बिहान टेम्पुमा आउँदाको सास्ती सम्झेर ऊ अहिले फर्कंदा चारपाँग्रेको खोजीमा थियो । गोश्वारा हुलाक अगाडि आकाशे पुल नजिक प्रतिक्षारत भीडमा ऊ पनि मिसियो । भीड न्युरोड गेट अगाडिको आकाशे पुलसम्मै छरपस्ट थियो।
त्यसो त यहाँ भेटिने धेरै अनुहार सहिदगेटको पश्चिममा रहेको विसौनीमा भेटिन्थे । केही अघि त्यहाँको भीडमा ट्राफिक प्रहरीको वक«दृष्टि परेपछि ती यता पलायन भएका थिए । त्यो विसौनी हटे पश्चात् जाममा सुधार आएको ट्राफिक प्रहरीको दावीलाई यो भीडले व्यंग्य गरिरहेको थियो ।
कार्यालय छुटेर फर्कने जागीरदारहरु , किनमेल गरेर गन्तव्यतिर लम्किरहेका गृहिणीहरु र काठमाडौंको रमझम हेरेर फर्केका बटुवाहरु फूटपाथमा असरल्ल सामान छरेर व्यापार गर्न बसेकाहरुको कारण ठाउँ नपाएर सडकैबाट हिँड्दा भीडको आयतन झनै ठूलो भएको थियो ।
एउटा सेतो बस मोडिँदै आयो । भीडको धैर्य टुट्यो । बस सुस्तरी गुड्दै थियो, सँगसँगै सम्भाव्य यात्रीहरू ढोकै छेकिने गरी झुम्मिए । बसको गति र भीडको घम्साघम्सीमा आफूलाई दुरूस्त राख्न नसक्नेहरू कोही आफ्ना फुस्केका जुत्ता सम्हाल्न थालेभने कोहीे चस्मा सोझ्याउन । विजेताहरू चाहिँ ओर्लंदै गरेका यात्रीहरूलाई ठेल्दै भित्र उक्लन थाले । केही अघिसम्म खुट्टा राख्न चिन्ता गर्नेहरू अब उपयुक्त सिटको लागि ठेलमठेल गर्नथाले । एकैछिनमा बसको ढोकामा मानव बिर्को नै लाग्यो हैन, ओर्लनेलाई बाटो दिए पो चढ्नेलाई ठाउँ पाइन्थ्यो”–एउटा भद्र स्वर भीडको हाहाहुहुमा हरायो
ऊ जस्ता केही बलियाबाङ्गाले सिट ओगटेपछि भित्रिनेको क्रम सुस्त भयो । एक एक गर्दै ओर्लने यात्री सकिए । अब भित्रिनेहरू ओगटिएका सिटमा कामचलाउ बन्दोबस्त भईहाल्छ कि भन्ने आशमा देखिए । “अघिल्लो सिटमा तीन तीनजना, पछाडि पाँचजना है ।” भर्खरै जुँगाको रेखी बस्दै गरेको खलासीको आदेशयुक्त स्वरले ती आशावादीहरूको मुहारमा हल्का चमक देखियो । बसको डिजाइन वमोजिम सिट ओगट्नेहरू खुम्चिए । दुईजना अट्ने सिटमा तीनजना र चारजना अट्ने सिटमा पाँचजना खाँदिएपछि खलासी मुुसुक्क हाँस्यो ।
एकजना दुईजना गर्दै उभिनेको संख्या बढ्न थाल्यो । ढोका नजिकै उभिएकी कार्यालय छुटेर र्फिर्कएजस्ती देखिने एक अधवैंशे महिलाको आँखा बसको झ्यालमाथि “महिला आरक्षण सीट” लेखिएको ठाउँमा पुग्यो जसको ठीकमुनिको सीटमा दुईजना भलाद्मी लाग्ने पुरुष र एक किशोरी केहीछिन अघिको संघर्ष र दयाको परिणामपश्चात् सुस्ताइरहेका थिए । “हैन, यो महिलाको सिटमा पुरुष बस्न त भएन नि ।” उनको गुनासो मिश्रित स्वर निस्कियो । दुई भलाद्मीका कानले शायद ती शब्द रुचाएनन्, उनीहरुबाट कुनै प्रतिक्रिया आएन । “ए भाइ, कि यो अक्षर मेटाऊ कि लेखे अनुसार गर ।” खलासीप्रति लक्षित महिलाकोे अहिलेको स्वरमा विद्रोही भाव झल्कन्थ्यो । ऊ लगायतका सिट विजेताहरु मुखामुख गर्नथाले । “धन्न त्यो सिटमा बसिएनछ”– उसले मनमनै आफूलाई बधाई दियो । “हो त नि, कि लेख्नै भएन कि पालन गर्नुपर्यो”– एउटा अर्को महिला आवाज थपियो । त्यसपछि “हो, हो ....” को आवाजले बस गुञ्जियो । केहीबेर अघिसम्म निरपेक्ष रहेको ड्राइभरको मुख खुल्यो – “ल दाइहरु उठिदिनुपर्यो, समितिमा यो कम्प्लेन पुग्योभने त बर्बादै हुन्छ ।” मुख नमिठो पार्दै विकल्पहीन दुई भलाद्मी उठे । यात्रा जारी राख्दा स्वाभिमान धरापमा पर्छ भन्ने लागेछ क्यारे, दुवै बसबाट बाहिरिए । अचानक नसोचेको फल प्राप्त हँुदा आधा सिटमा सिङ्गो ज्यान अटाइरहेकी किशोरी सबैभन्दा प्रसन्न भइ । हत्त न पत्त झ्यालतिर सरेर मौकाको फाईदा उठाउन आफू कोहीभन्दा कम नभएको प्रमाण पनि देखाइ । अघिका दुई महिला स्वरका धनीले बाँकी रहेको एक सिटमा आफूलाई अटाए ।
उसका आँखा दायाँतर्फको टुँडिखेलतिर दौडिए । फूटबल, क्रिकेट, दौड आदिमा व्यस्त बालबालिका, किशोरकिशोरी मैदानमा रमाइरहेका थिए । साँझको घमाइलोमा त्यो दृश्य कम मनमोहक थिएन । त्यति नै बेला एउटी बालिकाको निधारमा एउटा क्रिकेट बल बज्रन आइपुग्यो । बालिकालाई के कति चोट लाग्यो त्यो अनुमान गर्न नपाउँदै उसको दाहिने हात अचानक निधारको टुटुल्को छाम्न पुग्यो । त्यो टुटुल्को नै उसको अहिलेको चारपाँग्रे रोजाइको कारण बनेको थियो ।
...
बिहान यता आउने क्रममा ऊ कोटेश्वर बिसौनीमा थियो । टेम्पु, माइक्रोबस, मिनीबस र बसहरुको भीडमा बस्न पाइने लोभले उसले एउटा टेम्पु रोज्यो । टेम्पु गुड्न थालिसकेको थियो, उसको उठेको हात देख्नासाथ अन्दाजी १२ वर्षे केटोको एक पत्र मयल जमेकोे हातले टेम्पुको पृष्ठ भागमा बजा¥यो । टेम्पु टक्क अडियो । ऊ दौडियो, टेम्पुको पछाडिको ढोकामा पुगेर टाउकोलाई नब्बे डिग्रीमा अगाडि घुमाउँदै भित्रपट्टि खाली सिटको लागि नजर दौडायो । लहरै सिटमा बसेका यात्रीहरुलाई हल्का अगाडि सरिदिन केटोले आदेश ग¥यो । प्रतिक्रियामा एक एक गर्दै सबै पछिल्तिर सरे । अग«भागमा आधा मान्छे अडिने खाली ठाउँ देखियो । सबैका नजरले उसलाई त्यहीँ बस्न संकेत गर्दैथिए । आमुन्ने सामुन्ने गरी दुई लहरमा बसेका यात्रीहरुका घुँडा झण्डै जोडिएझैँ थिए । अब उसको समस्या त्यो खाली ठाउँसम्म कसरी पुग्ने भन्ने भयो । “हैन, अगाडि जानेलाई ठाउँ दिनुस्न, अफिस टाइममा सबलाई हतार छ नि” स्टेरिङ्ग समाइरहेको १८÷१९ वर्षे ठिटो करायो । केही जोर गोडा कोल्टे परे, दायाँवायाँका घँुडामा ठक्कर लगाउँदै प्राप्त ठाउँमा उसले आफुलाई खाँद्यो।
टेम्पुले गति लियो । एकैछिनमा टेम्पु तीनकुनेको ओहृालोमा दौडँदै थियो । उसले अगाडि हे¥यो, ड्राईभर एक हात स्टेरिङ्गमाथि राखेर अर्कोले टाउकोमाथि राखेको एफ Þएम Þ रेडियो ट्युन गर्दैथियो । उ झसङ्ग भयो । “हैन भाइ, यसरी गुडिराखेको बेलामा किन रेडियो खोल्नुप¥यो ?” –ऊ करायो । ड्राईभरले आफ्नो क्षमतामा शङ्का उठाएको ठान्यो कि कसो स्टेरिङ्गलाई पेटले अड््याउँदै अर्को हात पनि उठाएर अगाडिको सिसा पुछ्न थाल्यो । उसको पनि रिसको पारो चढ्नै लागेको थियो, टेम्पुको गति घट्न थाल्यो । टेम्पु तीनकुनेको बिसौनी नजिक पुगिसकेको थियो । अघिल्तिर लामो जाम मिनभवनको उकालोसम्मै देखियो । लामको लहरमा ऊ चढेको टेम्पु सुस्त सुस्त गुड्दै रोकिंदै अघि बढ्न थाल्यो । ड्राईभरका दुबै हात अहिले स्टेरिङ्गमै देखिएपनि दाहिने हात बेलाबेला झ्याल बाहिर निक्लेर पल्लो किनारामा विपरित दिशातिर गुडिरहेका सहकर्मीहरुलाई अभिवादन गर्न भ्याइरहेको थियो । केही अघिसम्म ढोकामा झुण्डिरहेको केटो सडकमा ओर्लेर टेम्पु पछि पछि हिंडिरहेको थियो ।
त्यतिकैमा केटो करायो – “गुरुजी, अगाडि खाल्डो छ ।” अर्थहीन रुपमा बजिरहेका हर्नका ध्वनी तरङ्गबीच त्यो आवाज गुरुजीसम्म पुग्ने सम्भावना कम थियो । अचानक टेम्पुभित्र भुईंचालो गयो । ऊ समेत दायाँ लहरका यात्रीहरु उछिट्टिएर वायाँ लहरमा खप्टिन पुगे । थिचिएकाहरु ऐया, आथ्थु गर्दै चिच्याउन लागे । टेम्पु कोल्टे परी पल्टिने अवस्थामा थियो । ढोका छेवैकाहरु बाहिर हामफाल्न थाले । कोही टीनले काटेका पाखुरा समाउँदै, कोही टुटुल्को सुम्सुम्याउँदै निस्किए । एउटी मोटी महिला बाहिर निस्कने क्रममा असन्तुलित भई सीसामा टाउको ठोक्काउँदै सडकमा लड्न पुगिन् । तिनकै पछि लागेको उसको निधार ढोकामा ठोकियो जुन ज्यान जोगिएको खुशीमा उसले थाहै पाएन ।
सडक यसै त भरीभराउ थियो त्यसमाथि टेम्पु र त्यसका यात्री दुर्घटनामा परेको रमिता हेर्नेको भीडले त्यसलाई जात्राकै रुप दियो । त्यतिकैमा एउटा ट्राफिक प्रहरी सिठ्ठी फुक्दै आइपुग्यो । लाग्थ्यो दुर्घटनाबाट भएको क्षतिभन्दा दुर्घटनाले निम्त्याएको जामबाट ऊ बढी चिन्तित देखिन्थ्योे । त्यसैले होला आ–आफ्ना गाडी रोक्दै झ्यालबाट घाँटी तन्काउँदै बाहिर चिहाइरहेका तमासेहरु सबैभन्दा पहिले उसको कोपका शिकार बने । बजाइ पो हाल्ने हो कि भन्ने भावमा हल्लिएका उसका हात देखेर तन्किएका घाँटी खुम्ँिचदै भित्र पस्नथाले । पल्लो दिशामा गुडिरहेका दुई ट्याक्सी उसको आदेशमा रोकिए । “ल, ल घाइतेहरुलाई अस्पताल पु¥याउनुप¥यो ।”– प्रहरी करायो । रमितेहरुमध्येबाट केही निस्किए र रक्ताम्य भएका घाइतेहरुलाई ट्याक्सीमा ओसार्न थाले । नजिकैको खम्बामा समातेर उभिरहेको उसलाई तान्न एकजोडी हात आइपुगे । “हैन, मलाई केही भएको छैन, म जान्न ।”– उसले अस्पताल जान ईन्कार ग¥यो । केहीबेरमै घाइतेहरुलाई लिएर दुबै ट्याक्सी केही रमिते सहित अस्पतालतिर हानिए । शेष ट्राफिक प्रहरीसँग खाल्डोमा खसेको टेम्पुको चक्का निकाल्न हैँसे गर्नथाले । उसले देख्यो – सडक किनार भएर बग्ने वर्षाको पानी खस्न बनाइएको मङ्गालको जालिदार ढक्कन गायव भएकोले टेम्पुको चक्का खाल्डोभित्र खसेको रहेछ । उसले पहिले सडक विभागलाई सराप्यो, त्यसपछि त्यहाँबाट ढक्कन उठाएर लैजानेलाई ।
उसले घडी हे¥यो, सवा दश भैसकेछ । गाडीको लस्कर हेर्दा आज एघार बजेभन्दा अघि ऊ गन्तव्यमा नपुग्ने स्पष्ट देखियो । उसले पाइन्टको खल्तीबाट रुमाल निकाल्यो र अनुहारको पसिना पुछ्न थाल्यो । पसिना पुछ्ने क्रममा उसलाई निधारमा च्वास्स दुख्यो । चोर औंलाले छामी हे¥यो, टुटुल्को उठेको रहेछ । “हत्तेरिका, केही भएन भन्ठानेको त यहाँ भ्याइहालेछ” – उसले मनमनै सोच्यो ।
ऊ अलि अगाडि गयो । भक्तपुर–रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसभित्र आफूलाई हुल्यो । उसको अपेक्षा मुताविक सिट भरिभराउ त थिए नै, कोचाकोच उभिएका यात्री टाउको नब्बे डिग्रीमा झुकाएर स–शुल्क शारीरिक यातना पनि खेपिरहेका थिए । “हल्का भित्र सर्नुस् त ।”– धम्मरधुस खलासी बोल्यो । “ठाउँ भए पो सर्नु” –भित्रबाट तयारी जवाफ आयो । भीड टसमस भएन , ऊ टुटुल्कोयुक्त टाउको नब्बे डिग्री झुकाएर उभिनबाट जोगियो । ऊ बसको सिलिङ्गमा जडित पाइपको सहाराले ढोकामै उभिएर यात्रा गरी आधाघण्टापछि यसै ठाउँमा ओर्लेको थियो ।
...
अचानक बजेको लाउडस्पीकरको आवाजले उसलाई वर्तमानमा फर्काइदियो । बसमा “।।।।।।।।।।।।मैले छोएको पानी चल्दैन ।।।।।।।।।।।।” घन्किरहेको थियो । यो गीत उसलाई मनपर्ने मध्येकै हो । तर अहिले यो यति जोडले बजिरहेको थियो कि उसको टुटुल्को नै टनटन गर्नथाल्यो । आवाज अलि सानो पार्न ड्राईभरलाई अनुरोध ग¥यो । ड्राईभरले नसुने झैं गरी बस स्टार्ट ग¥यो । खलासीले ढ्याक ढ्याक गर्दै आफ्नो दाहिने हात ढोकामा बजा¥यो, बस अगाडि बढ्यो । बस महाँकाल भैरवको मन्दिर अगाडि पुगेपछि अधिकांश यात्रीले टाउको अलिकति निहुराउँदै दाहिने हातका औंलाले आफ्नो छाती र निधारमा क्रमैसँग छोए । उसले पनि निधारको टुटुल्को जोगाउँदै त्यसै ग¥यो ।
रत्नपार्क गेट अगाडि पुगेर बस रोकियो । ड्राईभर आफ्नो सिटबाट ओर्लिएर फूटपाथमा विक्रीका लागि राखिएका सामानहरुमा नजर दौडाउन थाल्यो । लाउडस्पिकरकै मुन्तिर कलेज ड्रेसमा बसिरहेको एक यात्रुलाई सहिनसक्नु भयो । झ्याल बाहिर मुन्टो निकालेर ड्राईभरलाई भन्यो– “ओ गुरुजी, स्पिकर अलि सानो पार्नुस् त ।” “सानो पार्नै मिल्दैन ।” –ड्राईभरको रुखो जवाफ सुनियो । “त्यसो भए बन्द गर्नुस् ।” – विद्यार्थीले विकल्प सुझायो । “बसमा लाउडस्पिकर सजाउनलाई राखेको हो र ?”– कन्सिरीका रौं तात्ने गरी ड्राईभरले प्रतिप्रश्न ग¥यो । “हैन, यो ड्राईभरले निहुँ खोजेको हो कि क्या हो ।”–सहिनसक्नु भएर ऊ पनि विद्यार्थी केटोलाई साथ दिन थाल्यो । “ए भाइ ! यति सानो कुरामा पनि के कचकच गरिराख्या, त्यो स्पिकरको तार काटिदेऊ त” – कसैले गतिलै सल्लाह दियो । त्यति नै बेला पछाडि अर्को बस आएर हर्न बजाउन थाल्यो । ड्राईभर दौडँदै आफ्नो सिटमा बस्यो र भुत्भुताउँदै ढोका जोडले बन्द ग¥यो । लाउडस्पिकर बन्द भयो । सारा रिस ढोकामाथि पोखेको देखेर वरिपरीका यात्रीहरुले ड्राईभरलाई व्यंग्य मिश्रित दृष्टिले हेरे ।
बस अगाडि बढ्यो । उभिने यात्रीको लाइन ढोकासम्मै थियो । भद्रकालीको मोडमा पुग्दा फूटपाथबाट कसैले हात उठायो । गति कम हुँदै बस अलि अगाडि पुगेर रोकियो । “तपाईंहरु अलि अगाडि सर्नुस् त ।”– मुन्टो पछिल्तिर बटार्दै ड्राईभर करायो । यात्रीहरु सरेजस्तो गर्दैथिए , बाहिर सिठ्ठी बजेको आवाज सुनियो । झ्यालमुनि उभिएर एकजना ट्राफिक प्रहरी ड्राईभरसँग कागजपत्र देखाउन भन्दैथियो । “एकपल्टलाई माफ दिनुस् सर”– ड्राईभरले अनुरोध ग¥यो । “यस्तो अफिस टाइममा यहाँ गाडी रोक्ने ? खै खुरुक्क कागजपत्र निकाल ।”– ट्राफिक प्रहरीले माफी हुन नसक्ने सँकेत दियो । “कान समातेर उठबस गर्छु सर ।”– ड्राईभरले हार खाएन । “गाडी बग्गीखाना लाने हो ? ल सबै पेसेन्जर झर्नुस् त ।”– ट्राफिक प्रहरीले औंला टेढो ग¥यो । अहिले चाहिँ ड्राईभर गल्यो । ड्यासबोर्डमा रहेको एउटा प्लास्टिकको पोको फुकाल्यो र प्रहरीको अगाडि ब्लु बुक तेस्र्यायो । “लाइसेन्स खोई ?” ट्राफिक प्रहरीले प्रश्न तेस्र्यायो । मुख अमिलो पार्दै ड्राईभरले लाइसेन्स देखायो । लाइसेन्सको बदलामा एउटा चिट थमाएर ट्राफिक प्रहरी त्यहाँबाट अदृश्य भयो । अघि स्पिकर काण्डमा कराउनेहरु खुच्चिङ मुद्रामा देखिए ।
“साला ढिँडे कहाँ लुकेको रहेछ !” – विस्मयसाथ भुत्भुताउँदै ड्राईभरले जोरसँग एक्सलरेटर थिच्यो । यात्रीहरु अगाडि हुत्तिए । अगाडि ट्राफिक सँकेतमा रोकिएका गाडीहरु देखेर ड्राईभरले झ्याप्प ब्रेक लगायो । यसपटक चाहिँ यात्रीहरु पछाडि हुत्तिए । “हैन, नक्कली लाइसेन्सवाला ड्राईभर प¥यो कि कसो ?”– पछाडिपट्टि एउटा पुरुष आवाज सुनियो । “।।।।।।।।।।।का छोरा तेरा बाउको लाइसेन्स नक्कली” – ड्राईभर भुत्भुतायो । अघि लाइसेन्स खोसिँदा नलागेको चोट नक्कली लाइसेन्सको पगरीले उसलाई लगाएको थियो । केहीबेरपछि ट्राफिक प्रहरीको सिठ्ठीको आवाजसँगै गाडीहरु गुड्न थाले । जामले गर्दा कुद्ने अवस्था थिएन ।
गुड्दै रोकिँदै पाँच मिनेटको बाटो आधा घण्टा लगाउँदै बस बानेश्वर चौबाटोमा आइपुग्दा झिसमिसे अँध्यारो भइसकेको थियो । एउटा ट्राफिक प्रहरी हातमा रातो टल्कने लठ्ठी देखाउँदै हुत्तिँदै अगाडि आइपुग्यो । बस फेरि एकपटक रोकियो । वर्षाको भेल झैँ बाटो काट्नेहरुको लहर यताउता गरिरह्यो । अलि अगाडि बायाँतिर संविधानसभा बसेको भवन सुनसान देखियो, मानौं उसले आफूलाई दिइएको काम सम्पन्न गरिसकेको छ । केहीबेरपछि ट्राफिक प्रहरीले हरियो टल्कने लठ्ठी देखायो । ती दुबैथरी लठ्ठीलाई देखेर चौबाटोको कुनामा ठडिएका अग्ला खम्बामा जडित मूल्यवान बत्तीहरु आफूलाई धिक्कारीरहेका थिए ।
बस अघि बढ्यो । पाइलैपिच्छेका बिसौनी देख्दा उसलाई दिक्क लाग्न थालिसकेको थियो । धन्न उसको गन्तव्य आइहाल्यो । बानेश्वरबाट करिब दुई किलोमिटरको बाटो पार गरेर कोटेश्वर पुग्न बसलाई पन्ध्र मिनेट लाग्यो । बाहिर निस्कने क्रममा कुल्चिन पुगेका गोडा र थिचिन पुगेका शरीर धनीहरुका गालीलाई बेवास्ता गर्दै ऊ ढोकाछेउ पुग्यो । निस्केपछि उसलार्र्ई आजको युद्घ जितेझैं लाग्यो । बसको ढोकामा झुम्मिएको भीडले एकपटक उसलाई सुन्धारामा बसको ढोकामा बन्न पुगेको मानव बिर्कोको सम्झना गरायोे । स“गै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा बारको आड लागेर लघुशङ्का निवृत्तिमा मग्न पुरुषहरु र सडक पेटीमा दूधको प्लाष्टिकभित्र नाकमुख छिराएर लामोलामो सास लिइरहेका बालकहरुको झुण्डलाई पार गर्दै जेब्राक्रस छेउ पुग्यो ।
सडक बत्तीले सम्पूर्ण क्षेत्र झलझलाकार थियो । पालैपालो बलिरहेका ट्राफिक लाइटले चोकमा खटिएका प्रहरीहरुलाई भाग्यमानी सावित गर्दैथिए । रातो बत्ती बलेपछि ऊ बाटो काट्न तयार भयो । अलिकति अगाडि के बढेथ्यो केही मोटरसाइकल र गाडी उसलाई छेकारो काट्दै हुर्रिए । उसको सातो गयो । दुई हातले आँखा मिच्दै उसले एकपटक फेरि सडक बत्तीतिर हे¥यो । बत्ती त रातै थिए । ट्राफिक प्रहरीहरु ती नियम उल्लंघनकर्ताहरुलाई ठेगान लगाउन कुन्नी कस्तोे व्यस्तताले हो असफल रहे । “आधुनिक सुविधाहरु भएरमात्र के गर्नु, त्यही अनुसार संस्कार भइदिए पो !” – उसले सोच्यो । बिहानको मंगालकाण्ड सम्झ्यो । बिदेशी सहयोगले छोपिएका ढक्कन चोरेर छाक टार्ने र एक मिनेट रातो बत्तीमा गाडी रोक्दा हुने ढीलाइले आफ्नो दैनिकीमा उथलपुथल नै हुन्छ जस्तो गर्नेका बीच उसले कुनै फरक देखेन । जेब्राक्रसमाथि ढसमस्स अडिएका गाडीहरुलाई छल्दै र एकदिनमा दुईपटक ज्यान जोगाइदिएकोमा भगवानलाई धन्यवाद दिँदै उसले पाइला अगाडि बढायो ।


No comments:
Post a Comment