Wednesday, 5 February 2014

प्रोटोकलबारे जानौं

इन्टरनेट भनेको करोडौं कम्प्युटरको जालो हो भन्ने कुरा हामीलाई थाहा छँदैछ। यी करोडौं कम्प्युटरबीचमा डाटा आदानप्रदान भएपछि विश्वको जुनसुकै ठाउँमा बसेर सूचना ग्रहण गर्न सकिन्छ।
इन्टरनेटमा जोडिएका कम्प्युटरमा सूचनाहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन विशेष प्रकारको विद्युतीय बाटो हुन्छ।
यसैलाई प्रोटोकल भनिन्छ। इन्टरनेटमा डाटा ओसारपसारलाई सम्भव बनाउने मुख्य कुरा नै प्रोटोकल हो। डाटा स्थानान्तरणको नियम अथवा प्रावधान इन्टरनेटअन्तर्गतका संसारभरिका करोडौं कम्प्युटरमा एकै प्रकारको हुनुपर्दछ। यसो नभएमा डाटा स्थानान्तरणको सम्भावना हुँदैन। प्रोटोकलले प्रत्येक कम्प्युटरबीचमा सूचना आदानप्रदान गर्ने सेतुको काम गर्छ।
इन्टरनेटमा प्रयोग हुने प्रोटोकललाई टीसीपी आईपी भनिन्छ। टीसीपी आइपी अर्थात् ट्रान्सफर कन्ट्रोल प्रोटोकल इन्टरनेट प्रोटोकल बिना कम्प्युटरमा सूचना आदानप्रदान सम्भव छैन। यो प्रोटोकलले नेटवर्कमा रहेको क्म्प्युटर तथा अन्य विद्युतीय सञ्चार उपकरणको बीचमा समन्वय गर्ने काम गर्दछ। इन्टरनेट प्रोटोकलको मुख्य काम नेटवर्किङमा रहेका कम्प्युटरबीच डाटा पठाउने तथा प्राप्त गराउने हो।
अहिलेको विश्वको सञ्चार प्रणालीको महत्त्वपूर्ण कडी वा मेरुदण्ड प्रोटोकल नै हो। एउटा ठूलो नेटवर्कमा रहेको कुनै खास कम्प्युटरमा त्यसको आईपी ठेगानाको आधारमा चिनिने गरिन्छ। आईपी (इन्टरनेट प्रोटोकल) ठेगानाले कम्प्युटर चिनाउँछ। इन्टरनेटमा जोडिएको हरेक कम्प्युटरको आईपी फरक हुन्छ त्यसले गर्दा कम्प्युटरबाट निर्दिष्ट ठाउँमा डाटा पठाउन सुरक्षित र सजिलो हुन्छ।
इन्टरनेट प्रोटोकलअन्तर्गत पर्ने टीसीपी आईपीले पठाउने तथा पाउने डाटालाई फरकफरक आईपी ठेगाना दिएर तयार पार्दछ। सूचना तथा डाटा सीधै नगएर छुट्टाछुट्टै डाटा प्याकेटमा टुक्रिन्छ र ती प्रत्येक डाटा प्याकेट टीसीपी आईपीले त्यस ठाउँको कम्प्युटरले प्राप्त गर्नका लागि युनिक आईपी ठेगाना तय गरिदिन्छ र ती डाटा प्याकेटहरू फरकफरक बाटोबाट यात्रा गर्दछन्। कुनै छिटो त कुनै ढिलो पुग्दछन्।
यिनीहरूलाई टीसीपी आईपीले फरकफरक सिक्वेन्स नम्बर दिएको हुन्छ, यिनै सिक्वेन्स नम्बरको आधारमा त्यस ठाउँको कम्प्युटरले टीसीपी आईपीको सहयोगमा डाटा प्राप्त गर्छ। प्रोटोकलले सूचना आदानप्रदान गर्न धेरै सहयोग गरेको छ।

No comments:

Post a Comment