नेपाल र भारतमा प्रचलित मुद्रालाई रुपैंयाँ र पैंसा भनिन्छ भने रुसमा प्रचलित मुद्राले रुबल र कोपेक भन्ने नाउँ पाएको छ । पहिले नेपालमा पैंसाको चार खण्डको एक खण्डलाई दाम भनिएझैं भारतमा पैंसाको तीनखण्डको एक खण्ड मूल्यको सिक्काले पाई र रुसमा चाहिं सबभन्दा न्यूनतम मुद्रालाई देन्गा भनिन्थ्यो । चाँदीका मोहर (नेपाल) र कम्पनी (भारत) को प्रचलनको प्रत्यक्ष्यदर्शी बन्ने सम्भावना पाएको यस पंक्तिकारले रुसी सिक्का देन्गा हातमा लिने सम्भावना नपाए तापनि दाम र पाईको रुपाकृति भने देखेको छ । बीसौं शताब्दीको मध्यसम्म नेपाल र भारतमा दाम र पाईको चलनचल्ती केही हदसम्म कायमै थियो । स्मरणीय के पनि छ भने यी तीनै देशमा यस्ता सिक्काहरु अब प्रचलनमा नभए तापनि सगोलमा धनको पर्यायको रुपमा क्रमशः दाम, पाई र देन्गी (देन्गाको बहुवचन) भन्ने गरिन्छ । सम्भवतः कुनै समयको सबभन्दा न्यून मूल्यको सिक्काको आधारमा नै नेवारी भाषामा पनि यसै अर्थमा धेबा भन्ने शब्द अस्तित्वमा आएको होला ।
नेपालमा १ रुपैंयामा १०० पैंसा (तर भारतमा चाहिं ६४ पैंसा) हुने र चार पैंसाको एक आना हुने हुँदा हामी शतप्रतिशत भन्नुपर्दा पच्चीसै आना भन्दछौं भने भारतमा (यदाकदा नेपालमा पनि) सोह्रै आना भन्ने चलन छ । भारतमा रुपैंयाको आधा (अठन्नी) र चौथाई चाहि (चवन्नी) भनिन्थ्यो । यसै अनुरुप नेपालमा पनि क्रमशः मोहर र सुकाको प्रचलन छ र यसबाट नेपालले दुवै पद्धतिको संयुक्त प्रयोग गरेको बोध हुन्छ । रुसको मुद्राको नामबाटै रुसमा पनि पहिले आधा र चौथाईकै मुद्रा पद्धति अस्तित्वमा रहेको अनुमान लगाउन सकिन्छ । नेपालमा जस्तै रुसमा पनि निकै पहिले (सन् १७०४) देखि नै दशमलव प्रणालीमा आधारित मुद्रा प्रचलित छ । भारतले बीसौं शताब्दीको उत्तरार्धपछि मात्र दशमलव पद्धति अपनाएको हो । आज म यहाँ नेपाली पाठकवृन्दलाई रुसमा प्रचलित मुद्राको कथा संक्षेपमा सुनाउन चाहन्छु ।
रुबल भन्ने शब्द सन् १२८१-१२९९ तिर भोजपत्रमा लिखित नोभ्गोरोदका दस्तावेजहरुमा अंकित भएको पाइन्छ । तेह्रौं शताब्दीतिर किभेली रुसमा झण्डै २०० ग्राम तौल भएको चाँदीको २० सेन्टिमिटर जति लामो चारपाटे ढिको नै सिक्काको रुपमा प्रचलित थियो । त्यो ग्रिबेन भनिन्थ्यो । त्यस्को ग्रिबेनको सहायताले किनबेच गर्न गाह्रो पर्ने हुनाले त्यसलाई आधा वा चौथाईको टुक्रा पारेर काम चलाउन थालियो । यसरी टुक्रा पारिने हुनाले त्यसले रुबल अर्थात् टुक्रा भन्ने नाम पायो । अर्को धारणाअनुसार चाँदी पगालेर दुर्इपटक साँचोमा खन्याई सिक्का ढाल्दा त्यसको बीचमा रेखाचिन्ह पर्ने हुनाले त्यस बेला चाँदीको सिक्कालाई रुबल भन्न थालिएको हो भनिन्छ । रुसी भाषामा गहिरो वा काटिएको रेखालाई अध्यापि रुब भन्ने गरिन्छ । यस्तो खत (चिन्ह) परेको सिक्कालाई रुबल (रेखांकित ढक) भनिएको प्रतीत हुन्छ ।
सिक्काको रुपमा रुबल रुसमा निकै प्रचलित भए तापनि चाँदीको अभाव हुनाले विदेशी सिक्काहरु पगालेर रुबल ढाल्ने चलन थियो । पश्चिमी यूरोपका देशहरुसित नोभ्गोरोदको सम्बन्ध भएको हुनाले व्यापारको भुक्तानीको रुपमा उसले चाँदी प्राप्त गर्दथ्यो । चौद्धौं शताब्दीमा एक ग्राम जति वजनको चाँदीको रुबल ढाल्न थालिएको थियो । पन्द्रौं शताब्दीको मध्यदेखि रुसमा यसरी ढालिएको रुबल नै व्यापक रुपमा प्रचलित भयो ।
सन् १५३४ मा जार इभान ग्रोज्नी (सन् १५३०-१५८४) की राजमाता एलेना ग्लीन्स्कायाले रुसमा सर्वप्रथम मुद्रासुधार गरिन् । पुराना सबै सिक्काहरु खारेज गरेर ६८ ग्राम शुद्ध चाँदीबाट ढालिएको कोपेक भनिने नयाँ मुद्रा चलनचल्तीमा ल्याइयो । त्यसको विनिमय दर त्यतिखेर मास्कोमा प्रचलनमा रहेको १०० कोपेक वा नोभ्गोरोदमा प्रचलिन २०० देन्गा (रुसी भाषामा यसैको आधारमा पैंसालाई अद्यापि देन्गी भनिन्छ) वा ४०० पोलुश्का (अर्थात् देन्गाको आधा) निर्धारित गरिएको थियो ।
जार अलेक्सेइ मिखाइलोभिच (सन् १६४५-१६७६) को पालामा सन् १६५४ मा चाँदीको सिक्कामा सर्वप्रथम अगिल्लो पाटोमा दुर्इटाउके बाजको मुनि रुबल भन्ने अभिलेख र अर्को पाटोमा अश्वारोही जारको आकृति अंकित रुबल ढालिएको थियो । तर त्यसमा १०० कोपेकको भन्दा कम (६४ कोपेकको जति मात्र) चाँदी रहेको हुनाले सर्वमान्य हुन सकेन । सन् १६५५ मा अश्वारोहीको मुन्तिर टक मारिएको वर्ष (सृष्टिको आरम्भदेखि गणना गरिएको मानिने वर्षको संकेत अक्षरको माध्यमले दिइन्थ्यो भने सन् १७०० देखि इश्बी सम्बत् लेखिन थालियो) समेत अंकित पूर्ण मूल्यको रुबल चलनचल्तीमा ल्याइयो ।
सत्रौं शताब्दीको अन्त्यतिर रुसमा मौद्रिक संकट उत्पन्न भयो र जार पीटर प्रथम (सन् १६७२-१७२५) ले मुद्रासुधारको क्रममा चेर्बोनेत्स (३.४ ग्राम) भनिने सुनका असर्फीहरु प्रचलनमा ल्याए । त्यसको विनिमय दर ३ रुबल निर्धारित गरिएको थियो भने डबल चेर्बोनेत्सको मूल्य ६ रुबल राखिएको थियो । यसका साथै २ रुबल मूल्यको असर्फी पनि ढालिएका थिए । सन् १७०४ मा रुबल (२८ ग्राम चाँदी) को एकसयौं हिस्सा बराबर मूल्यको तामाका कोपेकहरु चलनचल्तीमा ल्याइए (त्यसै समयदेखि अद्यापि १ रुबलको १०० कोपेक हुन्छ) । यस प्रकार रुसले विश्वमै सर्वप्रथम दशमलव प्रणालीमा आधारित मुद्रा प्रचलनमा ल्याएको थियो (अमेरिकामा सन् १७९२ मा त फ्रान्समा सन् १७९५ मा) । स्मरणीय के पनि छ भने भारतमा भन्दा निकै पहिले नै नेपालमा पनि दशमलव प्रणालीमा आधारित मुद्रा प्रचलित भइसकेको थियो ।
अठारौं शताब्दीभन्दा पहिले नै रुबलमा व्यापार-विनिमय सुरु भइसकेको हुँदा खुद्रा १०० कोपेक कागजमा पोको पारेर पनि रुबलको काम लिन थालिएको थियो । सन् १७०४ मा रुबलको रुपमा २८ ग्राम चाँदीको टक मार्न थालिएको थियो । यसका अतिरिक्त तामाका सिक्काहरु र सुनका असर्फी पनि ढालिन्थे । सन् १७६४ देखि चाहिं रुबलको रुपमा १८ ग्राम चाँदीको टक मार्न थालियो । यसै गरी ५ र १० रुबल बराबरको सुनको सिक्का पनि प्रचलनमा ल्याइएका थिए । सन् १७६९ मा एकातेरिना दि्वतीया (सन् १७२९-१७९६) को पालामा टर्कीसँगको युद्धका लागि खर्चको व्यवस्थापन गर्न आस्सेग्नात्सिया (ऋणपत्र) भनिने कागजको नोट प्रचलनमा ल्याइएको थियो । सन् १८३९-१८४३ को मुद्रासुधारको क्रममा नोटको स्थान चाँदीको मुद्राले लियो ।
सन् १८२८ मा उरालमा प्लेटोनियमको खानी पत्ता लागेपछि यस घातुबाट ३, ६ र १२ रुबलका मुद्राहरु निकालिन थालियो । सन् १८९५-१८९७ को मुद्रासुधारको क्रममा सुनलाई देशको मुद्राको आधार तुल्याइयो र ऋणपत्रको स्वतन्त्र विनिमयको व्यवस्था गरियो । त्यतिखेर इभान ओर्लोभ (सन् १८६१-१९२८) ले रंगीन नोट निकाल्ने जुन तरीका अपनाएका थिए सो विश्वव्यापी महत्वको बन्न पुग्यो । पीटर प्रथम र एकातेरिना दि्वतीयाको चित्रांकित रंगीन नोट निकै कलात्मक हुन्थे । सन् १९१४ मा प्रथम विश्वयुद्ध छिडेपछि सुनसित नोटको स्वतन्त्र विनिमय अवरुद्ध भयो । तैपनि सुन र चाँदीका मुद्राहरु सीमित मात्रामा ढालिन थालिएको हुँदा व्यापक रुपमा नोटको प्रचलन हुन गयो ।
रुस साम्राज्यको पतन, गृहयुद्ध, मुद्रास्फितिको अवस्थामा निकै गञ्जागोल देखापरेको थियो । जारकालीन मुद्रा र नोट, सन् १९१७ मा अस्थायी सरकारका प्रधानमन्त्रीको नाम केरेन्स्कीबाट केरेन्की भनिने तत्कालीन मुद्रा आदि किसिम-किसिमका नोट र मुद्रा सँगसँगै प्रचलनमा रहेका थिए । कतिसम्म गञ्जागोलको अवस्था थियो भने सोभियत लेखक भ्सेभोलोद इभानोभले आफ्नो संस्मरणमा लेखेअनुसार उनले सन् १९१९ मा भर्खरै कोल्चाकको सेनालाई धपाइएको ओम्स्क नगरमा आफ्ना मित्रहरुसहित दिवाभोज खाइसकेपछि आफैले तयार पारेका नोटहरुद्वारा रेष्टुराँलाई भुक्तानी दिएका थिए रे ।
सन् १९२१ को मार्च महिनामा सोभियत रुसको सरकारले जारकालीन स्तरकै चाँदीका मुद्राहरु निकाल्न थाल्यो भने सन् १९२३ मा चेर्बोनेत्स भनिने सुनका असर्फी पनि निकालिए । त्यसमा मर्ूर्तिकार इभान शाद्र (सन् १८८७-१९४१) निर्मित बीजरोपणकर्ताको मूर्ति अंकित हुनाले सर्वसाधारणले त्यसलाई सेयातेल् (शब्दशः रोपार) भन्ने नाम दिएका थिए । यस्ता असर्फीहरुद्वारा विदेशका साथ व्यापार विनिमयमा भुक्तानी दिइन्थ्यो । सन् १९७५ देखि १९८२ सम्म पनि सोभियत संघमा सुनका असर्फीहरु निकालिएका थिए ।
सन् १९२४ देखि चाँदीको रुबल चलनचल्तीमा ल्याइएका थियो, तर सन् १९३१ देखि चाँदीको सट्टा निकेल प्रयोग गर्न थालियो । सोभियत नोटहरुमा चाहिं राजकोषको टिकट भन्ने लेखिएको हुन्थ्यो । दोस्रो विश्वयुद्धपश्चात् सन् १९४७ को मुद्रासुधारपश्चात् रुबल नै एकमात्र भुक्तानीको माध्यम बन्यो ।
सन् १९६० मा अध्ययनार्थ मास्को आइपुग्दा हामी नेपाली विद्यार्थीहरुलाई महिनाभरिका लागि खर्च गर्न भनी जनही त्यतिखेर प्रचलित ९०० रुबल छात्रवृत्ति दिइन्यो । भाषा नजानेको हुनाले हामी भोजनालयमा खाना खान जाँदा वा बजारमा केही किन्दा आफूसंग भएको जम्मै नोटहरु पसलको काउन्टरअगाडि थपक्क राखिदिन्थ्यौं र त्यसैबाट क्यासियरले मुस्कुराउँदै चाहिने जति रुबल लिने गर्दथ्यो ।
सन् १९६१ मा पित्तलका १, २, ३ र ५ कोपेक मूल्यका सिक्काहरु यथावत् कायम रहने गरी पुरानो १० बराबर १ को अनुपातमा रुबलको नयाँ संस्करण निकालेर मुद्रासुधार भयो । बजारभाउमा पनि दशगुना कटौटी भयो । पहिले महिनाको ९०० रुबल पाइने हुँदा १० कोपेक उति ठूलो रकम नठानेर सहजै खर्च गर्ने बानी बसिसकेको थियो । तर नयाँ १० कोपेक पुरानो १ रुबलको बराबर मूल्यको भए पनि पहिलेकै १० कोपेकजस्तै लाग्दथ्यो । स्मरण रहोस्, नयाँ १ कोपेकमा १ बट्टा सलाईं किन्न सकिन्थ्यो भने १० कोपेकमा २ पल्ट भूमिगत रेलमा सफर गर्न सकिन्थ्यो (अहिले १ पटकका लागि ३० रुवल अर्थात् १ डलर पर्दछ) ।
सन् १९६५ को मेई महिनामा फाशीवादी जर्मनीउपर सोभियत जनताको विजयको २० वर्ष पूरा भएको उपलक्ष्यमा सर्वप्रथम १ रुबल मूल्यको स्मृतिसिक्का प्रचलनमा ल्याइएको थियो भने सन १९७० मा लेनिन जन्मशताब्दी तथा सन् १९८० मा मास्कोमा सम्पन्न भएको ओलम्पिक खेलको सन्दर्भमा सुन, चाँदी र प्लेटोनियमका स्मृतिसिक्काहरु निकालिएका थिए ।
सोभियत संघको विघटनपश्चात् सन् १९९२ मा मुद्रा अवमूल्यनले गर्दा खुद्रा सिक्काहरु निकाल्न रोकिएको थियो । सन् १९९३ मा नयाँ मुद्रासुधार लागु गरिएपछि सबै नागरिकहरु एकैपल्ट लखपति बन्न पुगे । फलतः १० रुबल समेत सबभन्दा सानो खुद्रा मानिन थाल्यो भने सन् १९९५ मा त १००० रुबलको नोटले नै खुद्राको रुप लियो । सन् १९९८ मा मुद्रामा स्थीरता ल्याउन नोटमा पछिल्लो तीनवटा शुन्य हटाई १००० गुना मूल्य घटाउने कदम चालियो । फलस्वरुप फेरि कोपेक चलनचल्तीमा आयो । तर क्रमशः अप्रत्यक्ष रुपमा रुबलको अवमूल्यन हुँदै गई हाल फेरि कोपेकको चलन हराइसकेको छ । तर ३१० वर्षको इतिवृत्त बोकेको कोपेकको कथा पनि कम रोचक छैन ।
ग्रोज्नीको नामले प्रख्यात भएका नाबालक इभान चतुर्थको राज्यारोहणको अवसरमा राजमाता एलेना ग्लिन्स्कायाले सन् १५३४ मा मुद्रासुधार गर्नुभन्दा पहिले रुसमा विभिन्न किसिमका सिक्काहरुको प्रचलन थियो । त्यतिखेर देन्गा भनिने नयाँ मुद्रा प्रचलनमा ल्याइँदा पहिले तरवारधारी अश्वारोहीको आकृतिको सट्टा भालाधारी अश्वारोहीको आकृति अंकित गरिएको थियो । त्यसैको आधारमा नयाँ सिक्कालाई मानिसहरुले कोपेइका अर्थात् भालाधारी सिक्का भन्ने नाउँ दिए भनिन्छ, यद्यपि प्रसिद्ध भाषाशास्त्री भ्लादिमिर दालको शब्दकोष (सन् १८८१) मा चाहिं रुसी शब्द कोपिच (शब्दशः जम्मा गर्नु) बाट कोपेक नाउँ रहन गएको हो भन्ने व्याख्या गरिएको छ । त्यतिखेर नै ४ पोलुस्का (देन्गाको आधा) को १ कोपेक र १०० कोपेकको १ रुबल हुने व्यवस्था गरियो ।
पछि जनविद्रोह नहोस् भन्ने अभिप्रायले पीटर प्रथमले १५ वर्ष लगाएर बिस्तारै समयानुकुल मुद्रासुधार गरेका थिए । उनले १५ कोपेक मूल्यको आल्तिन भनिने सिक्काका साथै तामाबाट कोपेकभन्दा मुनिका मुद्राहरु ढाल्न लगाएका थिए । त्यतिखेर चाँदीको १ कोपेक तामाको ४ देन्गा वा ८ पोलुस्का बराबर हुन्छ भनेर प्रजालाई बुझाउन निकै गाह्रो परेको थियो । सिक्कामा त्यसको मूल्य अक्षरमा लेखिनुका साथै निराक्षरहरुका लागि थोप्लो वा धर्काद्वारा मूल्यको संकेत गरिएको हुन्थ्यो । सन् १७०४ मा रुबलको सैयौं खण्ड मूल्य बराबर तामाको कोपेक चलनचल्तीमा ल्याइएको थियो ।
प्रथम विश्वयुद्धको क्रममा जारशाही रुसले खर्चको व्यवस्थाका लागि नोट निष्काशनमा वृद्धि गर्नुपरेको थियो र रोमानोभ वंशको राज्यशासनको ३०० वर्षको उपलक्ष्यमा प्रकाशित हुलाक टिकट समेत खुद्रा सिक्काको सट्टा प्रयोग गरिनुका साथै सन् १९१७ मा त तामाको बचावटका लागि खुद्रा सिक्काको रुपमा १ कोपेक मूल्यको नोट समेत निकालिएको थियो ।
सन् १९२४ मा सोभियत कोपेक ढालियो र एक वर्षपछि आधा कोपेक मूल्यको सिक्का पनि चलनचल्तीमा ल्याइयो । सन् १९२६ मा तामा र जस्ताको मिसावटबाट एक ग्राम वजनको सुनौला रंगको कोपेक निकाल्न थालिएको थियो । त्यतिखेर टक मार्नु सस्तो थिएन, किनभने एक कोपेकको सिक्काको लागत मूल्य ८ कोपेक थियो । त्यसैले सन् १९६१ को मुद्रा सुधारको क्रममा १, २ र ३ कोपेकका सिक्काहरु यथावत् राखिएका थिए ।
सन् १९९१ मा सोभियत संघमा १० र ५० कोपेकका साथै ५ र १० रुबलका सिक्काहरु पनि निकालिएका थिए । तीन दिनभित्र पुराना सोभियत नोटहरुको सटही गरिसक्नुपर्ने सरकारी आदेशअनुसार हरेक अफिसहरुले आफ्ना कर्मचारीहरुसंग रहेका पुराना नोटहरु सटही गर्ने व्यवस्था मिलाएको थियो । तर सबैले तोकिएको समयभित्र साँट्न नभ्याएकाले पुराना नोटहरु सडकमा समेत फ्याँकिएको हल्ला सुनिएको थियो । सोभिगत सरकारले जनतासंग भएको नोटको अनुपातमा आवश्यक सरसामान बजारमा बिक्रीका लागि राख्न नसकेकाले मुद्रासुधारको माध्यमबाट समस्या समाधान गर्न खोजिएको थियो भन्ने तर्क गरिन्छ र यसमा सत्यता छैन भन्न पनि सकिंदैन ।
सोभियत संघको विघटनपश्चात् कराल मुद्रास्फितिले गर्दा ४६० वर्षको समयावधिसम्म चलनचल्तीमा रहेको कोपेकको अस्तित्व मेटियो । सन् १९९८ को जनवरीमा नयाँ मुद्रा सुधारको क्रममा भालाधारी अश्वारोहीको आकृतिअंकित विभिन्न मूल्यका कोपेकका सिक्काहरुलाई पुनर्जीवन दिने प्रयास गरियो, तर क्रमिक मुद्रास्फितिले गर्दा सन् १५३४ देखि रुसमा प्रचलनमा रहेको कोपेक हाल प्रायः लोप भइसकेको छ ।
अन्त्यमा निष्कर्षस्वरुप के भन्न सकिन्छ भने रुसमा रुबल र कोपेकको ऐतिहासिक विकासक्रममा देखापरेका मुद्रासुधारमा यस देशको इतिहासको विभिन्न चरण प्रतिबिम्बित भएको छ भन्न सकिन्छ ।
कृष्णप्रकाश श्रेष्ठ
दिनांक : २८ नोभेम्बर २०१३ (वृहस्पतिवार),
मास्को, रूस महासंघ ।





No comments:
Post a Comment