Monday, 26 August 2013

डलर, प्याज र नेपाली रुपैयाँ

गज्जब भयो । इतिहासमा पहिलोपटक रु. १ सय नेपालीबराबर १ डलर भयो । अब बल्ल हिसाब गर्न सजिलो भयो । यसले नेपाल र नेपाली रूपैयाँलाई एउटा ठूलो मौका प्रदान गरेको छ । अब सबै साना नोट हटाएर रु. १ सयलाई नै १ मान्दिए हुने भएको छ । वास्तवमा नेपाल राष्ट्र बैङ्कका लागि पनि १ सयबराबर १ बनाउने यो अत्यन्त सुनौलो अवसर हो । त्यति गरिदिने हो भने नेपाली रूपैयाँलाई डलरबराबर बनाएको भनेर राष्ट्र बैङ्कको यो एक क्रान्तिकारी कदम मानिनेछ । इतिहासमा गभर्नरको नाम सुनौलो अक्षरले लेखिनेछ ।
नेपाली रूपैयाँ कमजोर भयो भन्नु अल्पज्ञान हो । वास्तवमा यो सधैं शक्तिशाली थियो र रहनेछ । यो यति शक्तिशाली रहेछ भन्ने कुरा शायद कसैले सोचेको थिएन । यदि यो शक्तिशाली नहुँदो हो त यसलाई हामीले हाम्रो पकडमा राख्न सक्थ्यौं । हामीले जसरी जत्रो साइजमा राख्न चाहन्थ्यौं सक्थ्यौं । तर, नेपाली रूपैयाँ अर्थात् स्वयं लक्ष्मीलाई आफ्नो नियन्त्रणमा लिन कसरी सकिन्छ र ? कसैले लक्ष्मीलाई नियन्त्रणमा राख्ने सोच गर्छ भने त्यसले सधैं हार खानेछ । त्यसो गर्न खोज्नेहरु अर्बपति, करोडपतिबाट रोडपति र खरानीपति भएको त हामी सबैले देखेकै छौं । त्यसैले लक्ष्मी अर्थात् धनकी देवी अर्थात् नेपाली रूपैयाँलाई कसैले कमजोर ठान्ने भूल नगर्नु नै वेश होला ।
कतिपय अर्थशास्त्रीहरु प्याज महँगो भएकाले नेपाली रूपैयाँ कमजोर भएको तर्क पेश गर्छन् । गज्जब छ बा ! प्याज र पैसाको के सम्बन्ध ! तर, उनीहरुको भाषामा प्याजले नेपालीको क्रयशक्ति अर्थात् खरीद गर्ने क्षमता घटाएको छ । अर्थशास्त्रीहरुले नै भनेपछि त मान्नैपर्‍यो । छिमेकी देश भारत, बङ्गलादेश, पाकिस्तान आदितिर इतिहासमा प्याजकै कारण सरकार ढलेका समाचारहरु पनि पढेकै हो । भलै सर्वसाधारणका लागि भने यो प्याजका कारण नेपाली रूपैयाँ कमजोर भएको हो वा नेपाली रूपैयाँ कमजोर भएका कारण प्याज छोइनसक्नु भएको हो भन्ने भेद छुट्ट्याउन गाह्रो पर्छ ।
तर, एउटा कुरा भने पक्का भएको छ कि यो प्याज रुवाउने चीज नै रहेछ । प्याजलाई नरुवाउने बनाउने हो भने पानीमा डुबाउनुपर्छ । डुबाएपछि धेरै कुरा आफै ठीक हुन्छ । तर, यो रुवाउने चीजलाई शक्तिशाली भने मान्न मिल्दैन । बरू पिराहाचाहिँ भन्न मिल्छ । यो प्याज पिराहा भएकै कारण होला शायद विगतमा बाठा बाहुनहरुले आफ्नो भान्छामा यसलाई बर्जित गरेका ।
तर, यो प्याजको विकल्प खोज्नैपर्छ । कृषि वैज्ञानिकहरु यसका लागि विशेष अनुसन्धानमा लाग्नुपर्छ । किनकी प्याज अब चिन्तनमात्र होइन, यो त एब्स्ट्र्याक्ट आर्टजस्तो भइसकेको छ नेपाली उपभोक्ताका माझमा । एब्स्ट्र्याक्ट आर्टमा कहिले आकृति देखिन्छ कहिले देखिँदैन भनेजस्तै प्याज पनि नेपाली भान्छामा कहिले देखिन्छ कहिले देखिँदैन । शायद त्यसैले शङ्कर लामिछाने (कोइराला होइन नि)ले पनि प्याज चिन्तनमात्र गर्न भनेका छन् । किनकी प्याज प्रयोग गर्नेभन्दा पनि यो एब्स्ट्र्याक्ट कुरा भएकाले हेर्न वा सजाउनमात्र राम्रो देखिन्छ । एब्स्ट्र्याक्ट चीज आर्टजस्तै स्वतः महँगो हुन्छ । त्यसैले अबदेखि प्याजलाई धनीहरुले समेत आर्टजस्तै भित्तामा सजाएर राख्ने नै छन् ।
विगतमा गरीबहरुले प्याज चपाएर आफ्नो गाँस निल्थे । त्यतिबेला प्याजको निकै अवमूल्यन भएको थियो । अहिले बल्ल आएर प्याजको सही मूल्य ‘डिस्कभरी’ भएको छ ।
जहाँसम्म डलरको कुरा छ, नेपालीहरु त यसै रूपैयाँपतिबाट डलरपति बनिरहेका छन् वा बन्ने क्रममा छन् । एक त सयको हरियो नोटलाई हरियो १ डलरबराबर मान्दिनेबित्तिकै डलरपति भएबराबर भैगो । दोस्रो, नेपालबाट मान्छे जान्छन् उताबाट काठका कफिन बक्सहरुमा डलर आइरहेकै छन् ।
तर, धेरै डलर पनि काम छैन । राष्ट्र बैङ्कलाई व्यवस्थापन गर्न धौ–धौ पर्छ । पेट्रोलको पैसा तिर्न भारत पठाउने र विदेश जाँदा २/४ सय दिनेबाहेक नेपाललाई डलरको के काम ? विदेशबाट कमाएर पठाउनेदेखि स्वदेशमै बसेर विभिन्न क्षेत्र जस्तै– पर्यटन, हस्तकला आदिले विगतमा जति नै व्यापार गर्दा पनि डलरको भाउ बढेका कारण नेपालमा डलर ओइर्‍याएकै छन् । अब यसलाई रोक्नुपर्छ । त्यसका लागि निर्यातजन्य उद्योग, व्यापारलाई निरुत्साहित गर्नुपर्छ । किनकी नेपाली सय रुपैयाँलाई नै डलर मानेपछि अमेरिकन डलर नै किन चाहियो ? धेरै विदेशी रुपैयाँ जम्मा गर्नु भनेको खतरनाक कुरा हो । यो त विदेशी हस्तक्षेप बढाउने हतियार हुन सक्छ । त्यसैले बेलैमा सचेत हुनु जरुरी छ ।

No comments:

Post a Comment