Thursday, 1 August 2013

रंगीन कथा


तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन पर्‍यो । मैले उसलाई खुशी बनाउने उद्देश्यले भनिदिएँ । मलाई मसाज कस्तो हुन्छ, थाहा नै थिएन । थाइ मसाज अनि थाइल्याण्डको पटायामा गर्नुको अनुभब लिनको लागि मेरो साथी अनुजको करले पहिलो पल्ट भारी खुट्टाहरु लिएर छिरेको थिएँ म मसाज सेन्टरमा ।

थाइल्याण्डको पटाया, रंगिन शहर, अझ भनौं रंगिन चाहनेहरुको शहर । वाकिङ्ग स्ट्रिटको उज्यालो अनि चमक धमकले एकछिन त मलार्इ अलग्गै ग्रह, अलग्गै संसारमा पुगे झैं महशुस भएको थियो । मेरो साथी अनुजलाई वाकिङ्ग स्ट्रिटको गतिविधि नौलो थिएन त्यसैले उ मलाई आफ्नो अनुभव सहित वाकिङ्ग स्ट्रिटको बिशेषताहरुको बर्णन गरिरहेको थियो । पटाया अनि समग्र बैंकक को बारेमा मलाइ यो भन्दा अगाडि नै मेरा दुई अनुभवी साथीहरुले बताईसकेका थिए । उनीहरुको वर्णनमा थाइल्याण्डको परिचय खुल्ला यौन र छाडापनमा मात्र साथीहरुले सीमित गरिदिनु र वाकिङ्ग स्ट्रिटको बत्तिहरुले पनि सोही परिचय प्रदान गर्नुले म अलि अन्यौलमा परिरहको थिएँ । फेरि पनि मेरो विवेकले भन्दैथियो कि कुनै सानो क्षेत्र, वर्ग र पेशा मात्र थाइल्याण्ड हैन, थाइल्याण्डमा यौन र छाडापन बाहेक पनि धेरै कुरा छ ।

वाकिङ्ग स्ट्रिटमा रहेको सानो मसाज सेन्टरमा थाइ मसाज गरिरहँदा मलाई मेरो शरीरमा नरम हात दौडाइरहेकीसँग थाइल्याण्डको बारेमा थप जान्ने इच्छा भयो साथै खुल्ला र सजिलो भनिएको यौनको बारेमा पनि जान्ने इच्छा भयो । मैले फेरि दोहोह्राएँ । तिम्रो नाम के हो ? उसले फेरि पनि नाम बताइन, बरु मेरो थेप्चो र नेप्टो नाक देखाउँदै अर्को बेडमा मसाज गर्दै गरेकी उसकी साथीलाई खै के के हो के के भनी । अन्तिम बाक्य चैँ मैले बुझ्ने नै थियो ‘सेम सेम’। मैले उसलाई के भनेको भनेर सोधेँ । मेरो नेप्टो र थेप्चो नाकले गर्दा म पनि उनीहरु जस्तै देखिन्छु रे भन्दै हाँसेकी रैछ । मैले फेरि नाम सोधेपछि भने उसले आफ्नो नाम बताई धेरै नै लामो नामको पछाडी उसले पुवाँ भनी । मैले उसको नाम सम्झन प्रयास गरेँ तर सकिँन । मैले उसको नाम उच्चारण गर्न नसकेको महशुस गरिछ क्यार उसले मलाई ‘पुवाँ’ मात्र भन्ने अनुमती दिई ।

Wednesday, 31 July 2013

एक मिनेटभित्रमा के के हुन्छ इन्टरनेटमा ?


यो सूचनाप्रविधिको युगमा विश्वमा धेरै मानिस इन्टरनेटको पहुँचमा छन् । त्यसैले मान्छेका औँला कम्प्युटरको किबोर्डमा, किप्याड तथा मोबाइल स्त्रिmनमा सल्बलाइरहेका हुन्छन् अनि असंख्य वेबसाइटमा क्लिक भैरहेको हुन्छ । विश्वभरमा गरेर एक मिनेटभित्रमा औषतमा कति मानिसले इन्टरनेट चलाउँछन् होला ? अनि इन्टरनेटमा एक मिनेट भित्रमा के के काम हुन्छन् होला ?


कुनै अध्ययन विना यो प्रश्नको जवाफ दिन गाह्रो छ । तर एक वेबसाइटले भने विश्वमा एक मिनेट भित्रमा इन्टरनेटमा के के हुन्छ भन्ने कुराको विस्तृत विवरण सार्वजनिक गरेको छ । क्यु मी नामको साइटका अनुसार केवल एक मिनेटभित्रमा विश्वभरमा गरेर इन्टरनेटका विभिन्न साइटहरुमा असंख्य काम हुन्छन् । सोसल साइट इन्स्टाग्राममा २ लाख १६ हजार तस्वीर अपलोड हुन्छन्, अमेजनमार्फत ८३ हजार डलरको कारोबार हुन्छ, फेसबुकमा १८ लाख लाइक थपिन्छन् र लगातार ३ दिनसम्मको लागि हेर्न पुग्ने भिडियो अपलोड हुन्छन् । यस्तै फेसबुकमा प्रति सेकेण्ड ४१ हजार स्टाटस अपडेट हुने गरेका छन् ।
विभिन्न श्रोतहरुबाट संकलन गरिएको भन्दै क्युमीले तयार पारेको तथ्यांक अनुसार एक मिनेट भित्रमा गुगलमा २० लाख पटक सर्च गरिएको हुन्छ ।



अझ रोचक तथ्यांक त के भने एक मिनेटभित्रमा विश्वमा ७० वटा नयाँ डोमेन सिर्जना गरिन्छ भने ५७१ वटा नयाँ वेबसाइट तयार पारिन्छ ।
त्यस्तै एक मिनेट भित्रमा २० करोड ४० लाख वटा इमेल पठाइन्छ भने २ लाख ७८ हजार वटा टि्वट्स पोष्ट हुन्छन् । स्मरण रहोस् गो ग्लोब डट कम नामक वेबसाइटले जुन महिनामा सार्वजनिक गरेको तथ्यांकले विश्वमा एक मिनेट भित्रमा झण्डै १७ करोड इमेल आदानप्रदान हुने देखाएको थियो ।
त्यस्तै एक मिनेटभित्रमा विश्वका सबै मानिसले स्काइपीमा च्याटिङ गरेको समय जोड्ने हो भने १४ लाख मिनेट हुन्छ । जबकी अघिल्लो वर्ष ३ लाख ७० हजार मिनेट मात्र थियो ।

Saturday, 27 July 2013

ओहिलिएको प्रेम

“म तपाईं संग डेट जान चाहान्छु ।” मैले सिधैं मुख खोलेर भने ।
एकै छिन हामी बिचमा मौनता छायो । सायद आँखाको सामुन्ने भएको  मौनता भए उनको अन्यौलताको अनुहारको रेखाहरु हेर्न लायक हुन्थे होलान । र म त्यसमै रमाएर घन्टौं विताउन सक्थें होला । तर बिडम्बना म फोन बाट उनलाई प्रस्ताव राख्दै थिएँ । त्यो केहि पलको मौनता पनि कौतुहलता संगै मेरो लागि असहय पिडा बन्यो ।
मैल मनमनै आफैलाई धिक्कारे – पहिलो भेट पश्चात नै मैले यसरी प्रस्ताव नराख्नु पर्ने थियो ।  के ममा धैर्यता भन्ने छैन?

“म के भनु? मलाइ कस्तो अफ्ठ्यारो लागिरको छ ।” मौनतालाइ चिर्दै मलिन स्वरमा उनले भनिन ।
“किन?” म अक्मकिए झैं गरेर आफ्नो कौतुहलता व्यक्त गरें ।
“म सच्चि भन्दै छु । मैले यो कल्पना पनि गरेको थिइन र मलाइ तपाइँसंग डेट  जाने हिम्मत पनि छैन । मलाई माफ गर्नुस म संग त्यत्रो हिम्मत नै छैन  ।” उनले हिम्मत बटुलेरै अस्विकार प्रकट गरिन ।
सायद उनको नजरमा म ठुलो मान्छे भन्ने लाग्यो होला! मान्छे पनि ठुलो-सानो हुन्छ र? मैले सोचें ।
तर म उनको नजरमा ठुलो मान्छे होइन कि केटाकेटी जस्तो भएर प्रेम गर्न चाहन्छे – विना कुनै हिच्किचाहट, विना कुनै रोकतोक । आकाशमा स्वतन्त्र उड्ने चखेवा जोडी जस्तो ।
“मैलें अस्तिको भेटमा केहि ठुला कुरा गरें हो? हेर! म साधारण मान्छे हु । कहिलेकाही केहि कुराहरु अनायास आउछन । तर विश्वास गर म एकदमै साधारण मान्छे हु ।”
लाग्यो यो ठुलो-ठुलो सपना देख्ने र संसार हाँक्ने कल्पना गर्नु पनि वाइयात् नै रैछ । वेकारमा अरुको नजरमा त्यत्तिकै ठुलो मात्रै देखिने । हुने केहि होइन । गर्ने पनि केहि होइन  । भ्रमको खेती गर्दै हिड्ने नेता जस्तो !

Wednesday, 24 July 2013

अर्थतन्त्र धान्नेहरुको अपमान चै किन त ?

यो मेरो आफ्नै अनुभव हो । तर जहाँसम्म मैले मेरा साथीहरुको अनुभव सुनेको छु, यो सबैको अनुभव हुन सक्छ । हामी सबैले भोग्नु पर्ने साझा समस्या र साझा उपेक्षा हो यो । म अर्थात खाडीको एउटा देशको कामदार । म जस्ताको संख्या निकै ठुलो छ, जो पसिना र रगत बगाएर खाडीबाट केहि पैसा कमाएर ल्याउछ आफ्नो मुलुकमा । पैसाको भाषा बुझ्नेहरुलाई पैसाकै तथ्यांक देखाउँन चाहान्छु । तथ्यांक अनुसार विदेशमा काम गरेर नेपालीहरुले हरेक बर्ष करिब २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउँछन् । तर तिनै नेपालीहरु जब घर फर्किन्छन्, एयरपोर्ट ओर्लेपछि देखि नै नसोचेको उपेक्षा, हेला र अपमान पाउँछन् ।

सबैलाई थाहा छ, हामी विदेशीनु बाध्यता हो । परिवारसँग रहेर रमाएर बस्नु पर्ने उमेरमा विदेशीनु र विदेशी भुमिमा रगत पसिना एक गरेर केहि पैसा कमाउँनु पक्कै पनि सजिलो काम हैन । देशमा नै केहि गर्न पाए किन विदेशिन्थ्यो र कोही ? तर विदेशमा बसेर आफ्नो भुमि फर्किनुको खुसीमा किन एयरपोर्ट देखि नै आगो झोस्न थालिन्छ ? मरुञ्जेल काम गरेर केहि पैसा कमाएकाहरुलाई किन मुर्गा मानिन्छ ? हो, तथ्यांकले नेपालीहरुले बाहिर गएर धेरै कमाएको देखाउला तर एउटैले त कमाउँने होइन नि सबै, किन एउटै गरिबबाट सबैले लुट्न खोज्छन् ?

विदेशीनु रहर त पक्कै नहोला
गाउँघरतिर अहिले जवान तन्नेरी युवायुवती सायदै होलान् । जति छन् अधिकतमले कुनै न कुनै विदेशी भुमिका लागि रगत पसिना बगाउँन एप्लाइ गरेर बसेका होलान् । बाँकी रहेका कति फेरि फर्किने शर्तमा केहि दिनको बिदामा बसेका होलान् । विदेश नै नगएका वा जान एप्लाइ नगरेकाको संख्या एकदमै कम छ । पढेकाहरुको जिन्दगीमा केहि परिवर्तन देखिदैन गाउँघरमा । बरु उमेर बढाएर सकेसम्म बाहिरिनेहरुको संख्या बढ्दो छ ।
झट्ट हेर्दा त विदेश जाने, केहि पैसा कमाएर आउँने । नेपालको अस्तव्यस्तताबाट पनि मुक्ति, लोडसेडिङको तालिकाबाट पनि मुक्ति । विदेशी भुमिमा रमाएको पनि देखिएला । कहिले समुद्रका किनारामा खिचेका फोटोहरु फेसबुकमा अपलोड गरेको देखिने, कहिले अग्ला भवन र सफा सडकको छेउमा शानले उभिएर खिचेका फोटोहरु अपलोड हुने फेसबुकमा । ‘मोज छ तेरो’ साथीहरुले प्राय गरिरहने कमेन्ट देखिन्छ फेसबुकहरुमा । तर भोग्नेलाई थाहा हुन्छ, विदेशको भुमि पक्कै पनि रहरलाग्दो धेरै समय हुदैन । जस्तो भएपनि आफ्नै देश प्यारो । भनाई नै छ नि, पोले पनि घामै राम्रो, पिटे पनि आमै राम्रो । देशमा अलिकति मात्रै सम्भावना देखिदो हो त सायदै जान्थ्यो कोही विदेश कमाउँन ।
जान पनि सजिलो छैन, ठाउँ ठाउँमा ठग्न बसेका छन् सबै
पक्का बिमाका कुरा छैनन् । आधिकारिक र विश्वासिला मेन पावर कति छन्, बुझिसक्नु छैन । अनेक किसिमका विज्ञापनहरु आउँछन् पत्रपत्रिका र कति टिभीहरुमा । यस्तोमा अल्मलिनु सर्वसाधारणको लागि अस्वाभाविक हैन । राज्यले यी सबै कुराहरुलाई व्यवस्थित गरेको छैन । मात्र विभिन्न कर र भोलीको सजिलो लागि भन्दै अनेक रसिदहरु थमाइन्छन् राज्यबाट । तर दुर्घटनाले बितेका नागरिकको लास पनि ल्याउँन तदारुकता देखाउँदैन राज्य।

“व्यूटिफूल … व्यूटिफूल

 दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।
एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टक्र्याक टुक्रुक्क बसेका छन् ।
उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ । घटवारेहरु बाहान पुर्‍याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ ।

“ए कान्छा । उठ्” चतूरेले बोलायो ।
आजकाल डूङ्गा तार्ने पालो उसको र कान्छाको छ । यिनीहरुले पैसा कमाउन पाउने, खेलाउन पाउने एकमात्र मौका ।यौटा अजंग सिमलको रुख खोपेर बनाइएको डूँडजस्तो डूङ्गामा पारी पुग्न हतारिएको लाम बसेको छ । हातमा बहना, टाउकोमा थोत्रो टोपीको घेरा र जीउमा कौपिनमात्रको गहनाले सिंगारिएका यी साँच्चै प्रकृतिका छोरा देखिन्छन् ।
मान्छे मान्छेको अगाडि हात फैलाएर चतूरे माग्दैछ – “खै खाजा दिनुपर्‍यो । खै खेवा दिनुपर्‍यो ।” फलामका हात पनि पैसाको लागि फैलिन्छन् । … आत्मविश्वासको कमी छ, कुनै घटवारे तोक्न सक्दैन
– “यत्ति पैसा ।”टाउकैमा बसेकी बुढी थपेनीले सातपत्रै थैलीबाट बल्लतल्ल केही पैसा झिक्छे र चतूरेको हातमा राखिदिंदै भन्छे – “ओखती गराउन जान लाग्या, निको हुन्छ कि हुँदैन कोनी । खाँडा देवीले वाण हानेर आधा अंग नचल्ने बनाइदिएकी छन् ।”
उसको इशारा डोकोमा बसेको अहिले कि भरे मर्लाजस्तो बुढोपट्टिहुन्छ । यो मर्लाजस्तो बुढो यसको चौथो पोइ हो । अघि बैंशमा ऊ निकै चल्तापुर्जा थिइ रे । त्यसैले चोथाले भन्छन् । ऐले यो पक्षवातले मर्न लागेको रोगीलाई बोकेर ओखती गराउन जाँदैछ । नेपाल हो कि मधेश, तर धेरै परचाहिं अवश्य … ।

भारतमा भेटिए १४१ वर्षका पुरुषः मानव इतिहासमै सबैभन्दा बढि बाँच्ने व्यक्ति

भारतको कास्मिरका बासिन्दा फेरोज अन दिन मिरले आफु १४१ वर्षको भएको दाबी गरेपछि यसले तरंग पैदा गरेको छ । यदि उनको दाबी सही ठहरियो भने उनी विश्वका सबैभन्दा वृद्ध मानिसको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल हुनेछन् । अहिल विश्वमा सबैभन्दा जेठा व्यक्तिको रुपमा रहेका जापानका ११५ वर्षका मिसाओ ओकावा भन्दा उनी २६ वर्ष पाका हुनेछन् ।
eroz-ud-Din-Mir-claims-to-have-a-government-certificate-proving-he-was-born-on-March-10,-1872---which-would-make-him-the-world's-oldest-personमिरले हावादारी दाबी गरेका पनि होइनन् । उनको नागरिकतामा बकाइदा उनको जन्ममिति १८७२ साल मार्च १० तारेख लेखिएको छ ।
मिरको यस्तो दाबीपछि गिनिज वल्र्ड रेकर्डस् प्रतिनिधिले यस विषयमा गम्भीर अध्ययन थालेको बताइएको छ । यदि मिरको उमेर १४१ वर्ष नै ठहरियो भने उनी विश्वमा मानव इतिहासमा अहिलेसम्म धेरै वर्षसम्म बाँचेका व्यक्तिको रुपमा समेत गिनिज बुकमा दर्ज हुनेछन् । स्मरण रहोस् विश्वमा अहिलेसम्म धेरै वर्षसम्म बाँच्ने व्यक्ति फ्रान्सका जियन क्लेमेन हुन् । सन् १९९७ मा मृत्यु हुँदा उनको उमेर १२२ वर्ष थियो।