Saturday, 24 August 2013

भारत छाडेर चीन पस्ने नोकियाको धम्की

फिनल्याण्डको मोबाइल निर्माता कम्पनी नोकियाले भारत छाड्ने चेतावनी दिएको छ । भारतमा मोबाइल उत्पादन गरि भारतबाटै निर्यात गर्ने गरेको नोकियाले भारत असहज बजारको रुपमा परिणत भएको भन्दै अब चीनबाट आफ्ना उत्पादनहरु निर्यात गर्ने सोँच बनाएको प्रष्ट पारेको हो ।
भारत सरकारले नोकिया कम्पनीसँग २० अर्ब भारु कर छली गरेको भन्दै कर तिर्न ताकेता गरेसँगै नोकियाले यस्तो चेतावनी भारत सरकारलाई दिएको छ । समाचार अनुसार नोकियाले तत्काल व्यवहार सच्चाउन समेत भारत सरकारलाई आग्रह गरेको छ ।
Nokia
भारतमा व्यवसाय संचालन गर्नुको राजनीतिक जोखिम बढ्दै गएको र यसले नोकियाको भविष्यमा भारतमा व्यवसाय संचालन गर्ने नगर्ने भन्ने कुरामा निश्चित रुपमा प्रभाव पार्ने नोकियाले भारत सरकारलाई पठाएको पत्रमा उल्लेख गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
नोकियाको पछिल्लो चेतावनी भारत सरकारका लागि भने निकै ठूलो चुनौतिको रुपमा रहेको बताइएको छ । भारतमा प्रत्यक्ष विदेशी लगानी घटिरहेको बेला नोकियाले पनि चीन पस्ने चेतावनी दिएपछि सरकार अप्ठेरोमा परेको विश्लेषकहरुले बताएका छन् । भारतको अर्थतन्त्र पछिल्लो समय धर्मराउन थालेको, भारतीय रुपैयाँको अवमूल्यन तिब्र गतिमा बढिरहेको तथा आर्थिक वृद्धि मन्द हुँदै जाँदा सरकारी आर्थिक नीति असफल बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।
इण्डियन एक्सप्रेस पत्रिकाले नोकिया कम्पनीले भारत सरकारलाई चेतावनीयुक्त पत्र पठडाएको खबर छापेको भएपनि कम्पनीले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नजनाएको टाइम्स अफ इण्डियाले लेखेको छ ।
भारतमा कर समस्याका कारण चीनमा मोबाइल फोनको उत्पादन गरी त्यसलाई चीनबाटै भारतीय बजारमा आयात गर्नु बढि लागत प्रभावकारी हुने नोकियाको धारणा छ ।
स्मरण रहोस् भारतको चेन्नइमा नोकियाको विश्वकै ठूलो मध्येको एक मोबाइल फोन उत्पादन गर्ने कारखाना छ, जहाँ ८ हजार मानिसले काम गर्छन् । नोकिया कम्पनी भारतमा कर विवादमा फसेको मुख्य बहुराष्ट्रिय कम्पनी हो । नोकियाले कर छली गरेको आरोप भारत सरकारको छ । नोकियाले भने नोकिया मोबाइलमा भएको सफ्टवेयर डाउनलोड बापतको कर फिनल्याण्डमा बुझाइसकिएको हुनाले भारतसँग भएको द्धिपक्षीय व्यापार सम्झौताका कारण फेरि भारतमा पनि त्यस्तो कर बुझाउनु नपर्ने जिकिर गरेको छ ।

No comments:

Post a Comment