Monday, 23 September 2013

बिदेशी कामदारका लागि कतारमा सुपरमार्केट खुल्दै

grand-mallदोहा । नेपाल लगायतका देशबाट गएका एकल विदेशी कामदारका लागि लक्षित गर्दै कतारको राजधानी दोहामा बहु प्रतिक्षित व्यापारिक तथा मनोरञ्जन कम्प्लेक्स संचालनमा आउने भएको छ । कतारमा पहिलोपटक एकल विदेशी कामदारका लागि खोल्न थालिएको उक्त सपिङ तथा मनोरञ्जन मल अक्टोबरको पहिलो सातादेखि संचालनमा आउने बताइएको छ ।
पहिलो चरणमा यो परियोजना अन्तरगत कम्प्लेक्स भित्र हाइपरमार्केट हुनेछ । सन् २०१४ को मध्यदेखि यो कम्प्लेक्स पूर्ण सुविधामा संचालित हुनेछ ।दोहाको औद्योगिक क्षेत्रस्थित वेस्ट इण्ड पार्कमा रहेको ग्राण्ड मल हाइपरमार्केट नामको यो मल खासगरी भारतीय, पाकिस्तानी, नेपाली, श्रृलंकाली तथा बंगलादेशी र दक्षिणपूर्वी एसियाली देशका कामदारलाई लक्षित गरी संचालनमा आउन लागेको हो ।
कतारी अनलाइन समाचार पेनिन्सुलाका अनुसार १ लाख ३ हजार वर्ग मिटरमा फैलिएको यो मलमा विभिन्न खाले व्यापारिक तथा मनोरञ्जनात्मक सेवा तथा सुविधा उपलब्ध हुनेछ । जसमा रेष्टुरेन्ट, गहना गृह, पसल, औषधी पसल, स्टुडियो, सैलुन, मोबाइल पसल लगायतका समेत हुनेछन् । दुबइमा रहेको रिजेन्सी ग्रुपको व्यवस्थापनमा रहेको उक्त मलका मार्केटिङ प्रमुख मोहम्मद जबिरका अनुसार त्यस कम्प्लेक्समा ७० प्रतिशत सम्म ग्राहक उल्लेखित देशका एकल कामदार हुनेछन् ।
यो कम्प्लेक्सभित्र छिर्नका लागि ७ वटा गेट उपलब्ध हुनुका साथै यसभित्रको पार्किङमा ३२ सय वटा गाडी अट्छन् । कम्प्लेक्समा फोर डी स्कृनको सिनेमा हल हुनेछ र त्यसमा ५ सय सिट क्षमता रहनेछ । हलमा खासगरी भारतीय, नेपाली तथा फिलिपिनो चलचित्रहरु प्रदर्शन गरिनेछ । साथै त्यहाँ एक सांस्कृतिक रंगमंच समेत हुनेछ जहाँ विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ । यो सुपरमार्केट खुलेपछि नजिकका औद्योगिक क्षेत्रका आप्रवासी कामदारले मनोरञ्जन, घुमफिर र खेल तथा सांस्कृतिक कार्यक्रमका लागि उपयुक्त अबसर पाउनेछन् ।

No comments:

Post a Comment