Wednesday, 24 July 2013

अर्थतन्त्र धान्नेहरुको अपमान चै किन त ?

यो मेरो आफ्नै अनुभव हो । तर जहाँसम्म मैले मेरा साथीहरुको अनुभव सुनेको छु, यो सबैको अनुभव हुन सक्छ । हामी सबैले भोग्नु पर्ने साझा समस्या र साझा उपेक्षा हो यो । म अर्थात खाडीको एउटा देशको कामदार । म जस्ताको संख्या निकै ठुलो छ, जो पसिना र रगत बगाएर खाडीबाट केहि पैसा कमाएर ल्याउछ आफ्नो मुलुकमा । पैसाको भाषा बुझ्नेहरुलाई पैसाकै तथ्यांक देखाउँन चाहान्छु । तथ्यांक अनुसार विदेशमा काम गरेर नेपालीहरुले हरेक बर्ष करिब २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउँछन् । तर तिनै नेपालीहरु जब घर फर्किन्छन्, एयरपोर्ट ओर्लेपछि देखि नै नसोचेको उपेक्षा, हेला र अपमान पाउँछन् ।

सबैलाई थाहा छ, हामी विदेशीनु बाध्यता हो । परिवारसँग रहेर रमाएर बस्नु पर्ने उमेरमा विदेशीनु र विदेशी भुमिमा रगत पसिना एक गरेर केहि पैसा कमाउँनु पक्कै पनि सजिलो काम हैन । देशमा नै केहि गर्न पाए किन विदेशिन्थ्यो र कोही ? तर विदेशमा बसेर आफ्नो भुमि फर्किनुको खुसीमा किन एयरपोर्ट देखि नै आगो झोस्न थालिन्छ ? मरुञ्जेल काम गरेर केहि पैसा कमाएकाहरुलाई किन मुर्गा मानिन्छ ? हो, तथ्यांकले नेपालीहरुले बाहिर गएर धेरै कमाएको देखाउला तर एउटैले त कमाउँने होइन नि सबै, किन एउटै गरिबबाट सबैले लुट्न खोज्छन् ?

विदेशीनु रहर त पक्कै नहोला
गाउँघरतिर अहिले जवान तन्नेरी युवायुवती सायदै होलान् । जति छन् अधिकतमले कुनै न कुनै विदेशी भुमिका लागि रगत पसिना बगाउँन एप्लाइ गरेर बसेका होलान् । बाँकी रहेका कति फेरि फर्किने शर्तमा केहि दिनको बिदामा बसेका होलान् । विदेश नै नगएका वा जान एप्लाइ नगरेकाको संख्या एकदमै कम छ । पढेकाहरुको जिन्दगीमा केहि परिवर्तन देखिदैन गाउँघरमा । बरु उमेर बढाएर सकेसम्म बाहिरिनेहरुको संख्या बढ्दो छ ।
झट्ट हेर्दा त विदेश जाने, केहि पैसा कमाएर आउँने । नेपालको अस्तव्यस्तताबाट पनि मुक्ति, लोडसेडिङको तालिकाबाट पनि मुक्ति । विदेशी भुमिमा रमाएको पनि देखिएला । कहिले समुद्रका किनारामा खिचेका फोटोहरु फेसबुकमा अपलोड गरेको देखिने, कहिले अग्ला भवन र सफा सडकको छेउमा शानले उभिएर खिचेका फोटोहरु अपलोड हुने फेसबुकमा । ‘मोज छ तेरो’ साथीहरुले प्राय गरिरहने कमेन्ट देखिन्छ फेसबुकहरुमा । तर भोग्नेलाई थाहा हुन्छ, विदेशको भुमि पक्कै पनि रहरलाग्दो धेरै समय हुदैन । जस्तो भएपनि आफ्नै देश प्यारो । भनाई नै छ नि, पोले पनि घामै राम्रो, पिटे पनि आमै राम्रो । देशमा अलिकति मात्रै सम्भावना देखिदो हो त सायदै जान्थ्यो कोही विदेश कमाउँन ।
जान पनि सजिलो छैन, ठाउँ ठाउँमा ठग्न बसेका छन् सबै
पक्का बिमाका कुरा छैनन् । आधिकारिक र विश्वासिला मेन पावर कति छन्, बुझिसक्नु छैन । अनेक किसिमका विज्ञापनहरु आउँछन् पत्रपत्रिका र कति टिभीहरुमा । यस्तोमा अल्मलिनु सर्वसाधारणको लागि अस्वाभाविक हैन । राज्यले यी सबै कुराहरुलाई व्यवस्थित गरेको छैन । मात्र विभिन्न कर र भोलीको सजिलो लागि भन्दै अनेक रसिदहरु थमाइन्छन् राज्यबाट । तर दुर्घटनाले बितेका नागरिकको लास पनि ल्याउँन तदारुकता देखाउँदैन राज्य।


विदेश जानु भनेको कुनै कामका लागि विदेशी कम्पनीबाट बोलावट आउँनु र भिसा लाग्नु मात्र हैन । बिमाका कुरा, सहि मेन पावर कम्पनीसम्म पुग्ने कुरा, राज्यले विभिन्न रसिद थमाउँने कुरा सबै आउँछन् । यो अवस्थामा ठगिमा परेर बचेर विदेशी भुमिमा पुग्ने कुरा जोडिएर आउँछन् । यसमा कति पटक एयरपोर्ट पुग्दै फर्किने अवस्थाका बारेमा लेखिएको छैन । ति अवस्थामा पनि धेरै जना परिन्छ । म आफै पनि परेको छु ।
मुलुक फर्किदाको पीडा पनि कम छैन
नेपालमा विदेशीहरुले भित्र्याउँने लगानीभन्दा विदेशबाट नेपालीहरुले पठाउँने रकम करिब पाँच गुणाभन्दा धेरै हुन आउँछ । रेमिट्यान्सबाटै नेपालको अर्थतन्त्र धानिएको छ भनिन्छ तर हामी विदेशी भुमिका कामदार दाजु भाइ, दिदी बहिनीहरुलाई कुकुर सरह व्यवहार किन गरिन्छ ? म बिदा लिएर दुई बर्ष पछि नेपाल फर्किदै थिएँ । साँझपख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए खाडीबाट । लाइनमा बसे चेकजाँचका लागि । तर त्यहाँ पालो आएर अगाडी पुग्दा आफुलाई अपराधी भएझै महसुस गरेँ । एयरपोर्टका कर्मचारीले नानाथरी प्रश्नहरु बेइज्जत गर्दै सोधे । उनीहरुको व्यवहार सकेसम्म मलाई अफ्ठ्यारोमा पार्न खोजे झै लाग्थ्यो । ‘कहाँ काम गर्छस् ?’ ‘घर कहाँ हो ?’ ‘अब कहिले फर्किन्छस् ?’ ‘कति पैसा कमाइस् ?’ ‘के के सामान ल्याइस् ?’ आदि आदि । उनीहरुको सम्बोधन र केरकार गर्ने तरिका सभ्य पनि त हुन सक्थ्यो नि, हैन र ?
बल्लतल्ल बाहिर निस्किएँ । रात परिसकेको रहेछ । ट्याक्सीवालहरु आएर छोपे । गोंगबु पुग्नलाई नै १५ सय दिनु पर्ने रे । दुई चारवटालाई सोध्दा पनि त्यही जवाफ पाएपछि यस्तै रहेछ भनेर चढेँ । गेस्ट हाउसमा पनि उस्तै ठगी । विदेशबाट ल्याएको टिभी घर लैजान गाडीमा चढाउँदा पनि उस्तै ठगी । मानौं म सबैले ठगेर पनि नरित्तिने कुवेर हुँ ।
मनमा लागेको कुरा
रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । यो सबै कमाई म जस्तै विदेशमा गएर पसिना रगत बगाउँनेको कुल आम्दानीको जोडफल हो । यदि यसो नहुदो हो भने पनि म लगायत यस्ता नागरिकहरुलाई राज्यले गर्नु पर्ने कर्तव्यहरु हुन्छन् नै । तर किन राज्य सँधै मौन रहन्छ ? कहिलेकाँही केहि गरे जस्तो त गर्छ राज्य तर किन केही प्रतिफल आउँने गरि केहि गर्दैन ? अलिक सजिला नियम बनाए के बिग्रन्छ ? एयरपोर्टमा कर्मचारीले मिठो बोले के नराम्रो हुन्छ ? सरकारी तवर मै यस्ता गेस्ट हाउसहरु सञ्चालन गर्नै सकिदैन ? मनमा यस्ता प्रश्नहरु आउँछन् । सायद आफ्नै मुलुकमा अपमानित हुँदाका पिडाहरु प्रश्न भएर उभिएका हुन् ।
नोट : यो ‘मन छोएको कुरो’ अन्तर्गत प्रकाशित लेख हो । हरेक हप्ता पाठकहरुको ‘मन छोएको कुरो’ यो स्तम्भमा प्रकाशित गरिन्छ । ठुला कुरा होइन, सामान्य कुराले पनि मन छुन्छ । यस्तै सामान्य कुराहरु जसले तपाईको मन छोएको छ, हामीलाई पठाउँनुहोस् । पुरै लेख लेख्न समय नभए बुँदागतरुपमा पठाए पनि हुन्छ । हामी त्यसलाई लेख बनाएर तपाईको नाममा प्रकाशित गर्ने छौं । तपाईले आफ्नो लेख  मा इमेल गर्न सक्नु हुनेछ  या म्यासेज गर्न सक्नु हुनेछ ।
indrakhadka123@gmail.com

No comments:

Post a Comment