Monday, 18 November 2013

शाकाहारी गाउँको कथा इलाम बाँझो लारुम्बा

लारुम्बा इलामको बाँझो गाविसमा पर्छ । जहाँ मासुको प्रयोग निषेध छ । गाविसको ८ र ९ नम्बर वडामा फैलिएको यस गाउँमा कसैले पनि धूम- मध्यपान गर्दैनन् । स्थानीय नन्द नेम्वाङका अनुसार ०६६ सालदेखि त्यस्ता वस्तु निषेध गरिएको हो । उनी भन्छन्, 'यस स्थानमा बसोबास गर्ने कसैले मासु, जाड-रक्सी, सुर्ती-चुरोट प्रयोग गर्दैनन् । गुठ्खा, मधु, परागसमेत खान मनाही छ । काटमार गर्न पनि पाइँदैन ।तपाईं बाहिरबाट लारुम्बा जाँदै हुनुहुन्छ भने पनि सावधान π बाहिरबाट जानेहरूले समेत गाउँमा निषेधित वस्तु खान पाउँदैनन् । तोकिएको क्षेत्रभित्र बेचबिखन पनि हुँदैन ।
कानुन त कार्यान्वयन नहुने देशमा नियम बनाउँदै लागू हुन्छ नै भन्ने छैन । यो कुरामा पनि लारुम्बावासी सचेत छन् । त्यसैले यहाँका युवा निषेधित वस्तु प्रयोग गरे/नगरेको अनुगमन गर्छन् । समाजमा नराम्रा मानिएका वस्तुको प्रयोग बन्द गर्नका लागि धार्मिक आचार-संहिता निर्माण गरिएको छ । आचार-संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी-चेलीको रुपौली-सुनौली नखाने, झुट नबोल्ने, चोरी सिकार नगर्नेलगायत कुरा छन् ।
धूमपान र मद्यपान निषेध गरिएकाले पहिले सेवन गर्नेहरूको पनि बानी छुटिसकेको छ । 'पहिला नजान्दा खानेले पनि अहिले मुखमै हाल्दैनन्,' नन्द नेम्वाङ भन्छन्, 'गाउँभरि कसैको घरमा जाँड-रक्सी बन्दैन । मादक पदार्थ कसैले नखाने भएकाले गाउँ नै शान्त छ ।' उनले थपे, 'गाउँमा खासै झै-झगडा हँुदैन, समाजमा झै-झगडा गराउनेे मादक पदार्थ नै त हो ।' 
लारुम्बा अहिले 'शाकाहारी गाउँ'को रूपमा चर्चित भएको छ ।



किराँत धर्मगुरु फाल्गुनन्दको 'सत्यहाङमा'को अनुशरण गर्दै जाँदा गाउँ यस्तो बनेको स्थानीय बताउँछन् । १९४२ सालमा इलामको इभाङमा जन्मिएका फाल्गुनन्दले किरातीलाई सत्मार्गमा ल्याउनका लागि सत्यहाङमाको धारणा अघि सारेका थिए । किरात समुदायमा रहेको विसंगति-विकृति हटाउन फाल्गुनन्दले बनाएको आचार-संहितालाई सत्यहाङमा भनिन्छ । उनले १९८८ सालमा तत्कालीन दश लिम्बुवानका अगुवालाई भेला गरेर पाँचथरको लब्रेकुटीमा सत्यहाङमा मुचुल्का बनाएका थिए । 


लारुम्बाका एक हजार एक सय परिवारले फाल्गुनन्दको सत्यहाङमा अनुशरण गरिरहेका छन् । लिम्बूहरूको बाक्लो बस्ती भएको लारुम्बामा राई, मगर गुरुङ, नेवार, दलित र ब्राह्मण समुदायको पनि बसोबास छ । साढे पाँच किलोमिटरको परिधिमा रहेको लारुम्बा किराँतीको धार्मिकस्थल पनि हो । त्यहाँका किरातीले अहिले आत्मनन्द लिङदेनलाई धर्मगुरुका रूपमा मानेका छन् । ०३५ सालमा इभाङबाट आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिकस्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन्दका जेठा दाजुको जेठा छोराका छोरा हुन् ।


अहिले किरातीको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हँुदै छ । लारुम्बा किरात दर्शनको पढाइ हुने नेपालमै एक मात्र ठाउँ भएको स्थानीय अमृत सुब्बाले बताए । उनका अनुसार अहिले सात सय बढीले किरात धर्म तथा दर्शनको अध्ययन गरिरहेका छन् । बिहान र दिउँसो गरेर दुई चरणमा कक्षा सञ्चालन हुने गरेको छ । 


लारुम्बामा सिक्किम, दार्जिलिङ, आसाम, भुटान, बर्माबाट समेत किराती आउने गरेको स्थानीय केहेरसिंह योङहाङ बताउँछन् । त्यहाँ बसोबास गर्ने किरात धर्मावलम्बीले धार्मिक कार्यक्रममा सेतो रङको तागाहाङमाजाङ र मेख्ली -पहिरनको नाम) लगाउने गरेका छन् । शान्तिको प्रतीकको रूपमा लारुम्बावासीले सेतो कपडाको प्रयोग गर्ने गरेका हुन् ।

 लारुम्बामा धेरै राजनीतिक नेता पुगिसकेका छन् । लारुम्बाको धार्मिक कार्यक्रममा नेपालका राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा पनि पुगेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कार्यकालमा लारुम्बामा भएको कार्यक्रममा पुगेर फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विघटित संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि वेला-वेला लोरुम्बा जाने गरेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र विभिन्न समयमा लारुम्बामा भएको कार्यक्रममा सहभागी भएका थिए । द्वन्द्वकै समयमा माओवादी अध्यक्ष प्रचण्डसमेत लारुम्बा आएको स्थानीयको दाबी छ । 

शान्ति र समाज सुधारको सन्देश दिने फाल्गुनन्दको पद पछ्याएर उदाहरणीय बनेको लारुम्बा आध्यात्मिक पर्यटनको क्षेत्र बनिरहेको छ । तर, यो इलामको दुर्गम गाविसमध्येको एक हो । झापाको दमकबाट आवत-जावत गर्नुपर्ने भएकाले सदरमुकामबाट लारुम्बा सीधा सम्पर्कमा पर्दैन । यस गाउँमा जेठदेखि असोजसम्म यातायातका साधन चल्दैनन् । रतुवा खोलाको बगरबाट यातायात सञ्चालन हुने भएकाले त्यहाँ जानका लागि एउटै खोला ६० पटकभन्दा बढी तर्नुपर्छ । त्यसैले पूर्वसभामुख नेम्वाङले ठट्टाको भाषामा 'लारुम्बामा पुलमुनिबाट बाटो कुद्छ' भन्ने गरेका छन् ।


विद्युत् प्रशारणको लागि लाइन विस्तार गरिए पनि विद्युत् सेवा चालू छैन । त्यस्तै, सञ्चारको समेत भरपर्दो सेवा छैन । खानेपानीको पनि समस्या रहेको स्थानीय बताउँछन् । सरोकारवाला निकायले यहाँ विकासका पूर्वाधार पुर्‍याउन पहल गर्ने हो भने यो गाउँ शान्ति र सामाजिक सुधारको केन्द्र बन्ने निश्चित त छ नै, महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र पनि बन्ने निश्चित छ ।

को हुन् फाल्गुनन्द ?

फाल्गुनन्दलाई किरात धर्मको महान् गुरु मानिन्छ । उनी २५ कात्तिक १९४२ मा बाबु जगनबाज लिम्बू लिङदेन र आमा हंसमती लिम्बूको कोखबाट साइँला छोराका रूपमा जन्मिएका हुन् । उनको न्वारानको नाम भने नरध्वज लिङदेन हो । बाल्यकालमा सिकिस्त बिरामी परेका थिए । त्यस वेला स्थानीय 'जान्ने'ले फलामको चुरा लगाइदिए निको हुने सल्लाह दिएपछि उनको हातमा फलामको चुरा लगाइयो । फलामको चुरा लगाएकै कारण उनको नाम फलामसिंह रहन गएको थियो । युवावस्थामा गाउँका अन्य युवासँगै बेलायती फौजमा भर्ती भएपछि उनको नाम फलामसिंबाट फाल्गुनन्द भएको भयो । 


करिब आठ वर्षकै उमेरदेखि उनले हत्या-हिंसा गर्न नहुने, झुठो बोल्न नहुने, नारीजाति सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखोेसँग 'माङसेवा' -पूजा आराधना) गर्नुपर्ने, मासु तथा मदिरापान गर्नु नहुनेजस्ता कुरा गर्न थाले । सानैमा उनले गरेको यस्तो कुराले उनलाई दिव्य ज्योति प्राप्त भएको मानियो । फाल्गुनन्द सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने गरेका हुनाले उनलाई 'योगी' 'तपस्वी' जस्ता उपनामले पुकारिने गरिन्थ्यो । पछि उनले लडाइँबाट शान्ति स्थापना हुन नसक्ने भन्दै राजीनामा दिए । त्यसपछि किराती जातिको मौलिक धर्म, संस्कृति र ज्ञानको प्रचार गर्दै उनी भारत, भुटान हुँदै आफ्नो जन्मस्थल फर्के । 

गाउँ फर्केपछि उनले आफ्नो ठाउँ र विशेष गरी किरात जातिका लिम्बू समुदायलाई सामाजिक विसंगति र विकृतिले गाँजेको देखे । त्यसलाई रोक्न उनले २५ वैशाख १९८८ मा तत्कालीन 'दश लिम्बुवान सत्रथुम' समाजका वरिष्ठ व्यक्तित्वलाई बोलाएर पाँचथरका फिदिमनजिक रहेको लब्रेकुटीमा भेला गरे । त्यहाँ उनले सबैलाई आफ्नो वास्तविक धर्मबाट अञ्जान रहेको, जाँड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी विवाह भोज गरी आर्थिक रूपमा दलदलमा फसेकाले समाजको हर क्षेत्रमा माथि उठ्नै नसकेको बताए ।

त्यसलाई रोक्न सबैले विसंगति, विकृति र कुरितिबाट मुक्त हुने तथा आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिकताको पहिचान गराउने भनी दशबुँदे लिखित मुचुल्का तयार पार्न लगाए । जसलाई 'सत्यहाङमा मुचुल्का' भनिन्छ । त्यहाँ उपस्थित सबैले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दशबुँदे मुचुल्काको प्रचार-प्रसार गर्ने वचन गरे ।

फाल्गुनन्दले 'सत्यहाङमा मुचुल्का' मात्र बनाएनन्, त्यो लागू भए/नभएको निरीक्षण गर्न समय-समयमा लिम्बुवान क्षेत्रका हरेक गाउँमा पुगे । यस क्रममा उनले चेलाहरूसँगै कुम्भकर्णका फेदीमा पुगेर महिनौँ ध्यान, तपस्यासमेत गरे । यसरी धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा उनलाई तत्कालीन राणा सरकारले राजनीति गरेर राणा शासनको विरोधमा जनतालाई जागरुक बनाएको आशंका गरे । त्यसैले तत्कालीन धनकुटा जिल्लाका वडा हाकिमको निर्देशनमा उनलाई काठमाडांै पुर्‍याएर सोधपुछ पनि गरिएको थियो ।
उनले साँझ-बिहान आ-आफ्नो घरमा युमा साम्माङको 'माङसेवा' गर्ने चलन चलाए । त्यस्तै, सामूहिक रूपमा 'माङ सेवा' गर्नका लागि मेची र कोसी अञ्चलका विभिन्न स्थानमा सातवटा माङहिम -मन्दिर) बनाएका छन् । उनले कुम्भकर्ण हिमाललाई किरातीको पवित्र धार्मिक तीर्थस्थल मान्दै त्यहाँ पनि एक 'माङहिम' बनाए ।

उनले प्रचार गरेको ज्ञानमा कोरा धार्मिक विषयको सट्टा सामाजिक सुधारका विषय बढी समेटिएका थिए । उनी भन्थे, 'आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुनुहँुदैन । मदिरा सेवन र असामाजिक क्रियाकलाप गरी मतिभ्रष्ट हुनुहँुदैन, विवाहमा आफ्नो आर्थिक गच्छेभन्दा बढी तडकभडकका साथ खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्नु हुन्न ।

समाजका जननी 'युमा साम्माङ' नै नारी भएका हुनाले समाजमा नारीलाई उच्च सम्मान गर्नुपर्छ । 'मेजमान' तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न । अन्नबाली वा जस्तोसुकै खाने कुरा पनि 'हिम साम्माङ', 'युमासाम्माङ'लाई नचढाई खानु हुन्न । 'हिम साम्माङ' तथा 'युमासाम्माङ'लाई पशु बलि चढाउँदा उनीहरू खुसी हुँदैनन्, त्यसैले पशु बलि दिनुहुन्न । त्यसको सट्टा फलफूल र नैवेद मात्र चढाएर 'माङसेवा' गनुपर्छ ।' 


No comments:

Post a Comment