Monday, 12 August 2013

तीज, गीत, दर र व्रत


केही दिनअघि महिला सहकर्मीले भनिन्– तीज गीत बजाउन हामी पनि शुरु गर्नुपर्यो। सबै टेलिभिजनहरूले बजाउन थालिसके। मैले त्यसमा असमति जनाएँ। भोलिपल्ट पनि त्यही कुरा दोहोरियो। म केही बोलिनँ। म कार्यरत रेडियो स्टेसनबाट पनि तीज गीतहरू बज्न शुरु गरे। टेलिभिजनहरूमा गीत बजेको हैन, गीतको विज्ञापनहरू बजिरहेका छन्। म्युजिक कम्पनीहरूको प्रायोजनमा ती गीतहरू बजिरहेका थिए। तर हाम्रो रेडियोमा गीत प्रायोजन गर्ने कम्पनीहरू छैनन्, तैपनि तीज शुरु हुनुभन्दा डेढ महिनाअघिदेखि गीत बजिरहेको छ। यो एउटा नबुझीकन गरिरहेको देखासिकी हो। नेपाल यो यहाँ गाउँदेखि शहरसम्म सबै कुरा देखासिकीमा चल्छन्। वास्तविकताको गहिराइ नाप्ने प्रयाससम्म पनि गरिँदैन।

हो नेपाली संस्कार धनी छ, गीत–संगीत, रहनसहन, भाषाभाषी, चाडपर्वको अथाहा खानी छ। यसमा बजाउने गीतसंगीत र चाडपर्वमा खानेकुराहरूको सूची धर्म र संस्कृतिले निर्धारण गरिदिएको छ। ती समयसापेक्ष छन्, मौसमअनुसार के खानुपर्छ भन्ने कुराको वैज्ञानिक आधार पुष्टिहरू सँगसँगै आएका छन्। त्यसको व्याख्या र अपव्याख्या गर्नेको समूह ठूलो छ।
तीज हरितालिका भाद्र शुक्ल पक्ष तृतीयाको दिनमा हिन्दू धर्मावलम्बी महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरेर मनाउँछन्। यसमा अविवाहिताले असल पतिको कामना र विवाहिताहरूले श्रीमान्को सुस्वास्थ्य, दीर्घायुको कामना गरेर मनाउँछन् भन्ने गरिन्छ। हिमालय पर्वतीकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनेर व्रत बसेको र त्यो पूरा भएर महादेव पति पाएको धार्मिक विश्वास पनि गरिन्छ। व्रत बस्ने चलन अझ पनि कायमै छ। दिनभर निराहार व्रत बसेर मध्यरातमा शिवको पूजा–आराधना गर्ने चलन अझै पनि छ।
व्रतमा कायम रहन, मन अन्त नडुलाउन र रातमा मनोरञ्जन पनि होस् भनेर विभिन्न गीत महिलाहरूले गाइरहेका हुन्छन्। त्यो उनीहरू आफैंले रचना वा संकलन गरेर गाइरहेका हुन्छन्। तीजको गीतसंगीतको कुरा गर्नेबित्तिकै महिलाहरूको दुःख–पीडा बिसाउने माध्यमको रूपमा लिने गरिन्छ।
आधुनिक परिभाषाअनुसार यसलाई अभिव्यक्ति स्वतन्त्रताको रूपमा व्याख्या गर्दा स्वाभाविक नै हो। यस दिन केही दशकअघिसम्म आफ्ना सासू, श्रीमान्, नन्द, आमाजूले दिएको दुःख गीतमार्फत व्यक्त गर्ने गरिन्थ्यो। वा भनौं पुरुषहरूलाई गाली गरिन्थ्यो। मूलतः पुरुषविरोधी गीतहरू गाइन्थ्यो, बनाइन्थ्यो। अहिले पनि त्यो चलन हटिसकेको छैन। अहिले गीतहरू प्रत्यक्ष गाउने चलन हटेको छ।
आधुनिक संगीतमा ढालिएको, भाषालाई खिचडी बनाइएको छ। नेपाली मौलिक बाजाहरूलाई तिरस्कार र नेपाली संगीतको नामोनिसान मेटिने गरी बाह्य प्रभावलाई भित्त्याइएको छ। जसरी हुन्छ, पुरुषलाई परपीडक देखाएर खोइरो खनिएको छ। पुरुषका विरुद्ध आन्दोलन गर्न वा विद्रोह गर्न उक्साइएको छ, नकि पुरुषहरूको खराब प्रबितिप्रति प्रहार र सच्चिन आग्रह गरिएको छ। रूप फेरिए पनि सार त्यही छ।

विश्वमा गीतसंगीतमार्फत ठूला–ठूला क्रान्ति सफल भएका छन। तर नेपालमा भने एक पक्षले अर्को पक्षलाई गाली गर्ने क्रम रोकिएको छैन। एक रथ दुई पांग्रा नै दुईतिर फर्काइरहेका छन्।

पुरुषलाई महिला र महिलालाई पुरुषको साथले मात्रै सफल बनाउने हो। अझ त्यसमा पुरुषले पुरुषप्रति हेर्ने र महिलाले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक र असल हुनु जरुरी छ। खराब नियतले गरिएको असल कामले सही परिणाम दिन सक्दैन। गीतसंगीतको कुरो पनि त्यही हो। तीज गीतका नाममा लवाइ–खवाइमा मात्रै केन्द्रित हुनु र पुरुषलाई गाली गर्दैमा सफल ठहरिँदैन।
गीत गाउने र बजाउने तीज आउनु दुई महिनाभन्दा अगाडिदेखि नै शुरु हुन्छ। त्यसको केही समयपछि दर खाने चलन आउँछ। व्रतालुलाई दह्रो बनाउन दर खाने चलन बसालिएको हो। तर शहरमा तीज शुरु हुनुभन्दा अगाडि एक महिनाअघिदेखि शुरु हुने दर खाने चलनले आयोजकलाई फाइदा पुगिरहेको छ। अनिवार्य र सशुल्क दर खुवाउने संघसंस्थाहरू प्रशस्त छन्। महिला हिंसाविरुद्ध काम गर्ने भनेर दुई हजारभन्दा बढी संघसंस्थाहरू समाज कल्याण मन्त्रालयमा दर्ता छन्। राजनीतिक दलका भगिनी संगठनहरू पनि छँदै छन्।
त्यसभन्दा बाहेक महिला समूह, टोल समूह, वडा समूह पनि छँदै छन्। एक महिला एकभन्दा बढी समूहमा आबद्ध छन्। सबैजसो समूहले गर्ने सशुल्क दर कार्यक्रममा सहभागी हुँदा ती महिलाले आर्थिकरूपमा सक्षम हुन्छन् कि हुन्नन् ? समय छ कि छैन, कामकाजी महिलाहरूलाई महिनैभरि हुने दर कार्यक्रममा सहभागी हुन। दर कार्यक्रमले महिला सशक्तीकरण भएको छ कि भ्रष्टीकरण ? यसको जवाफ खोज्ने कोशिश कहीँ–कतैबाट भएको छैन। दर खानकै लागि ऋण खोज्नुपर्ने, कार्यालयमा भन्दा दर कार्यक्रममा समय दिन परेर जागिरबाट हात धुने स्थिति आयो भने महिला सशक्तीकरण भयो कि महिलामाथि आर्थिक र सामाजिक हिंसा भयो ? महिला हिंसाविरुद्ध काम गर्ने संघसंस्थासँगसँगै महिला हिंसा पनि बढ्दो छ।
महिलाको संख्याभन्दा पनि गैरसरकारी संघसंस्थाको संख्या बढी भए पनि संस्था सञ्चालकहरूले आफूलाई केन्द्रमा राखेर सोच्ने र काम गर्ने परिपाटीमा परिवर्तन नगरेसम्म समस्या ज्यूँका त्यूँ रहन्छ। दर खाने कार्यक्रम आयोजक पनि यही मनोवृत्तिबाट ग्रस्त छन्। आफूलाई भन्दा अरुलाई सोचेकै हुँदैनन्।
बुहारीले सासूलाई कहिल्यै पनि आमाको रूपमा नहेर्दा र सासूले पनि बुहारीलाई छोरीको रूपमा नहेर्दा नै समस्या आएका हुन्। नन्द–भाउजू, आमाजू–बुहारी, देउरानी–जेठानीबीचको कुरा पनि ठ्याक्कै यही हुन्। एकले अर्कोको सम्मान नगर्नु र अस्तित्व स्वीकार गर्न नसक्नु नै महिलाको सबैभन्दा ठूलो शत्रु हो। भित्रभित्रै झा·िदै गएको इगोले स्वयम् महिलालाई खाइरहेको छ।
तीजका गीतसंगीत र दर खाने क्रमले निम्त्याउन सक्ने विकृतिको बारेमा यहाँ उल्लेख गरियो। तीजको महत्त्वपूर्ण पक्षमध्ये एक व्रतको बारेमा उल्लेख गरौं। तीजको व्रत पुरुषको लागि बसिन्छ भनेर कतिपय उग्र महिलावादीले भन्ने गरेका छन्। यसमा सहमत हुन सक्ने अलिकति पनि आधार छैन। दुनियाँको सबैभन्दा स्वार्थी प्राणी नै मानिस हो। उसले आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राख्छ।
यसर्थ व्रत बस्ने बहाना जे बनाए पनि व्रत जो बस्छ त्यो उसकै लागि हो। पतिको दीर्घायुको कामना वा सुस्वास्थ्यको कामना गरेर व्रत बस्नु भनेको पुरुषको लागि हो र ? आफूलाई साथ र सहयोग गर्ने मानिस आफूसँगै रहोस् भन्नको लागि हो। श्रीमान् वा श्रीमती जो रोगी भए पनि दुवैले दुःख पाउँछन्।

शत्रु नै भए पनि मानवीय संवेदना त प्रत्येक मानिसमा हुन्छ। महिलाहरूमा अहिले पनि आफू आश्रित हुँ भन्ने भान त परेकै छ। यसबाट माथि उठ्न अझै केही समय लाग्छ। नेपाली संस्कारले, परिवेशले, वातावरणले नै शिशुकालदेखि नै महिलालाई कसै न कसैप्रति आश्रित गराइदिएको छ। तसर्थ ओत लाग्दा ठूलो रुख खोज्नु स्वाभाविकै हो। यो मानसिकताबाट माथि उठ्न अझै केही समय त जरुर लाग्छ। अविवाहिताले असल पति पाऊँ भन्नु पुरुषको लागि हो र ? असल साथी खोज्नु सबैको स्वभावजन्य गुण हो, अनि त्यो आफैंका लागि। परिवर्तन आकाशबाट खोज्ने हैन, आफैंबाट शुरु गर्ने हो।

No comments:

Post a Comment