तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई,
मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन पर्यो । मैले उसलाई खुशी बनाउने उद्देश्यले
भनिदिएँ । मलाई मसाज कस्तो हुन्छ, थाहा नै थिएन ।
थाइ मसाज अनि थाइल्याण्डको पटायामा गर्नुको अनुभब लिनको लागि
मेरो साथी अनुजको करले पहिलो पल्ट भारी खुट्टाहरु लिएर छिरेको थिएँ म मसाज सेन्टरमा ।
थाइल्याण्डको पटाया, रंगिन शहर,
अझ भनौं रंगिन
चाहनेहरुको शहर । वाकिङ्ग स्ट्रिटको उज्यालो अनि चमक धमकले एकछिन त मलार्इ
अलग्गै ग्रह, अलग्गै संसारमा पुगे झैं
महशुस भएको थियो । मेरो साथी अनुजलाई वाकिङ्ग स्ट्रिटको गतिविधि नौलो थिएन त्यसैले उ मलाई आफ्नो अनुभव सहित वाकिङ्ग स्ट्रिटको बिशेषताहरुको
बर्णन गरिरहेको थियो । पटाया अनि समग्र बैंकक को बारेमा मलाइ यो
भन्दा अगाडि नै मेरा दुई अनुभवी साथीहरुले
बताईसकेका थिए । उनीहरुको वर्णनमा थाइल्याण्डको परिचय खुल्ला यौन र छाडापनमा मात्र साथीहरुले सीमित गरिदिनु र वाकिङ्ग स्ट्रिटको बत्तिहरुले पनि
सोही परिचय प्रदान गर्नुले म अलि अन्यौलमा परिरहको थिएँ । फेरि
पनि मेरो विवेकले भन्दैथियो कि कुनै सानो क्षेत्र, वर्ग र पेशा मात्र
थाइल्याण्ड हैन, थाइल्याण्डमा यौन र छाडापन
बाहेक पनि धेरै कुरा छ ।
वाकिङ्ग स्ट्रिटमा रहेको सानो मसाज सेन्टरमा थाइ मसाज गरिरहँदा मलाई मेरो शरीरमा नरम हात दौडाइरहेकीसँग थाइल्याण्डको बारेमा थप जान्ने इच्छा भयो साथै खुल्ला र सजिलो भनिएको यौनको बारेमा पनि जान्ने इच्छा
भयो । मैले फेरि दोहोह्राएँ । तिम्रो नाम के हो ? उसले फेरि पनि नाम
बताइन, बरु मेरो थेप्चो र नेप्टो नाक देखाउँदै अर्को बेडमा मसाज गर्दै गरेकी
उसकी साथीलाई खै के के हो के के भनी ।
अन्तिम बाक्य चैँ मैले बुझ्ने नै थियो ‘सेम सेम’। मैले उसलाई के भनेको भनेर सोधेँ । मेरो नेप्टो र थेप्चो नाकले गर्दा म पनि उनीहरु जस्तै
देखिन्छु रे भन्दै हाँसेकी रैछ । मैले फेरि नाम सोधेपछि भने उसले
आफ्नो नाम बताई धेरै नै लामो नामको पछाडी
उसले पुवाँ भनी । मैले उसको नाम सम्झन प्रयास गरेँ तर सकिँन । मैले उसको नाम उच्चारण गर्न नसकेको महशुस गरिछ क्यार उसले मलाई ‘पुवाँ’ मात्र भन्ने अनुमती दिई ।
पुवाँसँग नजिकिने उद्देश्यले तिमी मलाई निकै राम्री लाग्यो भनिदिएँ । ऊ उसको साथीतिर हेरेर हाँसी, यसरी हँस्दा त्यो
थाइल्याण्डकी युवतीको सुन्दर मुहार लाजले रक्तिम बनाएको थियो । पल्लो
बेडमा मसाज गराइरहेको मेरो अनुभवी साथी
अनुजले मतिर हेर्दै जिस्क्याउने नियतले प्रश्नको तिर छोड्यो । के हो सर निकै मन पर्यो कि क्या हो ? मन पर्यो होइन माया लाग्यो थोरै भावुक हुँदै मैले जवाफ दिएँ, मसिना साना हातहरुले दिनभरिमा कति जनालाई मालिस गरेपछि यसको
ड्युटी पूरा हुने हो ! अरुको मसाज गरेर मात्र पुग्ने हो या आफनो शरीरको
मसाज ग्राहकलाई गराउनुपर्ने बाध्यता पनि छ ? यसले किन यही पेशा
रोजेकी हो मलाई जान्ने उत्सु्कता थियो । मसाज
गरीरहेकी पुँवालाई मलै भैहाल्यो अब गर्नु पर्दैन भने । उसले म सुतेको बेडको अगाडी भित्तामा झुण्डाइएको घडी हेरी र १५ मिनेट बाँकी भएको जानकारी
दिँदै आफनो ड्युटी पुरा गर्ने र बीचमा छोड्न नमिल्ने बताई ।
मलाई लाग्यो, मैले एक घण्टाको ऊसँगको साथ किनेको हो र अब १५ मिनेट मात्र बाँकी छ । ४५ मिनेटको प्रयासमा मैले उसको नाममात्र थाहा
पाउन सकेको थिएँ । १५ मिनेटपछि ऊ अरु कुनै ग्राहकको सेवामा
हुन्छे अनि मेरो मनभरि उसलाई देखेर उब्जिएका
प्रश्नहरु अनुत्तरित नै रहनेछन् भन्ने लाग्यो ।
समयको सदुपयोग गर्दै मैले उसलाई सोधिहालेँ। पुँवा मलाई तिमी मन पर्यो के तिमी मसंग जान्छौ ? मेरो प्रश्नमा
केही शब्दहरु छुटेका थिए वा समय छोटिएकाले
म हतारिएको थिएँ, उसले के बुझी, जवाफ भने रूखो दिई ‘म त्यस्तोखाले केटी होइन । तँपाईलाई सेक्स चाहिएको हो भने लेडी बार या पार्लरमा जानुहोला, म त यहाँ आफ्नो हातको सीपले मसाजसम्म गर्दछु ।’
उसका आखाँमा थोरै रिस र धेरै घृणा प्रष्टै देखिन्थ्यो । सायद मसाजमात्र गराउने अभिप्रायले मसाज सेन्टरभित्र छिर्ने
मजस्ता भलाद्मी चरित्रहरु पनि ऊसंगको संसर्गले चरित्र बदल्दै यस्ता
प्रश्न पहिला पनि धेरैले गरेथे होलान् उसलाई, उसको जवाफ
बारम्बार भनिएर कण्ठस्थ गरेझै लाग्दथ्यो । उसको त्यो रुखो
जवाफले म रोकिइँन । मैले उसलाई भने ‘मलाई तिमी मन पर्यौ । म तिमीसगैं बस्न चाहन्छु । एकघण्टा किनेको समय होइन, इच्छा हुञ्जेल,
भन त्यसका लागि के गर्नुपर्छ ?’
यतिखेर भने ऊ अलि भावुक देखिई र भनी ‘हामी कला बेच्छैा सर, हातको कला, शरीरका लागि समुन्द्र किनार जानुपर्छ । उसले भनेको समुन्द्र किनार पटाया शहरसंगै जोडिएको समुन्द्रको किनार थियो जहाँ हरेक रात जाग्दथ्यो
अनि दिन सुत्दथ्यो । रातभरि ग्राहकको प्रतिक्षामा बसिरहने
सुन्दरीहरुको त घर नै त्यही समुन्द्र किनार नै
हो भन्ने लाग्दथ्यो । कति सुन्दरीहरु टिफिनभरि खाना बोकेर आउँथे र ग्राहक खोज्दाखोज्दै थाकेका आँखालाई आराम दिँदै भोको पेटलाई खुशी बनाउँथे । उनीहरुको अनुहारमा गरिएको मेकअप अस्वभाबिक लागे पनि त्यो पटाया शहरको
बत्तीहरुको उज्यालोमा ती सुन्दरीहरुको मुहार खुलेको र चम्किलो
लाग्दथ्यो ।
तँपाईको समय सिद्धियो, अब जानुस् । ऊ त
रिसाइछ मैले उसलाइ फकाउने अभिप्रायले बेडबाट आफनो शरीर उठाउँदै भने म
तिमीलाई मैसंग लाने कुरा गर्दैछु, नेपाल जान्छेउ ?
मेरो कुराले ऊ
खुशी भई या उसलाई आश्चर्य लाग्यो । मेरो साथी अनुजलाई मसाज
गरिरहेकी उसकी साथीतिर हेरेर हाँसी । उसको साथीले पनि उसको हाँसोमा साथ दिई ।
दुबैजना खुबै जोडले हाँसे । मेरो साथी अनुज मलाई ट्वाल्ल एकहोरो हेरिराखेको थियो । मतिर हेर्दे पुँवाले ‘मैले मेरो आमालाई
सोध्नुपर्छ ।’ भनी र उसले मेरो मोबाइल नम्बर
मागी । मलाई आफ्नो अस्थायी मोबाइल नम्बर याद थिएन । अनुजलाई सहयोग गर्नलाई
भनें । अनुजले आफ्नो मोवाइलमा हेरेर पटापट मेरो नम्बर भन्न थाल्यो । ऊ त झुक्किछ, उसलाई अनुजकै नम्बर भन्ने लागेछ । मतिर हेर्दै भनी ‘यु यु, योर नंम्बर’ मैले उसलाई त्यो मेरो नै नम्बर हो भनेपछि कागजको टुक्रामा
टिपी ।
मैले उसंग उसको नम्बर मागे । उसंग मोवाइल नै रहेनछ र उसको कोठामा पनि फोन नम्बर नभएकाले त्यही मसाज सेन्टरको फोन नम्बर दिई ।
मैले मन नलागी नलागी नम्बर टिपे। हामी छुट्टिने बेला भयो । मैले १००
भाट टिप्स भनेर उसको हातमा हालिदिएँ । उसका आँखा चम्किला र
तेजिला भए । मलाई बाहिरसम्म पुर्याउन आई र भोलि आउनुस् है
भनी । मैले हुन्छ भन्दै त्यहाँबाट बाहिरिएँ ।
मलाइ बाटोभरि अनुजले जिस्क्यायो । तर, म भने मेरा साथीहरुले बुझेको बैंकक र मैले भोगेको बैंककबीच फरक खोज्दैथे । कमल हिलोमा नै
फुल्छ । के पुँवा कमल हो, भन्ने प्रश्न मनभरि खेलाउदै मनभित्र तर्क
र बितर्कलाई स्थान दिएकाले रातभर निदाउन सकिँन । भोलिपल्ट
बिहान अनुजलाई लिएर मेरो लेखक अनि उत्सुक मन लाग्यो पुँवाको
मसाज सेन्टरतर्फ । रातभरि जाग्ने र जीवित देखिने पटाया शहरको
विशेषता भनेकै दिनभरि सुत्ने हुँदोरहेछ । शायद रात्री जीवनमा रमाउने बिश्वका अधिकांश शहरहरु यस्तै होलान् ।
पुँवाको मसाज सेन्टरमा पनि कुनै चहल पहल नै थिएन । खाली खाली जस्तो अँध्यारो मसाज सेन्टरमा छिर्दा पुँवालाई भने देखिएन शायद उसको छुट्टी भइसकेको रहेछ । उसको साथी भने ढोकामा नै राखेको काउण्टरमा बसिरहेकी थिइ
। दिनको उज्यालो मै अँध्यारो लाग्ने मसाज सेन्टर त्यो माथि
पुँवा नहुनुले मेरो लागि झनै अँध्यारो भएको
थियो ।
परिचित हाँसो हाँस्दै उसको साथीले पुँवा आफ्नी आमालाई भेट्न घर गएको र बेलुका आउने कुरा बताई । हामीले धेरै बेर कुरा गर्न चाहेथ्यैा । तर, उसको अंग्रेजी राम्रो नभएकोले हामीले हाम्रो कुरा बुझाउन
सकेनौँ । उ सफा कपी र कलम लिएर हामी भएको ठाँउतिर आईपुगी र मलाई
ईशारा गर्दै दुइटा शब्द उच्चारण गरी ‘राइट लेटर पुँवा’
हामीलाई बुझ्न
गाह्रो भएन ऊ उसको साथी पुँवाका लागि मेरो हातबाट प्रेम
पत्र लेखाउन चाहन्थी ।
शायद हिजो राति हामी निक्लिएर गएपछि उनीहरु दुईजनाको कुरा भयो होला र मैले नेपाल लैजान गरेको प्रस्ताबमा उनीहरु पूर्ण
विश्वस्थ भए होला । झलक्क याद आयो, शायद ऊ आमासंग
नेपाल जाने अनुमति लिन त गएकी हैन ? कल्पनाले रोमाञ्चित बनायो । साँच्चै
पुँवा आमासंग स्वीकृति माग्न नै गएकी हो त ? ऊ स्वीकृती मागेर आई भने ? हातमा हल्लिराखेको सेतो कागजको टुक्रामा मैले बिदेशी भूमिमा एक दिनअगाडि मात्र चिनेको विदेशी केटीलाई प्रेम पत्र लेख्नु थियो ।
कसरी लेख्ने, के लेख्ने र कहाँबाट शुरु गर्ने र कहाँ अन्त्य गर्ने जस्ता
प्रश्नहरुलाई उत्तर दिदै मैले मेरो जीवनको लगभग अन्तिम प्रेमपत्र लेखेँ ।
पुँवा, तिम्रो मसाजमा जुन आनन्द छ, त्योभन्दा बढी तिम्रो औंलाको स्पर्शमा छ । तिम्रो मसाजको कलाले भन्दा तिम्रो पवित्रता र निश्चलताले मलाई सम्मोहित बनाइदियो तिमी साँच्चै फूल रहेछौ, हिलोमा कमल फुल्दछ
। मैले तिमीलाई कमलकै संज्ञा दिएँ । म बैंकक र्फकनुपर्ने
मान्छे, तिमीसंग भेट्नका लागि आज दिनभरि पटायातिरै हल्लिरहेको छु
। तिमीलाई बेलुका भेट्न आउनेछु पर्खी बसे है !
दिउँसोको पटाया एउटा उराठलाग्दो शहर । त्यही उराठलाग्दो शहरमा गह्रैा पाइलाहरु भउँतारिइरहे । पुँवालाई भेट्न मैले साथी
अनुजको सहयोगले बैंकक बसाईलाइ छोट्टाएर एक दिन पटायाको बसाइ थपेको
थिएँ । साँझ पर्दैछ भन्ने जानकारी सडकका दाँया र बाँया रहेका
रेष्टुरेण्टहरुको बत्ती र गितार बजाउनु अगाडि तार मिलाएको
छङ्ग छङ्ग गर्ने आवाजले दिँदै थिए । अनुज मेशिनजस्तै मेरा पाइलाहरुलाई
पछ्याइरहेको थियो । अनि मेरा पाइलाहरु कहीँ नरोकी सिधै लागे पुँवाको मसाज सेन्टरतर्फ र रोकियो काउण्टर अगाडि ।
ऊ आएकी छ, तर अर्को कुनै कस्टुमरलाई मसाज गर्दैछ
भन्ने जानकारीले उत्साहित मनलाई दुखी बनाइदियो । त्यो कस्टुमरप्रति रिस र
ईष्या पैदा भयो, खै एकै दिनमा पुँवा त मेरी हो भन्ने भावना कसरी आयो मलाई ?
पुँवा अरु कसैसंग छ भन्ने कुरा थेग्न गाह्रो भयो मनलाई ।
तर, मेरो ईष्या मा कुनै तुक नै थिएन । धेरै बेरको पर्खाइपछि पुँवा टावेलले हात पुछ्दै काउण्टरतिर आइपुगी । हाम्रो आँखा जुधे,
उ हाँसी, म हाँसे, हामी दुबैजना हाँस्यौँ । उसको हाँसोमा परिचित
कस्टुमरप्रतिको औपचरिकतामात्र थिएन । उसका ओठसंगै
आँखाहरु रमाएका थिए । त्यहाँ आत्मीयता थियो । म फटाफट उसका पछाडि
लागें र अघिल्लो दिनको बेडमा गएर बसें । उ मेरो नजिक आएर मलाई कपडा खोल्न अनुरोध गरिरहेकी थिई ।
मैले उसलाई आफुसंगै बसाल्दै भने ‘मलाई आज मालिस गर्नु छैन, तिमीसंग कुरा गर्नुछ ।’ उ एकोहोरो मलाई
हेरिरहेकी थिई ।
धेरैबेर हाम्रा आँखाहरु जुधे मात्रै । मौनतालाई मैले चिरेँ । तिमी आज बिहानैबाट कहाँ गएकी थियौ ? उसले आशा गरेकै
प्रश्न गरेछु कि क्या हो, उसको मुहारमा खुशी
प्रष्टै झल्किन्थ्यो । उसले मलाई विश्वास गरि रे । उसलाई म मन पर्यो
रे अनि मेरो प्रस्ताव स्वीकार गर्दै आमासँग अनुमती लिन गएकी रे ! उसकी आमाले उसलाई अनुमति दिइसकि छ र उ मसंग नेपाल जान तयार भएर आएकी रहिछ ।
उसले सबै कहानी एकै सासमा सुनाई । सुन्दासुन्दै मेरा आँखा रसाए ।
एक मन लाग्यो, लिएर जाँउ यसलाई
नेपालमा । उसले मतिर नहेरिकनै प्रश्न गरी-कहिले जाने हामी पटायाबाट ? उसको प्रश्नको
उत्तर दिँदै भने ‘म भोलि बिहान, अनि तिमी ….’ मेरो आवाज रोकियो ,
कुनै शब्द बोल्नै
सकिँन मैले । तिमी पनि मसंगै भोलि जान्छौ ? भन्न म सक्तिनथे ।
अनि हामी जाँदैनौ, ममात्र जान्छु भन्ने हिम्मत नै थिएन ।
मैले उसलाई धोका दिएँ । उसको निश्चल आँखा, पवित्र मन, अनि त्यो मनमा पलाएका प्रेमका टुसाहरु निमोठिदिएँ । उसलाई म प्रेम गर्थे भने किन हिम्मत गर्न सकिनँ आफैसंग लग्ने ? अनि गर्दिनथँ भने किन गर्नुपरेको थियो मन परेका कुरा ? र, नेपाल लैजाने कुरा ?
मैले उसलाई उप्रतिको आशक्ति देखाउँदै भने । ‘मेरो होटेलनजिकै छ, हिँड मसंग आज मेरो होटलमा । मलाई ऊसंग होटलमा संगै सुत्ने
इच्छा थियो या थिएन, तर उसको अन्तिम परीक्षा थियो त्यो ।
उ उत्साहित भई, उसलाई लाग्यो होला ऊ अब त्यो मसाज सेन्टर छोड्दैछे सधैंका लागि अनि मसंग, म बसेको होटल
हुँदै नेपाल जानेछे । उसले आफ्ना साथीहरुसंग
विदा भएर आउने कुरा गरी । उसको शरीर खुसीले फुर्तिलो भएको थियो । उसको ओठमा मुस्कान मात्र थियो । अनि मुहारमा चमक, त्यो मुस्कान र
चमकले मलाई दुख्न थाल्यो । मुटुलाई गह्रौ वस्तुले थिचे
जस्तै भयो । म अत्तालिएँ उसलाई कसरी भनौं कि यी सब झुठ हुन् म
तिमीलाई लिएर नेपाल जान सक्तिँन । तिम्रो निश्चलतामा मैले खेले । तिमी अवोध रहेछौ, वालकजस्तै बिश्वास गरिहाल्यौ मलाई । म त खाली प्रयोग गर्दै
थिएँ तिमीलाई बैंकक बुझ्नका लागि ।
साथीसंग बिदा माग्न जान थालेकी पुँवाको हात समातेर मैले उसलाई अर्कोपल्ट लिन आउने कुरा भनेँ । मेरा ओठहरु काँपिरहेका थिए अनि
घाँटीबाट आवाज मुस्किलले निक्लिरहेको थियो । म भक्भकाइरहेको थिएँ र
मेरो आवाज अँगार बनेर पुवाँको मुहारमा
पोखिएझै भयो ।
उसको खुशीले उज्यालो भएको अनुहार एकाएक अँध्यारो भयो अनि आँखाहरु रसाउन थाले । मलाई उसका अगाडि अरु धेरैबेर बस्ने हिम्मत नै
भएन । म रोइरहेको अवोध निश्चल अनि सुन्दर थाइ युवतीलाई दुःखमा एक्लै
छाडेर उम्कन खोजेँ ।
म भाग्न खोजिरहेको थिएँ । उसको रोदन बढ्दै थियो । उसको रुवाइले मसाज सेन्टरमा भिड नै जम्मा भयो । उसकी साथी मेरा अगाडि आइपुगी र
मलाई गाली गर्न थाली । उसको अंग्रेजी मैले त्यति धेरै त बुझिँन
तर, उसले मेरो साथीको भावनामा किन
खेलिस् भन्ने प्रश्न गर्दै मलाई त्यहाँबाट निक्लिहाल्नको लागि भन्दै थिई । तिमीहरु सब उस्तै हौ, पैसाले भावना
किन्न खोज्छौ, पैसाले पटायामा सेक्समात्र पाउँछौ भावना होइन
। तँ मेरो साथीका लागि योग्य नै छैनस् निक्लिहाल् यहाँबाटू भन्दै गाली गरिरहेकी थिई ।
पुँवा कुनामा बसेर रोइरहेकी थिई । उसका आँखाले मलाई एक्लै नछोड्नलाई अनुनय गरिरहेका थिए । उसका हातहरुले मलाई च्याप्प समातेको
जस्तो लाग्यो । म हतार-हतार त्यहाँबाट भागेँ, पुँवासंग भागेँ,
मसाज सेन्टरबाट
भागेँ
हामी भोलिपल्ट पटायाबाट बैंकक फर्कियौं । मेरो शरीर फक्र्यो, मन फर्केन, पुवाँको मसाज सेन्टरमा आफ्नो मन छोडेर शरीर एक्लै फर्कियो बैंकक ।
हिलोमा नै कमल फुल्दछ, बाहिरबाट
देखेजस्तो मात्र रहनेछ पटाया । साथीहरुले भनेको सम्झे,
पटायामा त सेक्स
मात्र छ र जसले जसलाई जतिखेर पनि….फेरि पुँवालाई
सम्झे, पुँवाको माया लाग्यो । उसको मसाज सेन्टरको नम्बरमा फोन लगाएँ । फोन उठ्यो
तर पुँवाले मसंग कुरा नगर्ने जानकारी पाएँ । आफैँदेखि रीस उठ्यो । चिच्चाएर भन्न मन लाग्यो मलाई माफ गर पुवाँ, मलाई माफ गर पटाया
।



No comments:
Post a Comment