नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचर ले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर तयार पारेका हुन्। फिचरमा एउटा पात्र छ गणेश विश्वकर्मा। भर्खर १६ वर्ष टेकेका। दाङका गणेशलाई म्यानपावर एजेन्टहरुले राम्रो काम र पैसा पाइन्छ भन्दै लोभ्याएपछि ऊ कतार जान कस्सिन्छ। पैसा त थिएन तर सपना थियो, फर्केर आएर आमाका लागि एउटा राम्रो घर बनाइदिने। ३६ प्रतिशत ब्याजमा डेढ लाख ऋण लिएर उड्छ कतारतिर। दुई महिनापछि फर्कन्छ। तर काठको बाकसमा- शवको रुपमा !
औसतमा हरेक दिन तीन/चार वटा शव यसरी काठको बाकसमा आउने गर्छ। गार्जियनको शब्दमा ती विश्वकै सबैभन्दा गरिब र सीमान्तिकृत व्यक्तिहरु हुन् जो कतारमा दुर्व्यवहार र शोषणमा परेर जीवनै गुमाएर यसरी फर्कन्छन्।
ल अब तपाईँ सोच्नुस् कसरी १६ वर्षमै उनी कतार पुगे त ? किन नपुग्नु ! सेटिङ छ नि। दलालले उनलाई नक्कली पासपोर्ट बनाइदिए जसमा उनको उमेर २० वर्ष लेखिएको थियो। कतार जान नियमानुसार लाग्ने रकम ७० हजार मात्रै हो। तर दलालले बढी पैसा ठटाएपछि कूल खर्च लाग्यो डेढ लाख। त्यो पनि ३६ प्रतिशत ब्याजमा !
तपाईँहरुलाई थाहा छँदैछ कतारले सन् २०२२ को विश्व कप फुटबल आयोजना गर्दैछ। त्यसका लागि भौतिक निर्माण कार्य हुँदैछ। त्यस्तो चर्को घाममा उनीहरु काम गर्छन् तर शोषणमा। भाग्छन् भन्ने डरले पाउनु पर्ने तलब पनि नदिने रहेछन्। अनि पासपोर्टसमेत जफत गरेर राख्दा रहेछन्।
स्वार्थीहरु ! उता नेपाली कामदारको घरतिर लिएको ऋणको ब्याज चढेको चढ्यै। लुसेल सहरका कामदारहरुले त महिनौँ भयो तलब नपाएको भनेर भनेछन्। एउटा समूहले आन्दोलनै गरेछ तलब पाउन।
पत्रिकालाई एक नेपाली कामदारले बताएका छन्- स्थिति यति खराब भइसक्यो कि हामीले हाम्रो तलब माग्न तीन चार चोटी आन्दोलन गरिसक्यौँ। हामीले हामीलाई काममा लाने बसको साँचो चोर्यौँ ताकि उनीहरुले हामीलाई जबर्जस्ती नलगून। हामी पुलिसकहाँ पनि गयौँ तर उनीहरुले हामीलाई सहयोग गर्न अस्वीकार गरे।
हेर्नुस् त कति दुःख !
दोहाबाट पश्चिमतिर रहेको एउटा धुले औद्योगिक क्षेत्रमा दशौँ हजार मानिस ५० डिग्रीसम्मको घामको रापमा पोलेर १२ घण्टा काम गर्दा रहेछन्। तर ठेकेदारले पानीको सम्म व्यवस्था गरेको रहेनछ।
दिनमा मात्र सास्ती भन्ठान्नु भएको? रात उनीहरु सनाया औद्योगिक केन्द्रमा फर्कन्छन् जहाँ धेरै मान्छे बस्छन् र साह्रै फोहर। ६०० मान्छेलाई जम्मा दुई वटा भान्सा। त्यसमा पनि लामखुट्टे, साङ्ग्ला र उडुस। खानामा झिङ्गा।


कतारमा पस्नलाई मात्र हैन कतारबाट बाहिर निस्कन पनि अनुमति चाहिन्छ। एक्जिट पर्मिट भनिन्छ कतारबाट बाहिर देशमा जान चाहिने अनुमतिलाई। गार्जियन पत्रिकाले नेपाली दूतावासको साँघुरो कोठामा उद्दारको प्रतीक्षामा बसेका दर्जनौँलाई भेटछन्। २५ वर्षका वीरबहादुर लामाको भनाई- “दुई वर्षको सम्झौता सकियो। मैले मलाई घर जान देऊ भनेँ। उसले एक्जिट पर्मिट इस्यु गरिदिन्छु भन्दै झुलाइरह्यो। गएको वर्ष मेरो मालिकले मलाई अर्कै मान्छेलाई बेचेछ। उसले म अनडकुमेन्टेड भएको थाहा पाएपछि निकालिदियो। अब मेरो एउटै विकल्प पुलिसकहाँ आत्मसमर्पण गर्नु हो। उनीहरुले मलाई डिपोर्ट गर्लान् भन्ने आशा छ।”
महिनौँसम्म तलब नदिएपछि एउटा ठूलै समूह दूतावासमा शरण लिएर बसेको छ। उनीहरुका मालिकले एक्जिट पर्मिट दिन मानेनछन्। १० महिनासम्म काम गरेवापतको तलब नपाएको भन्ने रमेश कुमार विश्वकर्मा भन्छन्- “हामी आफ्नो पैसा छाड्न चाहन्नौँ। तर यहाँ बसेर ज्यान जोखिममा हाल्नु ठीक छैन। हामीलाई टिकट र पासपोर्ट दिए पुग्छ। हामी जतिसक्दो चाँडो यहाँबाट जान चाहन्छौँ।”
फेरि गणेशतिर फर्कौँ।

कतार पुगेको ६ हप्तामै ह्रदयाघात भएर मरेको भनियो परिवारलाई। चिताको आगो दन्केर कमसम्म भएको थिएन, गणेशको बुबालाई ऋण कसरी तिर्ने भन्ने पिरलोले सताइसक्यो। धनी मान्छे बन्ने सपना बोकेर गणेश कतार लम्किएको थियो, तर सुको आएन उताबाट पैसा। उनलाई ऋण कसरी तिर्ने थाहा छैन। छोरा मर्यो भन्दैमा साहुले छाड्दैन भन्ने चाहिँ उनलाई राम्रैसँग थाहा छ। कतारको चाहिँ उनी अब नाम पनि सुन्न चाहँदैनन्।
हेर्नुस् गार्जियनले बनाएको भिडियो-







No comments:
Post a Comment