पैसा कमाउने सपना बोकेर विदेश पसेका नेपालीहरु पाइला राखेकै दिनदेखि घर फर्किने दिन गन्न सुरु गर्दछन्। विशेष गरी खाडीमा पाइला राख्ने बित्तिकै यहाँको तापक्रम र थ्रिडी कामको मारले आएकै दिनदेखि त्यही बाटो भएर फर्किने मन गर्छ। तर खेतबारी धितो राखेर साहुको रिन बोकी पैसा कमाउने अनि परिवार पाल्ने सपनाको भारीले थचक्कै पर्न बाध्य हुन्छ त्यो मन। लखतरान शरीर बिस्तरामा पल्टाउन भन्दा पहिला भित्तामा टाँगिएको (रेमिट्यान्स कम्पनीहरुले दिएको) भित्ते पात्रोमा चिनो लगाउन कहिले पनि बिर्सदैन। मनले अर्कोतर्फ आफ्नो बाटो कुर्दै आशातित नयनहरु फैलाउँदै आफ्नो बाटो हेरेरै कुरी बसेका परिवारजनका एक एक अनुहार आँखा भरी नाचेर मुटु कटक्क खाने गर्दछ। उसको अनुहार हेर्यो उस्तै, अर्काको काम हेर्यो तेस्तै, अनि चित्त बुझाउदै दु:खसुख गरेर २ वर्षको कार्यकाल सकेपछि, चोट भरिएको मनमा उत्सुकता थपेर परिवार, साथीभाइ भेट्ने अनि आफ्नो माटोको सुगन्ध सुँघ्ने हतारमा गुन्टा बोकेर फर्किन्छौ हामी परदेशीहरु। तर….
हवाइजहाजले ओराले सँगै अब्यबस्थित विमानस्थलमा हामीलाई बोकेर अध्यागमन पुर्याउने बस आउन पनि ठ्याक्कै १५ मिनेट लाग्ने गर्छ। लाइनमा हिंडेपछि २ मिनेटमा पुगिने भए पनि त्यहाँ उभिएका अधिकारीहरुले औंला ठड्याउँदै हिंड्न नपाइने संकेत गर्छन्। त्यहीँ नजिकै नेपाल आर्मीका एक प्लाटुन सिपाहीहरु युएनको टोपी लगाएर आफ्ना गुन्टाहरु जहाजमा लोड गरिरहेका छन्। अनि उनीहरुको अनुहारमा हल्का खुशीको रङ पोतिएको अनुमान गर्न सकिन्छ। शायद ज्यानको बाजी लगाउँदा मुस्किलले हातमा पर्ने ६ लाख रुपैयाँ झल्झली सम्झेर पनि होला।
त्यही नजिकै पार्किङ गरिएका साना साना छाउरा जहाजहरुमा साना साना छाउरा बसले मुन्छेहरु ओसारिरहेको देख्दा हामी खाडीमा काम गर्ने डोरिलाहुरेहरुलाई आफुले काम गर्ने स्टोरको फेरि याद दिलाउँछ। तर चिसो मनमोहक हावाले आफ्नै माटोमा उभिएको पत्तो पाएपछि फेरि फिसिक्क मुस्कान फुस्किन्छ अनुहारबाट।
बसले कोचाकोच पार्दै अध्यागमनको ढोकामा फ्यालेपछि सबै तँछाडमछाड गर्दै दौडिन्छन्। किनकी सबैलाई थाहा भएकै कुरा हो खाडीबाट आउने जहाजमा सबै डोरिलाहुरेहरु हुन्छन् र अध्यागमनबाट बहिर निस्केर आफन्तलाई भेट्न कति आतुर हुन्छन्। तर यहीँनिर अर्को फण्डा आइलाउँछ त्यो हो आगमन पत्र भर्ने।
सबैको खल्तीमा पेन हुँदैन। अनि अध्यागमनमा मुस्किलले राखिएका एक दुई पेनको लागि लाइन लागेर बस्यो। सबैले त्यहाँ लेखेका कुरा भर्न जान्दैन। अरु कसैलाई अनुरोध गर्यो, सबैलाई हतार छ। कस्ले भरिदिने? अर्को बिडम्बना बडो मुस्किलले भरेर लगेको आगमन पत्र अध्यागमनका अफिसरले नपढी टोकरीमा थन्काएको देख्दा मन कटक्क परेर आउँछ। साँच्चिकै के कामको लागि होला त्यो आगमन पत्र? बाहिर ननिस्कन्जेल् सकसक लागिरहन्छ।
जब अध्यागमन पार गरेर भर्याङ झर्दै तल्लोपट्टी पुग्यो, ए रामे !! मान्छेहरुको कोचाकोच, ठेलाठेल। ट्रली एउटा छैन मानिसहरु कुदाकुद, ट्रली खोसाखोस्। कुनै कर्मचारी छैनन्, कुनै सहयोगी भेटिँदैनन्। आफ्नो लगेज कुन बेल्टमा घुमेको छ थाहा पाउनलाई त्यहाँ उभिएका घाँटीमा परिचय पत्र भिरेका कर्मचारीलाई सोध्यो, सकारात्मक जवाफ पाइँदैन। खाडीबाट आएका हामीसँग त बोले पनि अगति पर्लान् जस्तो गर्छन्।
मैले एक जना कर्मचारी जो सेट बोकेर त्यहाँ उभिरहेका थिए, उनलाई विनम्र अनुरोध गरेँ आफू आएको जहाजको लगेज कुन बेल्टमा घुमेको छ भनेर। तर उनले मेरो बोली सुनेर पनि नसुने जस्तो गरे। तेस्रो पल्टसम्म मैले मेरो आवाज खेर फालेँ। तर त्यति बेलै मेरो नजिकै आइरहेका एकजोडी सेतो छाला भएकाहरुको पछि लागेर गए। शायद कतै नगदनारायण हात लाग्छ कि भनेर होला। म छक्क परेँ, के हामी खाडी लाहुरेको कुनै सुचनाको हक छैन?
भित्तामा राखिएको ब्यागेज इन्फरमेसन टिभीमा हेरेको १ नम्बरमा ब्याङ्कक भनेर देखाइरहेको छ। तर बेल्टमा सारजहाँबाट आएका लगेजहरु असरल्ल घुमिरहेका छन्। त्यहाँ उभिएका कर्मचारीलाई किन यस्तो भनेर सोध्यो खै भित्र बस्नेले के गर्छ भन्दै तर्किन्छन् उफ्फ !!
चालु बेल्टको नजिकै ब्यागहरु असरल्ल थुपारिएको छ। शायद अघिल्लो फ्लाइटबाट आएकाहरुको होला। मानिसहरु अध्यागमनको काममै लाइनमा होलान् किनकी निकै ठुलो लाइन बस्नु पर्छ। अनि तल ती ब्यागेज राखिएको ठाउँमा कुनै सूचना छैन, ति ब्यागहरु कहाँबाट आएर त्यहाँ थुप्रिएका हुन्? कसरी ती ब्यागेजका हकदारहरुले भेटाउने? आफ्नो ब्यागेज खोज्नलाई कति दु:ख पाएका होलान् कसले बुझ्ने?
भन्सारका कर्मचारी भने जुन ट्रलीमा टिभी देख्छन् त्यतै दौडिने रहेछन्। बेल्टसम्मै आएर तपाईंको कुनै टिभी छ भनेर सोध्दा रहेछन्। सरकारले ३० इन्चसम्म फ्री भने पनि के जाति कागज बनाएर ल्याउनु पर्ने रहेछ निस्कने गेटको सामुन्ने राखिएको भन्सारको कार्यालयबाट। त्यहाँ पनि लामै लाइन। हुनत खाडीबाट आउने हामीले ल्याउने भनेकै टिभी र ब्ल्याङ्केट त हो। टुट्ला फुट्ला भनेर बडो मेहनत गरी साथीभाइ मिलेर डोरीले बाँधेर चटक्क पारेर ब्यागेज ल्याउने हुनाले नै हामीलाई डोरिलाहुरे भनेर चिन्ने गर्छन्। सरकारले घोषणा गोरेको फ्री भन्सारका समान ल्याउँदा पनि कागज बनाउन घण्टा लाइन बस्दा नै अघि माटोमा टेक्दा फिस्स हाँसो फुस्किएको अनुहारमा निरासा फैलिन सुरु भइहाल्छ।
बल्लबल्ल लखतरान परेर गेटबाट बाहिर निस्कियो, होटेलवाला-ट्याक्सीवालाको तानातान सुरु। एक जनाको ट्रली समाउन १० जना पछि लाग्ने। उफ्फ! शान्तसित एकफेर आफ्नो माटोलाई हेर्न पनि नदिने। कस्तो सिस्टम! अस्ति न्युजमा पढेको थिएँ अब ट्रलीमा पनि सुल्क लगाउने रे। के केमा लुट्ने हुन् लुटून् हामी डोरिलाहुरेलाई। हे भगवान !!
No comments:
Post a Comment