोकेको छैन, अपितु मभित्र न्यानो भावको सञ्चार पनि गरेको छ। सबभन्दा अचम्म, लाजिम्पाटबाट मात्र दुई घन्टाको दूरीमा अन्नपूर्ण र मनासलु देख्न पाउँछु। त्यो अन्नपूर्ण र मनासलु, जसलाई मैले कास्की, घान्दु्रक र लमजुङ नाँयूबाट धेरै वर्ष नजिकै देखँे। कहाँसम्म भने नाँयूमा बिहानै ब्रस गर्न धारामा जाँदा मनासलु सधैँ मेरो अगाडि उभिएको हुन्थ्यो। अन्नपूर्णको दृश्यले भने मलाई घान्द्रुकमा पुर्याउँछ। घान्दु्रक विश्वकै प्रसिद्ध पदयात्रा गन्तव्य। स्थानीय समुदायद्वारा सञ्चालित नेपालकै पहिलो लघु जलविद्युत्ले झलमल्ल गाउँ। गुरुङ संस्कृतिले समृद्ध बस्ती। पोखराकै मूल्यमा औषधीमूलो गर्न पाउनेे सामुदायिक हेल्थपोस्ट भएको गाउँ। तर, यतिखेर मलाई घान्द्रुकगाथा होइन, प्रकृतिको गाथा गाउनु छ। एक्याप कार्यालयको झ्यालबाटै देखिन्छ, अन्नपूर्ण र माछापुछ्रे नजिकै। र, घोडाको ढाडजस्तो आकृतिको अन्नपूर्णको क्लासिक इमेज। भञ्ज्याङबाट भने दृश्य च्याप्टिएको देखिन्छ। तर, स्कुले साथीलाई दशकौँपछि चिनेजस्तो म सयौँ किलोमिटर परबाट पनि त्यसलाई चिन्छु। एक्यापको ढुंगे चौतारीमा अन्नपूर्ण साउथ वल्तिरै साहित्यका किताबहरू पढेका क्षणहरू सम्झन्छु। '...दाइ पनि लाइनमा उभिनूस्, हिमाल आउने गरेर फोटो खिचौँ...।' प्रभाकरको स्वर सुनेपछि म झस्कन्छु। यथार्थको धरातलमा सम्हालिँदै फोटो पोजका निम्ति कच्याककुचुक परेको टिसर्ट मिलाउँछु।
भञ्ज्याङमा मन्द बतास चलिरहेको थियो। त्यस्तैमा जाँडपानीले हल्लिँदै एक व्यक्ति हाम्रो सामु देखा पर्यो। त्यो तलको गाउँ कुन पर्यो? मैले सोधिहालेँ। धादिङको गाउँ, त्यति भनेर ऊ हतारँिदै हामीबाट छुट्टयिो। पहेँलपुर धादिङका गाउँ बिछट्टै सुन्दर देखिएका थिए। माछाको कत्लाजस्ता खेतका गह्राहरू क्रमशः माथि सर्दै सल्लाको वनको सिमानामा टुंगिएका थिए र क्रमशः धमिलिँदै गएको देखिने दर्जनाँै डाँडाकाँडाका पत्रहरूको शिरमा उही अन्नपूर्ण र मनासलु हिमालका मुकुट राखिएझैँ देखिन्थ्यो। हिमाललाई पृष्ठभमिमा राखेर प्रभाकरलेे विमल, विन्देश र मेरो फोटो लिएपछि मैले पनि सहयात्रीहरूको क्लोजअप लिएँ र लङ्सटका निम्ति क्यामेरालाई इन्पिmनिटी मोडमा राखे। चार जनाकै एकमुष्ट फोटो खिचाउने चाहनामा वरपर नियाल्छु। तर, शून्यता बाहेक केही भेटिँदैन।
भञ्ज्याङबाट छुट्टनिे दुई बाटामध्ये उत्तरको बाटो समात्छौँ। वरपरको रमणीयतालाई अनुभूत गर्दै हामी भञ्ज्याङको ढाडै ढाड हिँड्छौँ। काठमाडौँ सहरको आकर्षक दृश्य देखिन्छ। र, अवतरण गर्न डाँडाको कापबाट निस्केको बोइङ् घरको छतहरूमाथि सुस्तरी हिँडिरहेजस्तो देखिन्छ। एकदमै कल्पनातीत। सहरी भवनहरू छुट्याउन नसकिने एकनासका देखिन्छन्। मात्र कतै कतै हाउजिङ्का अग्लो संरचनाबाट दृश्यिक एकरूपता भंग भएका। पातलो तुँवालोले काठमाडौँको आकाशलाई डरलाग्दो गरी बेरेको देखिन्छ, त्यो देख्न केही किलोमिटर परको थुम्को चढ्नुपर्ने रहेछ। सायद जीवनलाई मनोगत भ्रान्तिहरूले बेरेको देख्न पनि प्रज्ञाको भ्यान्टेज प्वाइन्टबाट आफू हिँडेका बाटाहरूलाई फर्केर हेर्नुर्पर्ने हुन्छ।
यस्तै भ्यान्टेज प्वाइन्टको खोजीमा उकालो चढ्छाँै। थकाइ चुलिँदै जान्छ। बाटो छेवैको धारामा हातगोडा धुँदै गरेको पुरुषलाई सोध्छु, त्यो डाँडाको थुम्कोमा चियापसलहरू छन्? पाइन्छ, पाइन्छ, पातलो बान्कीको ऊ जवाफ फर्काउँछ। धन्यवाद... म कृतज्ञ हुन्छु। अगाडि बढ्छौँ। चियाको तलतल लाग्छ मलाई। हुन त म चिया त्यति पिउँदिनँ। तर, खुला ठाउँ र घमाइलो दिन छ भने वरपरको वातावरण नियाल्दै चिया सुरुप्प पार्न रुचाउँछु। सायद चियालाई परविेशको आनन्द सोहोर्ने सहयोगी पेय मान्दो रहेछु।
यहाँ भने साहित्यमा संक्षिप्त कुरा हुन्छ। विन्देश मेजर इङ्लिसका विद्यार्थी, आलोचनाको निर्मम पद्धतिलाई मन पराउँछन् र त्यसैले उत्कृष्ट साहित्य सिर्जनालाई सघाउने तर्क अगाडि सार्छन्। प्रभाकर स्तुतिगानको गुरुकुलकालीन परम्पराबाट हामी अझै मुक्त हुन नसकेको विचार राख्छन्। उपन्यास विधालाई हल्का ढंगले लिने ट्रेन्ड बढ्दै गएको विषयमा पनि बातचित हुन्छ। उपन्यास साहित्यिक रूप मात्र नभई लेखकको आफ्नो जीवन दृष्टिकोण भएकाले त्यसको निर्माणमा लाग्नेभन्दा, उपन्यासको निम्ति उपयुक्त कथानक, पात्र, चरत्रि, भाषाशैली, औजार उपकरण र खरखजानाको छनोट र संकलन गर्नेभन्दा पनि लहडमा लेखिहाल्ने परपिाटीले उपन्यासलाई भगतेको पल्प फिक्सनको स्तरमा झारेकामा हामी सामूहिक रूपमा उदेक मान्छौँ।
सानो घुम्ती छिचोलेपछि बाटोछेवै अमलाको बोट देखिन्छ। अमिलोपनाको कल्पनामा तिर्खाएको आँत भरिन्छ। विमल बाटोबाट ओर्लिहाल्छन्। घरधनीले देखेर कराए भने के हविगत हुने हो, म आशंकामा खुम्चिन्छु। तर, घरविपरीत दिशातिर फर्किएकाले समातिने सम्भावना कम देखेपछि डर हराउँदै जान्छ। उनी वायुपुत्रझैँ निमेषमै अमला लिएर र्फकन्छन्। अमलाले स्फूर्ति प्रदान गर्छ। केही छिनमा थुम्को देखिन्छ। चुनावी पर्चा टाँस्दै गरेका युवकलाई चिया पसल सोध्छु। उनले पूर्वतिरको एकतले घर देखाउँछन्। नजिकै रहेछ। सानो खोल्सो पार गरेर टिनले छाएको घरको गेटभित्र पस्दै म उँचो स्वरमा कराउँछु, चिया पाइन्छ होला? कतैबाट जवाफ आउँदैन। फेरि दोहोर्याउँछु, चिया पाइन्छ होला? यसपटक भने महिला आवाज सुनिन्छ, पाइन्छ। नजिकको गोठबाट साहुनी निस्कँदै गरेको देख्छु। बस्दै गर्नूस् न! उनी आश्चर्यचकित भएर हामीलाई हेर्छिन् र सोध्छिन्, तपाईंहरू चुनावी कार्यक्रमलाई आउनुभएको हो? खुला परविेशको आनन्द लिऊँ भनेर आएको यहाँ पनि चुनावसँग जोडिदिँदा झर्को लाग्छ। तर, झर्किनु बुद्धिमानी होइन। होइन, घुमघाम गर्न निस्केको, जवाफ सायद विमलले फर्काउँछ, म यकिन गर्न सक्दिनँ। कारण थकित जीउलाई बिसाउन म कुर्सीतिर लम्किसकेको हुन्छु। म ब्याकप्याकबाट फुल मकै निकाल्छु र प्रभाकरलाई गुन्द्रुकको अचार सम्झाउँछु। उनले बिर्सेका रहेनछन्। आनन्दी मनले मकै, अचार र चिया खान्छौँ। यो थाप्ले रहेछ। तामाङ गाउँ। थुम्कोमा वा थाप्लामै बसेकालेे थाप्ले भनिएको होला, अनुमान लगाउँछाैँ। तर, शब्द-व्युत्पत्तिको अनौठो लोकतिर प्रवेश गर्दैनाैँ।
चामलको सफा छ्याङ देखेपछि साहुनीलाई सोध्छु, आफैँले बनाएको हो? सकारात्मक जवाफ पाएपछि छ्याङ चाख्ने मन बनाउँछौँ। प्रभाकरले साथ दिन्छ। विमल र विन्देश भने चियामै रम्छन्। एक एक कचौरा मीठो छ्याङ पिउँछौँ। गुलियो। असाध्यै मीठो। चुनावी सभामा भेला हुन एकत्रित भएका स्थानीय बासिन्दाका कुराकानी सुनिबस्छौँ। डेढ घन्टाजति बिताएर चिया पसलबाट बाहिरँिदा २ बजिसकेको हुन्छ। हिउँदको महिना। घाम पश्चिमको यात्रामा निकै अघि बढिसकेको हुन्छ। सेतो गुम्बा जाने घुमाउरो बाटो समयको अभावले त्याग्छौँ र भञ्ज्याङकै मूलबाटोमा बस समात्न भीरकोटतिर हानिन्छौँ। चौतारानजिकै घरआँगनमा चुनावी सभाको तयारीमा जुटेका एक हूललाई पार गरेर थोरै ओरालो झरेपछि पातलो कटुसको जंगल सुरु हुन्छ। घना वनबाट पलाएर पनि सुकेनास लागेको तुरतुरे खहरे देखापर्छ। त्यहाँबाट दुईवटा बाटाहरू तेर्सिएका छन्। एउटा माथितिर, अर्को तलतिर। नराम्ररी नै दुविधामा पछौर्ं। म सोध्छु, कुन बाटो लागाँै? प्रभाकर भन्छन्, तलकै बाटो जाऔँ कि? मनमा भने माथिकै बाटो समात्नुपर्छ भन्ने लागेको हुन्छ। त्यसको कारण छ। मैले निकै अगाडि सुनेको, यात्राकै दौरानमा, बाटो बिरायो भने माथितिर लाग्नु। माथिको बाटो समात्दा गलत नै पर्यो भने पनि माथिबाट वरपरको दृश्य देख्न सकिन्छ र बाटो पहिल्याउन सजिलो हुन्छ। तर, प्रभाकरको बोलीमा त्यस्तो के ओज थियो, मैले नकार्न सकिनँ। म अघि बढेँ। बाटोे झन्झन् भीरको अक्करतिर अगाडि बढेजस्तो लाग्यो। पछि त बाटो कतै सकिएर भिरालो खेतको आली पो देखियो। अब भने बाटो बिराएको यकिन भयो। भीरको डिलमा गएर टुंगियो भने यता न उता हुन्छ भन्ने आशंकाले मनमा चिसो पस्यो। अझ अगाडि बढ्दै जाँदा आलीको दायाँबायाँ कुरोको झ्याङै झ्याङ देखियो। पछाडि र्फकने प्रश्नै भएन। हातले कुरोको झाडी पन्छाउँदै खुट्टाले थिच्दै अगाडि बढ्यौँ। मान्छेको पाइतालाले झार माडेको डोब भए पनि कसो नभेटिएला भन्ने झोकमा स्याँ स्याँ गर्दै कान्ला चढ्यौँ। सान्त्वना दिने हेतुले मैले सुनाएँ, अब फरेस्टर नै अगाडि भएपछि बाटो कसो नभेटिएला र! सायद मेरो भनाइमा आत्मविश्वासको पर्याप्त छनक थिएन, कसैले पनि प्रतिक्रिया देखाएनन्।
एउटा कान्ला चढेपछि घर देखियो। आशा जाग्यो। तर, नजिक पुगेपछि थाहा भयो, त्यो भग्नावशेष रहेछ। फेरि चिसियौँ। त्यहाँबाट पनि अघि बढेपछि अर्को दोबाटो देखियो। एउटा पातलो धर्सा पूर्वको झाडीतिर अघि बढ्थ्यो, अर्को अस्पष्ट डोब माथितिर कतै टुंगिन्थ्यो। फेर िअलमलियौँ। मैले भनेँ, म माथि उक्लन्छु र स्थितिको आकलन गर्छु, तपाईंहरू एक छिन त्यहीँ पर्खनूस्। थकाइले लोथ भएका सहयात्रीहरूले सजिलै माने। रूखको हाँगा समाएर कान्ला उक्लेपछि मैले घुमिरहेको स्पि्रङ्कल देखँे। हावालाई पछ्याउँदै गरेजस्तो लाग्ने पानीका थोपाको दृश्यमा थकित मन शान्त भयो। ल आउनूस्, बारी देखियो। घर पनि रहेछ। बाटो मिल्लाजस्तो छ। म उत्तेजनामा कराउँछु। आँखामा अनौठो चमक लिएर साथीहरू क्रमशः उक्लिन्छन्। करेसाबारी हुँदै घर अगाडि आइपुग्छौँ। एक-डेढ घन्टा अलपत्र परेर बस्तीमाझ आइपुग्दा ढुक्क हुन्छौँ। पिँढीमा दुई जना पुरुष रक्सीले मात्तिएर बसेकाजस्ता देखिन्थे। विन्देश सोध्छन्, सडक निस्कने बाटो कुन होला? एक जना पुरुष हामीलाई बारीको डिलसम्म लगेर तलको धूमिल नागबेली बाटो देखाउँदै भन्छन्, त्यो बाटो नबिराई लाग्नूस्, त्यो नीलो घर देखिन्छ नि ठूलो, त्यहाँ तपाइर्ंहरू निस्कनूस्। त्यहाँ बस आउँछ।
सूर्य धादिङबाट पनि अघि बढिसकेको हुन्छ। अस्ताञ्चल घामको गम्भीर रातो रंगको उज्यालोमा कपडैभरि लिपिक्कै कुरो मात्र देख्छौँ। कालो रंगको कुरोका बिझाउने चुच्चाहरू सर्टभरि, पाइन्टभरि टिपेर दुम्सीजस्ता देखिएका हुन्छाँै हामी। चार मानवीकृत दुम्सीहरू गोधूलि साँझमा थाप्लेको भीरबाट हतार हतार झररिहेको हुन्छ ।
No comments:
Post a Comment