Monday, 26 August 2013

गितार सिक्ने सजिलो तरीका

चलचित्रमा नायक अथवा म्युजिक भिडियोमा गिटारिष्टले गितारका माध्यमबाट मनमोहक धुन निकालेको देख्नुभएकै होला । त्यसरी नै गितारमा आफ्ना औंला चलाउँदै अरूलाई मनमोहक धुन सुनाउनु वा आफै मज्जा लिने इच्छा धेरैको हुन सक्छ । जसरी उनीहरूले गितारमा आफ्ना औंला खेलाउँदै मनमोहक धुन निकाल्छन्, त्यो त्यति सजिलो काम भने होइन । तर, गितार बजाउने काम अब त्यति अप्ठ्यारो हुनेछैन । गितारजस्तै सुनिने ‘जितार’ले अब त्यस्तो रहर पूरा गर्नेछ । जितार डिजिटल प्रणालीमा आधारित गितार हो । यसले लेड र आईफोनको माध्ययमबाट सजिलो र छिटो गतिमा गितार सिकाउन सहयोग गर्छ ।
कसरी चल्छ जितार ?
जितार चलाउन गितारको अनुभव हुनुपर्ने आवश्यकता छैन । जितार नामको एप्लिकेशन आईफोनमा इन्ष्टल गरेपछि त्यसलाई गितारमा जोड्नुपर्छ । जडान भइसकेपछि यसको फ्रेटबोर्डमा रहेका लेडहरू आफै क्रियाशील हुन्छन् । यिनै लेडका आधारमा सजिलै गितार बजाउन सकिन्छ । गितारमा यसको आवाज ठूलो बनाउन पिकअपको प्रयोग गरिएको हुन्छ । तर, यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन । तपाईंले लगाएका हरेक नोट आईफोनमा गई बस्छ र यसैको सहायताले आवाज सम्पे्रषणको काम सजिलो बन्छ ।

जितार एप सित्तैमा उपलब्ध छ । यो एपका साथमा केही गीत पनि उपलब्ध हुन्छन् । डाउनलोड गर्नासाथ तपाईंले सिक्न सक्नुहुन्छ । हरेक हप्ता यो एपको अपडेटसमेत गरिन्छ । नयाँ अपडेटहरूमा राख्नुपर्ने गीतको सुझाव प्रयोगकर्ताले दिन सक्छन् ।


सिक्न छोड्नुहोस्, बजाउनुहोस्
सिक्ने समय पूरा नहुँदै गीत बजाउने रहर स्वाभाविक रूपमा सबैको मनमा हुन्छ । यसका लागि जितारमा स्मार्टप्ले फिचरको समेत व्यवस्था गरिएको छ । यसले बजाइरहेको समयमा गलत नोट थिचिएको अवस्थामा त्यस नोटको आवाज म्युट (नसुनिने) बनाइदिने गर्छ ।

कठिनाइका तीन चरण
गितार तपाईंका लागि नौलो उपकरण भएमा तपाईं ‘इजी’ (सजिलो) अप्सबाट आफ्नो सिक्ने प्रक्रिया शुरू गर्नु राम्रो हुन्छ । यसमा ओपन स्ट्रिङ (तार नदबाईकन)मार्फत नै आफ्नो मनपर्ने गीत सिक्न सकिन्छ । यो चरणमा आफ्नो मनपर्ने गीतमा कुन तार बजाइएको छ भन्ने जानकारी दिइएको हुन्छ । यसमा स्मार्टप्ले अप्सनको प्रयोग गरिएको हुन्छ । त्यसैले, गलत स्ट्रिङ दबाइहाले पनि त्यसको आवाज सुन्न सकिँदैन । इजी चरण पार गरेपछि तपाईं मिडियम (मध्यम) चरणको प्रयोग गर्न सक्नुहुन्छ । यो चरणमा तपाईंलाई फ्रेटका साथै स्ट्रिङको प्रयोगसमेत गराइन्छ । यसमा पनि स्मार्टप्लेको प्रयोग हुने हुनाले सजिलै जितार बजाउन तथा सिक्न सक्नुहुन्छ ।

यो चरणपछि हार्ड (गाह्रो) चरण आउँछ । यस चरणमा जितारले तपाईंलाई लगातार सही नोट प्रस्तुत गर्छ । यद्यपि, तपाईं आफ्नो इच्छाअनुसार बजाउन भने सक्नुहुन्छ । यसमा स्मार्टप्ले फिचर बन्द हुने भएकाले बजाएका हरेक नोट सुन्न सकिन्छ ।
सिमानारहित
यो उपकरणमा आईफोनको प्रयोग गरिएकाले आफूले चाहेको आवाज यसबाट निकाल्न सक्नुहुन्छ । फ्रिप्लेमा तपाईंलाई विभिन्न गितारका मोडल, की–बोर्ड, सिन्थ, ड्रमलगायत अप्सनमध्ये तपाईं आफ्नो चाहनाअनुसारको आवाज निकाल्न सक्नुहुनेछ । यसमा कोरस, इको, रिभर्व तथा डिस्टोर्सनलगायतको साउण्ड इफेक्टसमेत उपलब्ध छ । साथै, यसमा रहेको प्यानलको सहायताबाट तपाईं लेडमा पनि पूर्ण नियन्त्रण जमाउन सक्नुहुन्छ ।

यो डिजिटल गितार हालसम्म बजारमा आइसकेको छैन । तर, मात्र ३ सय ९९ अमेरिकी डलरमा तपाईं यसको अग्रिम बुकिङ गर्न सक्नुहुन्छ । यसका लागि तपार्इं इन्सिडेण्टजिटर डटकममा लगइन गरी बूकिङ गर्न सक्नुहुन्छ । यसै वर्ष (सन् २०१३) को अन्त्यसम्म यो उपकरण बजारमा उपलब्ध गराइने किक स्टार्टर (वेबसाइट)ले जानकारी दिएको छ ।

No comments:

Post a Comment