Friday, 19 July 2013

मेरो वाल्यकाल,

                                                                मेरो वाल्यकाल,,,,,,बाटोको छेउमा सानो घर जुन असुरक्षित थियो र राति कुनै सुरक्ष्या थिएन र नै राति आएको चोरले आमाको कानको सुनको मुन्द्री चोर्छ र नाक लुच्छ. घरमा केटाकेटी थाहा पाउदैनन. आमा बुबा केहि खैलाबैला गर्नुहुन्छ सायद. यो कथा जस्तै मैले पछि सुनेको हो र आज फेरि मैले सोधे भने बुबा आमाले केहि प्रस्टपार्नुहुन्छ होला. म सानो थिए कतै चार वर्ष को वा त्यस्तै हुँला ठ्याक्कै भन्न सकिन. मैले आमाको दुध छोडेको थिइन मेरी बैनी जन्मिसके पनि रम सानो छदा मलाई मेरी आमा पछि मलाई स्तन पान गराउने एकजना छिमेककी बिस्वकर्मा आमै पनि सम्झिन्छु जुन मेरा लागि दुध खुवाउने दोश्री आमा भएकी थिइन र म खेल्दै तिनै आमै लाई एकदिन पछाडीबाट ढकेली दिएको थिए जुन सानै छदा पनि मलाइ नरमाइलो लागेको  थियो र आज सम्म पनि.
 
एकदिनको घटना मलाइ झल्झली आउछ ..मलाई डर लागि रहेको थियो त्यसैले म साँझ पारेर घर गएको थिए, झन्डै राती नै भएको थियो. अलि घरै नजिकै पुगेर मकै बारी मा लुकेर घरको चालामाला र खैला बैला सुन्ने विचार गरे. आमा बुबा दिदि बहिनीहरु र नजिकै मामा घरबाट कोहि मेरो बारेमा कुरा पो गरिरहेका छन् कि वा चिन्ता गरिरहेका छन् जान्नु थियो मलाइ. मलाई खोजेर मेरो अनुपस्थितिमा  ठुलो चिन्ता नलिए पनि निकै खैला बैला भैरहेको पत्ता लगाए तर म पनि घर गैहलने स्थितिमा थॆइन तर रात छिप्पिदै जादा मलाई मनमा कतै डर ले पनि सताई रहेको थियो. दिदि मामा घरतिर सोध्न जाने भनेर हिड्न आटेको थाहा पाए. मन मन मा चाही मलाई देखे त घर लगीहल्थी दिदिले र हप्की दप्की, गाली र आमाले अलि अलि चुटाइ त दिने हो नि भन्दै सोच्दै थिए. मैले गल्ति गरेको सजाय यो काफी थियो. हो ठ्याक्कै दिदि पनि अध्यारो मा मामा घरतिर लागि र म नजानिँदो पाराले देखिने तरखरमा थिए र भयो पनि त्यहि दिदिले मलाइ देखि र चिच्याई आमा भाइ त यहाँ पो छ त? लौ मरो अब मलाई आज अलि अलि चिउरा त मिल्ने नै भयो मन मन मा सोच्दै डराउन थालेको थिए. किन घर नआइ लुकेको भनेर दिदीले झपारी हाली, मेरो उत्तर मा मेरो गल्ति आफै भन्नु पर्ने थियो नत्र थाहा पौदैन थिए कसैले पनि र पछि फेरि आफै थाह पाउनेछन र धुलाई त पाइहालिन्छ भन्ने थियो. आमा बुबा अनि गर्दै सबैको अनपत्तको गाली सुनिरहेको थिए. अब मैले कुराको चुरो नखोली नै भएन र भने' आज स्कूल बाट फूटबल खेल्न लगेको थियो चौरीमा र मेरो नया जर्केट (ज्याकेट) को चेन बिग्र्यो अनि मैले मास्टर (शिक्षक) लाई पनि भने वहाले बनाउन खोज्नु भयो तर त्यो बनेन, आमा चेन बिग्रियो. यसै गरि भनिदिए किन भने त्यो नया ज्याकेट मलाइ आमाले अघिल्लो दिनमात्र मेरो घुर्क्याई बाट किनिदिनु भएको थियो र जतन गरि लाउने भए मात्र भनेर सर्त राख्नु भाको थियो, मलाई मन पर्ने ज्याकेट. यो सुनेर आमाले कराउनु भयो अनि त्यसकै कारणले घर नआएको? ल अनि येति सानो कुराले पनि घर नै छोड्नु पर्छ त ? मेरो अन्तर्मन मा प्रसन्नता को उज्यालो धिप धिप गरि सल्किन थालेको थियो तर दिदिहरु मेरो ओरिपरि घेरेर बसेका थिए र बुबा अलि पर बसेर हास्दै हुनुहुन्थ्यो

सायद. मलाई खान खान भन्नु भयो र ज्याकेट हेर्नु भएको थियो र भोलि त्यो बनाउन कोसिस गरौला भन्नु भयो र म अब आरामले खान खाने भएको थिए. बुबा यस्ता कुरामा रिसाएको मैले कहिल्यै थाहा पाको छुइन. नाथे कुरा बुबाको लागि. तर बुबा कैलेकाही सानै कुरामा पनि बेस्सरी रिसाउनु त हुन्छा तर आफ्नै कारणले हाम्रा कारणले हैन, वहालाई के कुरामा रिस उठ्छ मलाइ सानो हुन्जेल थाहा नै पाइन तर पछि भने थाह पाउथे कुनै बिनाकारण वहा रिसाउनुहुन्थ्यो र आमालाई भात खादा-खादै जुठो थालले हिर्काएको पनि मलाई याद छ तर त्यो नै सायद अन्तिम थालको झटारो थियो मैले थाहा पाउने भइकन, त्यसपछि  त मैले कहिल्यै देखिन. मेरी आमा कुनै गल्ति गर्ने महिला वा श्रीमती हो जस्तो मलाई कैल्यै लागेन र वहा त्यस्तो हुनुहुन्नथियो पनि. हामि सबै छोराछोरी बुबाका लागि नाथे थियौं र हामि साना पनि थियौं.
 

हामि भारतको अरुणाचल प्रदेश राज्यको डिस्ट्रिक दिबंग भेलीको  एउटा सानो गाउँ दलेशोर भन्ने ठाउमा बस्थ्यौं.कृषि नै मुख्य पेसा थियो. यो पूर्व आसम राज्य को सिमानामा पर्दछ. घर सानो थियो, खरले छापेको काठ र कतै-कतै बासको चिमले बारेको बेरा थियो. घर प्यारो थियो, किनकि घरको पूर्व मा हाम्रो नेपालि गाउँ (बस्ति) फैलिएको थियो पश्चिम घना जंगल थियो जहाँ गाउँ का सबै बस्तुभाउ को चरण थियो. जंगल रमणीय र बन्यजन्तुको बासस्थान पनि जहाँ धेरै जनावर हामीले देख्ने अवसर पाउथ्योउ. बिहान उठ्दा घामको पारिलो कहिले त कहिले न्यानो किरणले सरिर्लाई चुम्थ्यो. बहुतै अभुत्पुर्ब जिबन. येसरी नै मेरा बाल्यकालका मिठा अनुभव आज सम्झिन्छु. हुन सक्छ मेरा बा-आमा हरु जिबनको दुखद र दिक्क लाग्दो संघर्ष गर्दै हुनुहुन्थ्यो, वहा हरुलाई हाम्रो भबिस्यको, दिदीहरु को बिहे को, हात मुख जोड्नु, आंग ढाकिदिनु र सुरक्षित घरको लागि मन मा डढेलो नै थियो त्यो आज आएर मा सजिलै अनुमान गर्छु. मेरी आमालाई सबै भन्दा ठुलो पिर बुबाको कारणले हुन्थ्यो भन्ने पनि म सानो हुदखेरी नै पत्ता लगाएको थिए. आमा  बुबा को गैर जिम्मेवारी र अब्यवोस्थित चालामालाले दिक्क मान्नुहुन्थ्यो र रुनु पनि हुन्थ्यो. यो समयमा मेरा दिदिहरू र म पनि वहाको संवेग का साथि हुन्थ्योउ र सायद त्यहि कारणले आमाले कहिल्यै हार्नु भएन. त्यसबेलासम्म मेरा बुबा-अमाका सन्तानमा हामि पाँच जना थियौ जसमा मेरा तिन दिदि हरु र एक बहिनि थिई, भन्नाले मेरो तिन-चार बर्षको बाल्यकाल भन्दा अगावै म पनि ठुलो मान्छे भैसकेको थिए, मैले बहिनीलाई माया गर्न सिक्नुपर्ने थियो हुनत दिदीहरु र आम नै सबैको लागि काफी हुनुहुन्थ्यो रेख देख गर्न  

, सन्चो बिसन्चो र खाना खाएनखाएको सोध्न. मेरो बिद्यालय भर्ना पछि मलाई त मेरी ठुली दिदिले घरमा अक्षर लेख्न र चिन्न सिकाउथि तर आज म अझै सम्झिन खोज्छु मेरी दिदीले अक्षर कसरि र कहिले चिनेकी थिई भनेर. दिदि स्कुल गएको वा कसैबाट सिकेको याद छैन. अहिले सम्झिदा कि दिदीले आसाम मै घरमा वा बिद्यालय गएर सिकेकी थिई कि? हामि त्यहाँ दलेशोर मा पनि बसाइ सराइको क्रममा आसाम को नसाई भन्ने ठाउबाट आएका थियौ जुनबेला म नाबालक थिए. सोधेको पनि छुइन कसैलाई न आमालाइ न त दिदि लाइ नै दिदीको पढाइका बारेमा. अब मेरो पालो थियो स्कुल जाने, हुनत मेरा तिन दिदीमा ठुली त घरम सघाउने भइ र बिद्यालय जाने त कुरै भएन र अझै दुइ जना दिदिहरु थिए जसका बारेमा स्कुल जाने बारे कुरै भएन किन हो... मानौ त्यो सोच कसैको मनमा नै पसेन. मेरी माइली दिदि त झन् सानिमाकोमा बसेकी थिई सायद आमा संग कुरा गरेर लागिएको थियो सानुबुबा र सानिआमाले हुनसक्छ भाइ हरु हेर्न जुन नभनेपनि त्यस्तै- त्यस्तै घरमा सघाउछे भनेर, त्यहि भएर होला सानो छदा मेरी त्यो दिदि हाम्रीनै हो जस्तो कहिल्यै लागेन पछीसम्म उसलाइ मन काटिन्थ्यो होला, तर अहिले असाध्यै माया लागेर आउछ सम्झिदा अरु भन्दा छुट्टै खालको. हुन त मलाई मेरा सबै दिदि बहिनि हरु एउतै हातका पांच औला जस्तै लाग्छ मात्र कुनै लामा कुनै छोटा जुन बिना म खाना खान सक्दिन. आ-आफ्नो कर्म र क्षेत्र त भोग्नै पर्ने नियतिनै हो यो र नै उनीहरु त्यो परिबन्धमा बाधिएका छन्. मानौ कसैले उनीहरुलाई परिणति भोग्न राम्रो पाठ सिकाएको छ जसको राम्रो विकल्प अर्को पनि त छैन. अब दिनहरु त्यो सानो र हाम्रो लागि रमाइलो गाउ थियो. साथि संगी दिदीहरु, नजिकै मामाहरुको घर र अरू थुप्रै दाइ भाइ, दिदी बहीनीहरू। मामाहरूको घर जुन मेरी आमाका साखै दाइ भाइ नभएपनि हाम्रालागि वहाहरु आफ्नै मामा भन्दा कम थिएनन् र त्यो नै अन्तत हाम्रो आ-आफ्नै मावल भएको थियो. वहाहरु मध्ये एकजना मेरी आमा का काकाकै छोरा र अर्का येस्तै काका वा त्यस्तै हजुरबुबाका सन्तान बाट सम्बन्धित नै हुनुहुन्थ्यो थरि पौडेल. बुबाको निर्णय गर्ने कमजोरीको कारण  वहाहरु मेरी आमा का लागि सादर हुनुहुन्थ्यो. त्यो उदाहरण केहि घटना बाट पनि प्रस्ट हुञ्छम जुन बेला म छ सात बर्सको थिए मेरो हात भोगटेको रुख बाट खसेर जोर्नी खुस्किएको थियो र त्यो अलि गम्भीर भएकोले हाम्रो नजिकै रहेका अस्पतालमा लाग्ने कुरै थिएन र टाढा जानुपर्ने थियो. सायद मामाले भन्नु भयो लौ ठुली यो हात त खुस्किएपो जस्तो छ र यो अब लग्न गार्हो हुन्छ. अत्तल्लिएर मलाई खर्चको जोहो गर्दै आसमको दिब्रुगढ़ भन्ने सहर पुर्यौनुभाको थियो जुन मेरा बुबाको लागि एउटा फलामको चिउरा चपाउनु सरह नै थियो.

र त्यस्तै अरु थुप्रै छ जुन बिसेष त आमाका लागि बरदान नै भयो. हो त्यो आमाको भोगाइ थियो नितान्त अनि बुबा को लागि पनि कठिन नै थियो जिन्दगि किनभने त्यो बुबाको गल्ति भन्दा पनि कमजोरी वा बानि भएको थियो जानेर वा नजानेर. म त्यो ठ्याक्कै यसै हो भनेर भन्न सक्दिन किनकि जीवनका बेदना, भोगाइ नितान्त अन्तरिक हुन्छन एउटा कुराले सिङ्गै जीवनको आंकलन र मुल्यांकन गर्नु सहि हुदैन पनि जब सम्म सबै कुरा जस्ताको त्यस्तै कसैले बाढदैन. त्यसैले पाए भने म त्यो कतै उल्लेख गर्छु नै किनकि लेखाइको इमान्दारितामा त्यो पर्नुपर्छ. जिबन भोगाइ लाइ जस्ताको त्यस्तै लेख्ने जमर्कोमा मैले  धेरै पटक टुक्रे लेख लेख्दै च्यात्दै गरेको छु र कुनै त डाइरिनै हराएको पनि छ मेरो अव्यवस्थाका कारणले वा अव्यवस्थित बसाइ सराइका कारणले. अहो म अलिकति अन्तै मोडीएछु. बुबा त्यसबेलाको उफ्रिने डाक्टरी विद्या अध्यन मा बहुत रुचि राख्नु हुन्थ्यो भन्ने सम्झना छ, अनि शिक्षक त्यतै हुदो बहुत थिए बुबाका लागि र जुन मेरो लागि पनि रहर बनेको थियो केटाकेटी मै र म प्रतिको भाबिस्यबानी पनि त्यहि थियो. एउटा ठुले\लामा झाक्री\धामीले भनिदिए तेरो छोरो मा पनि २० (बिस) बर्षको हुदै डाक्टर हुने छाँट छ कसैको जुठो न ख्वाउनु भनेर, जसको परिणामले म मेरै आमा बुबा र दिदीहरुको जुठो खादै खन्न थिए जुन बेलामा जुठो खानु सामान्य हुन्थ्यो. गर्दै भन्दै म पछि सम्म कसैको जुठो खाइन र घिन लग्न थालेको थियो कसैको जुठो खानु भने पछी. हो येही कारणले पनि गृह कलह भएको भान हुन्छ मलाइ. बुबा को रहर बाउ छोरी जम्पिंग डाक्टर बन्ने. म यो सुनेर यिनै रहर मा धेरै पटक रुखका ठुला पत्ता लाठीले ठोक्दै धामी बस्थे जुन मैले गाउँ मा धेरै पटक देखेको थिए, लामो लुगा फनफनी घुम्दै मन्त्र फलाकेर उफ्रेको असाध्यै राम्रो लाग्थ्यो जसको अभिनय मेरो लागि प्यारो नै लाग्थ्यो तर आमालाइ  सायद दिक्क लाग्दो..  
   मेरो बिद्यालय नजिकै थियो र त्यो गाउको नितान्त नेपालिपनको स्कुल थियो जसको शिक्षक एकजना अधिकारि थिए जसले बंगाली बिहे गरेका थिए र हामि सबै बंगाली सर भनेर बोलौथ्यो. म त्यति राम्रो त सम्झिन सक्दिन किनकि त्यो लामो अतित हो मलाई मेरी दिदीहरुले र आमाले सुनाएको परीको र राजाको कथा जस्तो मात्र अलि अलि याद आउछ.मलाइ बिध्यालय जान अति गारो लाग्थ्यो, एक दिन एकजना छिमेकी को मकै बारीमा लुकेर स्कुल गैन र केटाकेटीमा समयको ख्यालै भएन र टिफिन ब्रेक भयो भन्दै घर गए. आमाले तेरो टिफिन हुने बेला त भएको छैन त भन्दा मैले जितेको थिए. किन भएन सधै येति बेलै त हो नि भनेर, र समय को राम्रो मापन त आम, दिदीहरु कसैलाई थिएन. हुन त म घरमा साड़ा नै थिए. खाना खाएर राम्रो पढ्नु भन्दै पठाउनु भएको थियो तर म फेरि जाने ठाउ त त्यहि थियो जहाँ मैले बिहानभारी खोक्दै झोला लुकाएको ठाउँ. सायद मकै बारीको चिसोले होला मलाई खोकी लागि रहेको थियो र नै ति छिमेकीले चाल पाएर मलाई च्याप्प पारिहाले. तलाई हेर अब घरमा तेरा मास्टर आएका छन् र आमा बुबा लाइ भेटेर त बिद्यालय नगएको कुरा सुनाइदिये र खोज्दै छन्. म त अक्क न बक्क भए र रुला झैँ गरि घोसे मुन्टो लगाइरहे. तिनले मलाइ समातेर घर पुर्याएका थिए. मलाइ यिनै कुराले दरो गाली परेको थियो पालै पालो सबैको. आमाले कुटुला झैँ गरि झपार्नु भयो. अब घरमा त जेन तेन टरेको थियो तर सबै भन्दा बढी डर अनि लाज भने मलाइ मास्टर र साथीहरु को थियो. अब बित्यासै पर्ने भयो, घरबाट कुरा नफुस्के त ठिकै थियो, तर यो लुक्ने कुरै थिएन, मैले त सबै सामना गर्नै पर्ने थियो. कुटाइ खाइयो, गालि पनि र झन् साथीहरुले अलि अलि मसला थपेर पोल पनि लगाइदिए. मलाइ स्कुल प्रति बितृष्णा नै पलाएको थियो त्यतिबेला. म स्कुल जानु भन्दा दिदीहरु र दाइ हरु संग गाइ गोरु लिएर नजिकैको जंगल म जान रहर लाग्थ्यो जहा सिस्नो ले र मोरंगेले पोले पनि पानि आउदा ओत बनौथिउ, गटी खेल्थ्योउ, कहिले कहिँ जंगलमै कन्दमुल खंथिउ र जंगली जनावर हेर्थिउ. मलाई याद छ एक दिन हाम्रो अलि परबात लामो लामो सिङ्ग भएको हरिण कुदेको अनि हाम्रो घरको कोरली गाइ लाइ बाघले घिच्रोमा चोट पुर्याको जुन रात भरि छटपटाएर बिहान उठ्दा मरेको थियो. पशुले पशु भन्दा मान्छेलाई एस्तो पीडाको बेला सम्झिन्छ भन्ने कुरा मलाई यो घटना बाट थाहा भयो किनकि त्यो गाइ रात भरि घरको धोका मा आएर सहारा मागेको थियो, हुन त बाध्ने घाटिनै चिथोरेकोले र रगत्पछे भएको ले त्यसलाई खुल्ला छोडिएको थियो. र फेरि त्यो बेदना देखेर ढोका खोलिदिएका थियौ.
 त्यसबेला पशुको लागि कुनै दबाइ पानि र डाक्टर को व्यवस्था थिएन. हुन त यो घटना कुनै नया थिएन त्यो बस्तीमा र न हाम्रो घरमा नै, त्यसै गरि फेरि अर्को सानो बाछी पनि त्यस्तै सिकार भयो पछि. हुन पनि विकल्प नै थिएन जहाँ हामि मान्छेको नै त्यति सुरक्षा थिएन. बाख्रा र कुखुरा त धेरै पलायन हुन्थे मान्छेले हैन यिनै जंगी जनावरले. यी सारा कुराले पनि मलाई कहिल्यै डर लागेन जंगल जान बरु स्कुल चाही अलि भयानक नै लाग्थ्यो.  येसरिनै बितेका दिनहरुको टुक्रा टुक्रा मिलेर एउटा पूर्ण जीवन बन्दो रहेछ. कसैले पूर्ण जीवन भन्दा प्रश्न गर्छन होला कि तेरो जीवन येसैलाई पूर्ण ठान्छास? हो सफलता असफलता ले जीवन पूर्ण र अपूर्ण ठान्नेहरु लाइ यो अप्रिय लग्छ नै तर यो समय संगै रंगिएको अक्षर मात्र हो, जीवन जन्मनु सुरु हो भने क्रमस बालक, बयेश्क, प्रौढ हुदै बृद्ध हुनु बिकास क्रम र अन्त्यमा मृत्यु एउटा अन्त्य वा पूर्ण हुनु,  जुन प्राकृतिक नियम हो. यो नै स्थापित नियम हो जुन अकाट्य हो र यो पेरिफेरी मा जीवन जिउने मान्छे कहिल्यै हार्दैन वा केहि गर्ने लक्ष्य हुनेले पनि यो मन्त्र लाइ समाएर अघि बढो भने अवस्य असफलता वा हारमा जीवन गुमाउनु वा नैरास्य हुनु पर्दैन. ठुलो आसा र सपनामा जीवन जिउनु मेरो अर्थमा निरर्थक छ किनकि अहिलेको अशान्ति को कारक नै यहि हो. यहाँ शान्ति खोज्नु भन्दा मान्छे अहिले पैसा खोज्दै आत्मा केन्द्रित भएको छ मानौ अरु उसका जिबनका तत्व नै हैनन् र जीवन अनन्त यात्रा हो जुन अन्त्य नै हुन्न.. उफ यो भ्रम मा मान्छेले ठेस नखाउञ्जेल कुदिनैरहंछ जब सम्म उ आफै वा उसले महत्व राखेका व्यक्तिले पालैपालो साथ् छोडदै जादैनन् र जब रात्रिको यात्रा मा जीवन बीट मारिदैजान्छ  अनि बिचलित हुन्छ. हो यो पाठ सानै कतै सिकाउनु पर्ने हो सबैलाई. अरुको पिडा मा हाम्रो आँखामा आएको आसु मात्रले  पनि मानबिय भावना जागृत गराउछ भन्ने कुरा मान्छेले बुझ्न छोडेको छ. मान्छे  पैसा र सहयोग सक्नेले दिन्छ तर आत्मियता पैसा नहुने तर भावना र मानबियता बुझ्नेले मात्र दिन सक्छ जुन समाज को खाचो यहाँ परिरहन्छ अब. अर्थ सहयोग अब पहुच र सानको बिसय बन्दै छ मानौ यसले कसैको नाक ठडयौन मदत गर्दछ र नै दिन्छ...जे होस् येसैको आडमा यहाँ लक्षित व्यक्ति वा समुदायले सहयोग त पाउछ भनेर म पनि आफै चित्त बुझौछु.  बाकी पर्तिक्छा  गर्नु होला 

No comments:

Post a Comment