म त आमा हुँ । कस्तो भयो होला मेरो मन त्यतिखेर !
केही दिनअघिमात्र इन्द्रजात्राको लिङ्गो लिनको लागि ऊ गुरुजुको पल्टनको पछिपछि लागेर चितापोल गएको थियो । त्यहाँबाट ल्याइएको लिङ्गो ठड्याइएको थियो वसन्तपुरमा । ऊ कति उत्साहले सहभागी भएको थियो त्यसमा । लिङ्गो ठड्याइएपछि इन्द्रध्वज फहराएको पनि हेरेर आएको थियो उसले । कति खुसी थियो । त्यसको अघिल्लो दिन किलागलमा ऊ आफैँले देवीनाच नाचेको थियो । मरुटोलका साथीभाइहरूसित बसेर अयला र समयबजी पनि खाएर आएको थियो । भन्दैथ्यो, 'मा, तिमीलाई थाहा छ ? पहिला पहिला हनुमानढोकामा हैन, मरुटोलको अट्कोनारायण मन्दिरअगाडि पो लिङ्गो ठड्याइन्थ्यो ।
त्यसको निपर्सीदेखि हुने भैरव, कुमारी र गणेशको रथयात्राको तयारी गर्नु छ भन्दैथ्यो ऊ । तर अचानक के भयो उसलाई ? किन उसले मर्ने कुरा गर्यो ? म आमाको मुटु किन छियाछिया हुने कुरा गर्यो उसले ?
भर्खर बारीबाट टिपेर ल्याएको चम्सुरको सागलाई परालले बेरेर मुठा पार्दै थिएँ म उसले यसो भन्दा । मलाई लाग्यो, मेरो मुटु पो बेरियो । परालको त्यान्द्रोले हैन । करेन्ट लाग्ने बिजुलीको नांगो तारले । उसले फेरि भन्यो, 'मा, अब म खर्पन बोकेर साग बेच्न जान सक्दिनँ ।'
रिाति ऊ बेहोसीमा बर्बराउन थाल्यो ।
'पन्ध्र दिनअघि म नागदह गएको थिएँ । नागको पूजा नगरी फर्किएँ । त्यसैले रिसाए मसित नाग देउता । पोहर दसैँको चतुर्थीका दिन टुकुचामा ननुहाईकनै दोला अजिमाको पूजा गरेकोले अजिमा पनि रिसाइन् मसित । त्यसैले म चाँडै मर्छु अब । मा, अब हातका औँलाहरूमा दिन गन्ती गरेर बस । म अब चाँडै मर्दै छु ।'
मैले रातभरि भाइचा पल्लो कोठामा बर्बराइरहेको सुनिरहेँ । बुहारीले के के भनेर उसलाई सम्झाइरहेकी थिई । तर रातभरि ननिदाएर बितायो उसले । म पनि कहाँ निदाएँ र ? बिहान बुहारीले कोठाभरि बगेको रगत पखाल्दै थिई । त्यसपछि पो मैले थाहा पाएँ । अब मेरो छोरो बाँच्दैन धेरै । उसको कलेजो बिगि्रसकेछ । कामै नलाग्ने गरी कुहिइसकेछ ।
अिाफ्नो बा जस्तै खाने कुराको कति सोखिन थियो मेरो छोरो ।
'हे अयला छ गुली बाँलालय तासाँ छ हे,
तँचासाँ छ हे दुःख हे न छ हे
सुख हे न छ हे सिँसा म्वासाँ न्ह्याब्ले न छ हे हे अयला गुली बाँला ।'
यही गीत गाउँदै त भाइचाका बाले अयला स्वाट्ट पार्थे नि । दिनदिनै मासं गल्ली र झोँछेतिर बरालिन्थे । सधैँ मातेर आउँथे । घर आउँदा कहिले रित्तो हात आएको थाहा छैन मलाई । सधैँ कि त भुटुन, छोयला र कचिला ल्याउँथे कि खाग्व, टिस्य । कैलेकाही चतामरी र वः पनि ल्याउँथे । मलाई पनि ख्वाउँथे, छोरो भाइचालाई पनि खुवाउँथे । मैले कैलेकाहीं 'धेरै अयला नखाऊ' भनेर सम्झाउँथें । उनी हाँसेर जवाफ दिन्थे, 'ज्यापुले नखाएको अयला कसले खान्छ ?'
बाउकै बानी सर्यो भाइचालाई । मैले भन्थेँ भाइचाका बालाई, 'आफू त बिग्य्रौ बिग्य्रौ । तिमीले छोरालाई पनि बिगार्ने भयौ ।'
उनी हाँसेर मेरो कुराको जवाफ दिन्थे, 'बल्ल बल्ल बुढेसकालमा पाएको छोरो । यसले जे मन लाग्छ, खान पाउनुपर्छ ।'
बीस वर्षअघि । चथाः कै दिनको त कुरा होे नि । भाद्र शुक्ल चतुर्थीको दिन । म त बिहानै उठेर घरको काममा लागिहालेँ । चथाः दयःको पूजाको लागि कमलको पात, करवीरको फूल, उँखुको बिरुवा खोज्न ठँहिटीतिर गएकी थिएँ । अदुवाको बिरुवा, नासपाती र आरुको बियाँ त मैले अघिल्लो दिननै खोजिसकेकी थिएँ । राति पूजा सकिएपछि खानको लागि समयबजी पनि तयार गरिसकेकी थिएँ मैले ।
हिजोमात्र भाइचाका बाले मलाई सम्झाएका थिए, 'भाइचाकी मा, भोलि झुक्किएर चन्द्रमालाई हेर्लिस् नि फेरि । अनि त वर्षदिनभरि नै चोर दोष लागिरहन्छ तँलाई । चन्द्रमा उदाउनुअघि नै कोठामा लुकेर बस्नुपर्छ ।'
मैले त्यसै गरेकी थिएँ । कोठामै चथाःदयःको पूजा गरेर सबैले भोज खाइसकेपछि मात्र कोठाबाट निस्केका थियौँ हामी । राति अनाचक एकैचोटि टोलभरिका कुकुरहरू भुकेका थिए । तर हामी डराएनौँ । किनभने हामीलाई थाहा थियो, चथाःको राति सधैँ यसरी नै कुकुरहरू भुक्ने गर्छन् । तर चथाको भोलिपल्टको दिन मेरो जीवनको सबैभन्दा डरलाग्दो दिन भएर आयो । एकाबिहानै भाइचाका बा कोखा दुख्यो भनेर कराउन थाले । मलाई के गरूँ कसो गरूँ भयो । केही सोच्ने मौका पनि पाइनँ । भाइचाका बा असह्य वेदनाले भुइँमा ढलिहाले । मुटुले ठाम छोडिहाल्यो । कोठामा रगतको आहाल थियो । उनको सुरुवाल रगतले लफक्कै भिजेको थियो । म आत्तिएर उनी छेउ पुग्दा उनी बर्बराउँदै थिए, 'यसपालि पनि इन्द्रजात्राभरि भक्कुनाच नाचुँला भन्ने कत्रो रहर थियो । नाच्न नपाउने भएँ ।'
यति भन्दा नभन्दै मेरै काखमा उनको प्राणपखेरु उडेर गयो । पछि सबैले भने, 'भाइचाको बाको त कलेजो नै खराब भइसकेको थियो ।'
बाउ मर्दा भाइचा दस वर्षको त थियो ।
डिाक्टरले मेरैअगाडि भन्यो, 'धेर दिन छैन अब भाइचाको । बढीमा महिना दिन । त्यो पनि खानपिन बार्यो भने । चिल्लो, पिरो, अमिलो त दिनै हुन्न । अयला त एक थोपा पनि पर्नु हुन्न मुखमा । हैन भने जुनसुकै बेला पनि मर्न सक्छ भाइचा ।'
डाक्टरकहाँबाट आएकै साँझ भन्न थाल्यो भाइचाले, 'मलाई सिद्धिपुरको जस्तै छोयलाबजी खान मन लाग्यो ।'
मैले कति सम्झाएँ । मान्दै मानेन । 'मर्नु छ भने खाएरै मर्छु' भन्न थाल्यो । आमाको अगाडि छोराले मर्ने कुरा गर्नु हुन्छ ? कस्तो मूर्ख भाइचा । बुहारीले हार खाई । बजारबाट मासु ल्याई । आँखाभरि आँसु पार्दै मासु पोली उसले । शुद्ध तोरीको तेलमा लसुन, मसला, नुन खुर्सानी, सबै मरमसला राखेर मोली मासुलाई । छोयला बनाउन्जेल उसको आँखाबाट आँसु रोकिएकै थिएन । छोयला मोलेर आधा घन्टा त कम्तीमा राख्नुपर्छ । उसले छोयला छोपी र कोठामा आएर भक्कानो छाडेर रुन थाली । भन्दै थिई, 'आफ्नै हातले भाइचाका लागि जहर बनाएँ मैले । कति पाप लाग्ने होला मलाई ।'
तर एकछिनपछि एक्कासि आत्तिएर कराइरहेकी थिई, 'हाम्रो घरमा भूत पस्यो । छोयला खाएर गयो । एक टुक्रा पनि बाँकी छैन ।'
जे जस्तो भए पनि मर्ने बेला भएको लोग्नेले अब जे जे माग्छ, खान दिन्छु भन्ने मनस्थिति बनाएकी बुहारीको सातो गएको थियो । उसको हातखुट्टा कामिरहेको थियो । भोलिपल्ट बिहानै म र बुहारी शोभाभगवतीपारि गयौँ । मातालाई देखाउन । माताले जवाफ दिइन्, 'हो, घरमा भाइचाको बाको भूत पसेेको छ ।'
माताले त्यसपछि धुप दिइनँ । हामीले घरभरि धुप बाल्यौँ । त्यही साँझ भाइचाले भन्यो, 'मलाई खुबा हालेको योमरी खान मन लाग्यो ।'
बुहारीले कताकताबाट ताइचिन चामलको पिठो किनेर ल्याई । ठँहिटीको खुवा साहुकहाँबाट ताजा खुवा पनि ल्याई । तातो पानीमा पोचुँ मुछी । खुवा हालेर योमरी बनाई ।
साँझ खाने भयो भाइचाले यही योमरी । तर केहीबेरपछि फेरि बुहारी रोइकराइ गरेको आवाज आयो ।
'भूतले योमरी पनि खाइदियो । एउटा पनि योमरी बाँकी छैन ।'
भाइचा दिक्क भयो । सराप्न थाल्यो आफ्नै बाउलाई । रुँदै भन्यो, 'ए बा, किन यस्तो गरेको ? मर्ने बेलामा मैले योमरी पनि खान नपाउनु ?'
भिाइचाको शरीर दिनदिनै क्षीण बन्दै थियो । चार पाँच दिनमै उसको अनुहार सपक्क भइसकेको थियो । गोरो रोगनको भाइचा निख्खर कालो भइसकेको थियो । शरीरमा एक थोपा पनि रगत नभएको जस्तो भएको थियो । अस्तिसम्मको खाइलाग्दो भाइचा क्रमशः हाडछालामा परिणत हुँदै थियो । उसलाई हेर्दा मलाई लाग्थ्यो, ऊसँगै म पनि मर्दै गइरहेकी छु । म पनि गल्दै गइरहेकी छु । मेरो शरीर पनि क्षय हुँदै गइरहेको छ ।
कति दुःख कष्टले भाइचालाई हुर्काएँ भन्ने कुरा मलाई नै थाहा छ । न घरकाले साथ दिए, न माइतीले । एक्लै हुर्काएँ भाइचालाई । आफैँले बारीका डल्ला फोर्थेँ । आफैले सागपात रोप्थेँ । आफैँले गर्थेँ गोडमेल । आफैँ बोक्थेँ खर्पन । असनमा उभिएर आफैँ बेच्थेँ सागपातहरू । त्यसैले गुजारा चलाउँथें । तर कुनै कुराको कमी हुन दिइनँ भाइचालाई । उसले जे जे माग्यो, त्यही त्यही पुर्याइदिएँ । कति जिद्दी थियो भाइचा ।
पोहर त हो भाइचाको बिहे गरेको पनि । बल्ल बुहारी दुई जीउकी भएकी छ । म पनि पैँसट्ठी वर्षकी भइसके । सुगर छ मलाई । बाथको रोग पनि छ । कैलेकाहीं वामे सरेर हिँड्ने गराउँछ बाथले मलाई । हातखुट्टाका जोर्नीहरू अहिले नै फुट्छन् कि जस्तो गरी दुख्छ कैलेकाहीँ । सुगरले हानेर दाहिने आँखाको ज्योति गुमेको छ । ब्लडप्रेसर पनि छ मलाई । दमले पनि बेलाबेलाम दुःख दिन्छ । मकै भटमास खाएजसरी औषधि खानुपर्छ मैले । बेलाबेलामा पिसाबमा पनि खराबी देखापर्छ । डाक्टरले त अस्ति नै पनि भन्दैथ्यो, 'मा, तपाईँको किड्नीमा पनि खराबी छ । अमिलो, चिल्लो, पिरो पटक्कै नखानुस् ।'
मलाई आफ्नो ज्यानको माया हैन । केही वर्ष भाइचाको उज्यालो मुहार हेर्न मन थियो मलाई । नातिनातिनालाई काखमा नखेलाई त के मर्नुजस्तो लाग्थ्यो मलाई । त्यसैले मलाई बाँच्न मन थियो । डाक्टरले भनेको मानेकी थिएँ मैले । अमिलो, पिरो, चिल्लो त खानै छाडिदिएकी थिएँ । मासु नखाएको कति भइसकेको थियो । गुठीको भोजमा पनि दही चिउरा खाएर र्फकन्थेँ । तरकारी पनि उसिनेर खान्थेँ । बाँच्ने मोहमा मैले गरेकी थिएँ यो सबै । भाइचाको उज्यालो मुहार हेर्न गरेकी थिएँ मैले यो सब । नातिनातिनालाई काखमा राखेर खेलाउनका लागि गरेकी थिएँ मैले यो सब । अब त यस्तै खाने बानी नै भइसकेको थियो । आफन्तहरू भन्थे, 'भाइचाकी आमा, शाकाहारी खाँदाखाँदा थलीकी बाहुनीजस्ती भइसकी हाम्री नानीछोरी ।'
यी नानाथरीका कुराहरू सम्भिmरहेकी थिएँ म । भाइचा कराएको आवाज आयो, 'मा, मलाई थलथले खान मन लाग्यो ।' बुहारीले राँगाको खुट्टाको थलथले बनाई । रातभरि जमाउनका भान्सामै छाडिदिई । एकाबिहानै भान्सामा पस्दा ऊ फेरि कराई, 'थलथले पनि भूतले खाइदियो ।'
मिाताले यसपटक अनौठो कुरा गरिनँ ।
'तिमीहरूको घरभित्र सय वर्ष पुरानो भूत बसेको छ । तिमीहरूले कति वर्षदेखि गथँमुगको दिन घरको मूलढोकामा फलामको तीनखुट्टे किलो पनि गाडेका रहेनछौ ।'
'तर पहिला त यस्तो कहिल्यै हुँदैनथ्यो माता ।', बुहारीले आँखाभरि आँसु पारेर सोधी ।
माताले त्यो भूतको इतिहास बताइन् ।
'सय वर्षभन्दा पनि अघिको कुरा हो । भाइचाका बाका पनि बराजुहरूको खेतीपाती प्रशस्त थियो । खेत धेरै भएकोले आफैँले मात्र रोपाइँ गर्न सक्दैनथे । त्यसैले त्यति बेलाका मान्छेहरूले तन्त्र साधना गरेर मान्छेमा भूत चढाउँथे र त्यही भूतले सबै रोपाईँ सजिलै गरिदिन्थ्यो । रोपाइँको काम सकिएपछि फेरि तन्त्रमन्त्र गरेर गठेमंगलको दिन भूतलाई धपाएर पठाउनुपथ्र्यो । तर भाइचाका बाका बराजुले भूत भगाउन बिर्सिए । त्यो भूत आजसम्म पनि तिमीहरूको घरमा बसेको छ । कति वर्षदेखि निदाएको त्यो भूत फेरि जागा भएको छ ।'
माताले अनेक अनेक किसिमले फुकफाक गरेर धुपहरू दिइन् । साँझ बुहारीले घरभरि धुप बाली । उसलाई अब भने भूत भाग्छ भन्ने विश्वास थियो । साँझ भाइचाले फेरि भन्यो, 'मलाई पिरो कचिला खान मन लाग्यो ।'
बुहारीले कचिला तयार गरी । भाइचाका लागि किलागलबाट अयला लिएर आउँछु भनेर घरबाट निस्की ऊ । यता भाइचा भने बेहोसीमा बर्बराउँदै थियो, 'स्वर्गबाट पारिजातको बिरुवा लिन पशुपति देवपत्तनमा आएका छन् राजा इन्द्र । तर चिनेनन् कसैले राजा इन्द्रलाई । चोर भन्ठानेर पाता कसेर काठको थाममा बाँधेर राखे । मैले सुटुक्क राजा इन्द्रलाई बाँधेको डोरी फुकालिदिएँ । राजा इन्द्र मुक्त भए । स्वर्ग गए तिनी । अब म मरेपछि सोझै स्वर्ग जान्छु । मलाई लिन आउँछन् स्वर्गका राजा इन्द्र ।'
िि ि
किलागलतिर अयला लिन गएकी बुहारी खै किन हो, एकैछिनमा फर्किहाली । अयला नलिएरै । अचानक । सरासर भान्सामा आई । ढोका यसो खोलेकी मात्र के थिई, ऊ छक्क परी । ढुङ्गोजस्तो भएर उभिई ऊ ढोकामा । उसको अनुहारबाट चमक हरायो । शरीरमा एक थोपा रगत नभएझैँ पहेँलै भई ऊ । टौदहझैँ जलमग्न भए उसका आँखा । बग्न थाल्यो उसको आँखाबाट त्यही टौदहको पानी । उसले आज आफ्नै आँखा अगाडि देखी भूतलाई । भाइचाको लागि तयार गरेको छोयला, योमरी र थलथले सुटुक्क खाइदिने भूतलाई ।
र मेरा आँखाबाट पनि अचानक खसे बलिन्द्रधारा आँसु । पिरो कचिलाको अन्तिम गाँस मुखमा हाल्नुअघि मेरो मुखबाट यति मात्र शब्दहरू निस्किए—
'बुहारी, चिल्लोपिरो नखाएर केही दिन बढी बाँच्छ भने मेरो छोरो बाँचोस् । भाइचा बाँचोस् केही दिन । बरु यो खाएर म मर्छु भने, मै मरिदिन्छु । यो घरमा भूत छैन बुहारी । मै हुँ त्यो भूत । आमाको मायाले मलाई भूत बनायो बुहारी ।'
बुहारी थचक्कै ढोकैमा बसी ।
तर म भूत होइन, आमा हुँ भन्ने थाहा छ बुहारीलाई ।
रिाजा इन्द्र स्वर्गको सुनको सिंहासनमा बसेर मुसुमुसु हाँसिरहेका थिए । राजा इन्द्रलाई पक्कै थाहा हुनुपर्छ, उनलाई धरतीका मान्छेहरूले पाता कसेर राखेको बेलामा मेरो छोरो भाइचाले नै मुक्त गरिदिएको थियो ।
इन्द्रलाई थाहा छ ।

No comments:
Post a Comment