बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै छुट्टिन लागेकाहरूसँग कसरी भेट्ने होला फेरि ?
यतिका वर्षपछि बल्ल बुझ्दैछु–हो बाँच्नुपर्ने रहेछ, भेटिँदा रहेछन् छुटेका मानिसहरु । जीवनको एउटा याममा दर्केझरीसँग भेटेझैं भेटिएर छुटेका मान्छेहरुसँ पनि भेट हुने रहेछ । सोह्र बर्षपछि उनीसँग फेरि भेट भयो अर्थात् खोलो फर्कियो
भर्खर भर्खर स्नातक पढ्न थालेका दिनहरु थिए । साह्रै अन्र्तमुखी थिएँ । अरूले बोलेको सुनिरहने । तिनको जवाफ मनभित्रै दिने मनैले । त्यस्तो दिनमा क्यान्टिनमा चिया पिउन बस्दा भेट भएको थियो उनीसँग ।
‘म ननभेज टी’–उनले भनेकी थिइन् ।
चियापनि ननभेज हुँदो रहेछ भनेर ज्ञानको विशाल किताब भेटेझैं मनभित्रै एकहात लामो खुशी फुलाएँ । केही बेरमा उनको अगाडि कालो चिया आयो । म दगं परें । मेरो घरमा बाले कालो चिया पिउन मन लागे भन्नुहुन्थ्यो–लौ है विरामी चिया भए पनि बसालम् ।
उनीसँग अरू तीनजना केटीहरु थिए । ती मध्ये एउटीसँग मेरो साथी प्रल्हादको चक्कर शुरू भएको थियो । हिरो साइकलको पछि त्यही केटीलाई राखेर काठमाडौंका केही सडकहरुको फन्को मार्दै गरेको देखेको थिएँ दुई तीन चोटी प्रल्हादलाई ।
त्यो भन्दा बढी के के गर्यो ऊ आफैं जानोस् । प्रल्हादलाई उसैको प्रेमिकाले बोलाएकी थिई–‘यतै आए हुन्छ ।’ म नबोलाईकनै गएँ प्रल्हादको पछि लागेर । ननभेज टी अर्डर गर्नेवालीले हात अघि बढाउँदै भनि–‘एनी वे म विशाखा, घर विरगन्ज ।















