Monday, 14 October 2013

यसलाई म आपmनो जीवनको उपलब्धि मानौं कि अन्योल ? म आफनै जीवनका पहेलीहरू बुभmन सकिरहेको छैन । यो शहरमा मानिसहरूले मलाई निरन्तर चिलेका छन् अरिंगालले चिलेजस्तो । त्यसैले मलाई त्यसको रत्तिभर चिन्ता छैन । पढने र ठूलो मानिस बन्ने चाहना थियो । कस्तो ठूलो मानिस ? त्यसको परिभाषा थिएन मसँग । यति थाहा थियो, डाक्टर, इन्जिनियर, सचिव,
सहसचिव, मन्त्री वा नेताजस्तो ठूलो मान्छे बन्ने होइन । त्यतिबेला मैले केही नबुझे पनि अज्ञेयको कविता पढेको थिएँ, ज्याँ जेनेको उपन्यास 'मिर्‍याकल अफ दि रोज'को हिन्दी अनुवाद 'गुलावकी पंखुडियोंका चमत्कार' पढेको थिएँ । पछि मैले यो उपन्यासको अंग्रेजी अनुवाद पढ्दा थाहा पाएँ -जव त्राशद अभिनय गर्ने अभिनेताहरू अभिनयको चरम अवस्थामा पुग्दछन्, उनीहरूको सास तीव्र गतिमा बढ्न थाल्दछ, स्याँ स्याँ बढ्न थालेपछि उनीहरूको छाती फुलेको देखिन्छ) भाषाले अर्थान्तरका समस्याहरू बोक्दा रहेछन् । प|mान्सिसीहरू भन्दछन्, अनुुवाद पनि आइमाईजस्तै हुन् । ती या त सुन्दर हुन्छन्, या छिनार । सआदत हसन मण्टोका कथाहरू पढेको थिएँ । मिर्जा गालिवका गजलका टुक्राटाक्री पढ्थंे म । र, लाग्दथ्यो, प्रेम सधैं दःुखान्तमा टुंगिन्छ ।

टुकीको उज्यालोमा रातरातभरि पढे पनि मेरी आमाको नजरमा म उपद्रयाहा र बिगि्रएको केटो थिएँ । पत्रकारका रूपमा स्थापित भइसक्दा पनि उहाँले मलाई सपि्रएको मान्नुभएन । पढेर डाक्टर-इन्जिनियर नभए सुब्बा र खरिदारसम्म पनि हुन नसकेको मानिस सपि्रएको मानिदैनथ्यो त्यतिखेर । मेरा समकालीन साथीहरू सबैजसो जागिरमा लागिसकेका थिए । जागिर सस्तो थियो, निकै सस्तो । प्रभावशाली व्यक्तिहरूसँग नाता-परिचय । देश, नरेश र व्यवस्थाप्रति सधैं आस्था । र, योग्यताको प्रमाणपत्र । मसँग चाहिं जागिर भागिरहन्थ्यो अथवा म नै जागिरसँग । अहिलेसम्म पनि म यही नियति भोगिरहेको छु । पटक-पटक जमिन्दारले गोठालोलाई कामबाट निकाले जस्तैगरी निकालिएको छु म । मेरो आत्म-सम्मान र मर्यादामाथि पटक पटक प्रहार भएको छ ।

जागिरलाई पछ्याउनुभन्दा अन्यायका विरुद्ध लड्ने सन्देश दिन्थे मैले पढ्ने गरेका पुस्तक र पत्र-पत्रिका । महेन्द्र राजाको शासनको विरोधमा अन्नपूर्ण मन्दिरको डवलीमा खुलेआम कांग्रेसको चारतारे झन्डा छापिएको पर्चा छरेको अभियोगमा पक्राउ परेर नुवाकोट जेल पुर्‍याइएपछि आमाले म नसुधि्रने गरी बिगि्रएको सोच्नु उहाँको हकमा अन्यथा पक्कै थिएन । आमाले सोचेजस्तो गरी सुधि्रने खालको मानिस थिइनँ पनि म । जो बिगि्रएका हुन्छन्, ती सुधि्रन्छन् । जो आफैं बन्दछन् ती बिगि्रन र सपि्रन मान्दैनन् ।

झन्डै तीन दशकदेखि मेरो शरीरलाई स्वस्थ राख्न कडा मेहनत गर्दै आउनुभएका मेरा मित्र डा. मधु घिमिरेको नजरमा म कहिले भूतजस्तो देखिने गरेको छु भने कहिले सुसाइरहेको खोलाजस्तो । उहाँका लागि पनि म पक्कै बिगि्रएको बिरामी हुँ जो डाक्टरकहाँ त आउँछ तर उसको सल्लाहमा कहिल्यै हिँड्दैन । त्यसैले होला, डा. घिमिरेको नजरमा म भूत हुँ । त्यस्तो भूत जो शरीरका रोग र समयका विभिन्न अन्दाज र कटाक्षसँग एकसाथ लड्ने क्षमता राख्दछ ।

समयका विभिन्न खण्डहरूमा मेरो परिचय बदलिने गरेको छ । तर, काठमाडौं सहरले मलाई जुन पहिचान दिएको छ, अहिलेसम्म पनि यो पहिचान स्थिर छ, यसैलाई ओढेर बाँचेको छु म । सहर क्रूर हुन्छ । यसले हतपती कसैलाई पनि पहिचान दिंदैन । मेरा लागि काठमाडौं मेरी आमापछिको आमा हो जसले मेरो सम्भार गर्‍यो, बहिनी हो जसले मलाई आफू हुनुको अहसास दिलाइरहिन्, मेरी प्रेमिका हो यो सहर, जसले मलाई कहिल्यै मन पराइन । र, सहर मेरो गुरु गणिका पनि हो जसले मलाई भावनात्मक आवेग सिकाई । यी थुप्रै परिचय हुँदाहुँदै पनि कोही मलाई कुनै काल्पनिक अनुहारसँग जबर्जस्ती जोडेर हेर्न खोज्दछन् । कति त ममा हुँदै नभएका गुण र अवगुणलाई जबर्जस्ती प्रमाणित गर्न चाहन्छन् । भन्ने गर्दछन्- हामीलाई यो कुरा हाम्रै तरिकाले प्रमाणित गरेर देखा । मानौं कि म मुर्कट्टा हुँ, जसलाई कसैले कहिल्यै देखेको हुँदैन र पनि सबैलाई थाहा हुन्छ- गिँड नभएको भूत हो
मुर्कट्टा । नेपालको वामपन्थी राजनीतिमा एकजना अस्वाभाविक किसिमका मानिस थिए रूपचन्द्र विष्ट । उनी भन्दथे, जो मृतक हो त्यसैलाई अभियुक्त बनाइने चलन छ यहाँ । पीडित स्वयं अपराधी घोषित हुने परम्परा छ यहाँ, यो सहरमा ।

सडकमा ठिंग उभिएर मैले सडकपेटीमा पसारिएका आफना थुप्रै अवतारहरू हेरेको छु । मलाई राम्ररी थाहा छ, अवतारहरूको तमासामा ती कुनै पनि अवतार मेरा होइनन् । कुनै पनि मखुण्डो मेरो अनुहारसँग मेल खाँदैन । आपmनाबारे मैले कुनै भ्रम पालेको छैन । म जुन पेसामा छु त्यसमा बरु अज्ञान क्षम्य हुन्छ, भ्रम अक्षम्य हुन्छ । कुनै पनि पेसामा, कुनै पनि विज्ञानमा, कुनै पनि दर्शनमा, कुनै पनि व्यवसायमा भ्रम सधैं आततायी हुन्छ, भ्रम सधैं आतंककारी हुन्छ । मानिसका बारेमा होस् कि विषयका बारेमा, भ्रम सधैं विषाक्त हुन्छ ।

सत्र वर्षअघि मुम्बईमा मैले एउटा पुस्तक किनेको थिएँ- 'दि न्यू अनटचेवल्स ।' मुम्बई सेन्ट्रलको एउटा गेस्टहाउसमा बसेका बेला त्यो पुस्तक पढेको थिएँ मैले । अध्यागमन र नयाँ विश्वको श्रमिक पद्धतिका बारेमा नाइजेल ह्यारिसको त्यो पुस्तकले मेरो मथिंगल खियाएको थियो । अहिले आपmनै देशका हजारौं हजार तन्नेरीहरू अछूतहरूको नयाँ वर्गमा सामेल हुन दिनहुँ विदेशतिर भासिइरहेका छन् । त्यो एउटा बेग्लै पीडा हो, व्यक्तिगत स्तरमा पनि र राष्ट्रिय तहमा पनि । मानिसको पीडालाई निचोरेर मुनाफा कमाउने एउटा अर्को राजनीतिक वर्ग उत्तिकै फस्टाइरहेको छ । कांग्रेस, माओवादी, एमाले, मधेसी, थारू र जनजाति सबै पार्टीका मूर्धन्य नेताहरू कतारमा कतार बाँधेर उभिएका छन् । फेसबुकमा एउटा भाइले सन्देश पठाएको छ- दाइ, यी नेताहरूले त मार्नै लागे । चुनाव आयो, चन्दा दे भन्छन् । यहाँ मरुभूमिमा रगत सुकाएर हामीले जम्मा गरेको दुई चार पैसामाथि उनीहरूको आँखा गढेको छ । गिद्धे आँखा । सय पचासले पुग्ने हो र ? लाख चाहियो रे लाख !

त्योभन्दा पनि ठूलो पीडाको कारण देशभित्रै बढ्न थालेको वैचारिक निर्वासनको समस्या बनेको छ । सिद्धान्तको अधकल्चो र अपूर्ण व्याख्याका आधारमा मानिसहरू विभिन्न क्याम्पमा बाँडिन थालेका छन् । देशभित्रै पानी चल्ने र नचल्ने दुईथरी विचारका दुई नयाँ वर्ग स्थापित हुन थालेको छ । धेरै तन्नेरीहरू आफ्नो पहिचानको खोजीमा लागेका छन् । के हो उनीहरूको राजनीतिक पहिचान ?

जतिबेला देश युद्धको आगोमा होमिएको थियो, दुर्गम बस्तीमा पुलिसहरू मारिंदै थिए, जनता भयाक्रान्त थिए, बडाद्मीहरू भन्दथे- महाराजाधिराजको छत्रछायामा रहेको यत्रो देश, जनप्रतिनिधिहरूको यत्रो सरकार, देश-विदेशमा फैलिएको यत्रो कीर्ति । ती भुराहरूले एक-दुई बम पड्काउँदैमा के असर पर्छ ? यो हिमालय पर्वत र पशुपतिनाथको देश प्रचण्ड प्रतापी शाहवंशीय राजाको संरक्षणमा सुरक्षित छ । जब म आफैं देशको परिस्थितिको आँकलनका लागि टेलिभिजनको क्यामरा बोकेर डाँडाकाँडा डुल्न थालें, त्यसबेला देशको भयावह अवस्था मेरो आँखामार्फत् धेरैको आँखाबाट भ्रमको पर्दा हट्यो । देशको अस्तित्वका प्रति जनता संवेदनशील थिए । उनीहरू बोल्दै थिए- राज्य र विद्रोहीका दुई बन्दुकको चेपबाट हामीलाई बाहिर निकाल । माओवादी विद्रोहीसँग शान्ति वार्ता गर । देश सबै मिलेर चलाओ । हामीलाई मेहनत-मजदुरी गरेर बाँच्ने आधार देऊ ।

देश साँच्चै राज्य व्यवस्थाको पुनर्संरचनाको खोजीमा थियो । आन्दोलन भयो, विद्रोह सकियो, आतंककारी घोषित भएर टाउकोका मूल्य तोकिएकाहरू चुनावमार्फत् शासनमा आए । तर, अहिलेसम्म पनि देश नियतिकै कब्जामा छ । श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरून !

त्यसपछि मानिसहरूले चर्चा चलाए- यो पत्रकार त पूरै माओवादी भइसक्यो । बडाद्मीहरूले रातारात मेरो राजनीतिक लिंग नै परिवर्तन गरिदिए । मैले कुनै प्रतिक्रिया जनाइनँ । मेरो नाम खाली रहेका राजदूत पदमा नियुक्ति पाउनेको लहरमा छापाहरूमा लेखिन थाल्यो । व्यवस्थापिका संसद्देखि संविधानसभा सदस्यसम्म मनोनीत हुने सम्भावित उम्मेदवारको समूहका सदस्यहरूमा परें म । मैले कुनै प्रतिकार गरिनँ । त्यसको आवश्यकता पनि थिएन । कसैबाट स्याबासी पाउन म लोकतान्त्रिक सिद्धान्तमा दीक्षित भएको थिइनँ । व्यक्तिगत हिसाबले पनि मेरा लागि यो नयाँ कुरा थिएन । पत्रकारितामा लागेको शैशवकालदेखि नै मेरो व्यक्तित्वको विश्लेषण भएको भएकै छ । कहिले कसको मान्छे र कहिले कसको मान्छे । सर्वचेतन मनले अहिलेसम्म म कसैको मान्छे नभई बाँचेको छु । म आफ्नै मान्छे हुँ । म मेरो नेपाली समाजको मान्छे हुँ । मलाई बुद्ध जन्मिएको भूमि अहिले नेपालको सिमानाभित्र छ भन्नेमा कुनै भ्रम छैन । तर, बुद्ध जुुन समयमा जन्मिएका थिए त्यो बेला त्यो भूमिको स्वाधीनता र पराधीनताका बारे मलाई चासो छैन । हामीले पढेका थियौं- जन्मिदा सिद्धार्थ गौतम बुद्ध भइसकेका थिएनन् । उनी राजा शुद्धोदनका छोरा थिए । वर्तमानको यथार्थले जब मानिसको अस्तित्वलाई चुनौती दिन थाल्दछ त्यसपछि ऊ चिहान खोतलेर इतिहासका विम्बहरूमा आपmनो अस्तित्व खोज्न थाल्छ ।

देशको गाउँघर त अहिले पनि घुमिरहेको छु म । छोरा छोरीले विदेशमा कमाएर पठाएको पैसाले आर्थिक यथार्थलाई ढपक्क छोपेको छ । स्थानीय तहमा आर्थिक गतिविधि पक्कै केही बढेका छन् । तर, तिनका आधार कमजोर छन् । उस्तै छन् सामाजिक यथार्थ । ती अहिले पनि बदलिएका छैनन् । नेपाली जनताको हातमा देशको सार्वभौमिक सम्प्रभुताको चाबी थमाएर आन्दोलन र विद्रोहको मूल राजनीति सकिएको छ । तर, त्योभन्दा पनि खतरनाक ढंगले राजनीतिक द्वन्द्वका अवस्था बढेका छन् । राजनीति हिंसाबाट मुक्त भइसकेको छैन । अहिले सानो थुप्रो मात्र देखिएको कालो बादलको आकार बढ्ने अवस्था यथावत् छ ।

देश संक्रमणमा छ । यस्तो संक्रमण, जसको टुंगो नयाँ संविधान लेखेर मात्र लाग्दैन । देश सँगसँगै हामी नेपाली पनि संक्रमणमा छौं । देश हुँदाहुँदै पनि निर्वासित हुनुपर्ने परिस्थिति बन्न थालेको छ । निर्वासन रोजगारका लागि मात्र भएको छैन । विचारको निर्वासन, विवेकको निर्वासन, अधिकारको निर्वासन- यसको हाँगाबिँगा फैलिंदो छ । गाउँका गाउँ देश खाली छ । युवाहरूको पलायनले देशको बौद्धिक र सांस्कृतिक आकार साँघुरो बनाउँदै छ । कमायो र उडायो । देश सामाजिक सञ्जालमा खुम्चिंदो छ । देशको आपmनै परिचय संकटमा परेका बेला म बडाद्मीहरूले मलाई गुथाइदिएको पगरीको चर्चामा किन अल्मलिनु ? यो पनि त एकप्रकारको लेखकीय आत्मरति नै हो । आखिर मानिसको परिचय आफैंले कोर्ने र बनाउने कुरा हो । कसैको विचार र स्वरूप कसैले परिवर्तन गर्न सक्ने कुरा नै होइन ।

इतिहासकार सर इसाइया वर्लिन भन्छन्- मानिस पहिचानको खोजीमा हुन्छ र यो उसको नैसर्गिक अधिकार हो । तर, पहिचानका लागि मानिसमा शक्तिको प्रवाह आवश्यक हुन्छ । यस्तो शक्ति पारस्परिक सहयोगबाट मात्र पाइन्छ । शक्ति दानमा दिइने विषय होइन । कसैले कसैलाई दानमा दिन सक्दैन शक्ति । दानमा शक्ति पाउने चाहना राख्नु आपmनै मूल्य गिराउनु हो । पहिचानका लागि शक्तिको सञ्चय शान्तिपूर्ण हिसाबले हुनुपर्दछ ।

तर, आजको नेपालमा शान्ति खतराको बिन्दुमा अडिएको छ ।

No comments:

Post a Comment