Monday, 23 February 2015

यस्ता छन् विश्वका उत्कृष्ट फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपालबाट पनि अंगद ढकाल, नवीन बराल, उमा विष्ट, विजय गजमेर, विकास कार्की, बीबी फुयाँल, किशोर शर्मा, हेमन्तकुमार श्रेष्ठ, नरेश श्रेष्ठ र दीपक तोलाङ्गेले फोटो पठाएका थिए (सबै सहभागीको नाम हेर्न क्लिक गर्नुस्) तर नेपाली फोटोग्राफरका फोटोले भने कुनै पनि पुरस्कार जित्न सकेन।
Clashes in Maidan square- kiev
स्पट न्युज क्याटेगोरीको स्टोरिजतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो फ्रान्सका Jérôme Sessini ले Magnum Photos for De Standaard का लागि खिचेका हुन्। फोटो युक्रेनको किभमा आफ्ना साथीलाई गोली लागेपछि चिकित्सा सहयोगकालागि बोलाउँदै गर्दाको हो।

Mindsuckers
नेचर क्याटेगोरीतर्फ स्टोरिजको पहिलो पुरस्कार जित्न सफल यो फोटो अमेरिकाका आनन्द वर्माले National Geographic Magazine का लागि खिचेका हुन्। कमिला देखिन्छ यसमा। यार्सागुम्बा जस्तै प्रजातिको ढुसी कमिलामा उम्रेको बेलाको फोटो हो यो। यार्सा, चाहीँ किरामा उम्रन्छ। ४०० भन्दा बढि प्रजातिका यस्ता ढुसीहरुले विभिन्न होस्टहरुलाई जस्तै कमिला, किरा आदीलाई आक्रमण गर्छन्।
Cadet in the  Koninklijke Militaire Academie, Breda.
पोट्रेट क्याटेगोरी तर्फ स्टोरिजको तेस्रो पुरस्कार जितेको यो फोटो इटालीका Paolo Verzone ले Agence Vu का लागि खिचेका हुन्। नेदरल्यान्ड्सको एउटा सैनिक एकेडेमीमा क्याडेटको फोटो हो यो। फोटो सामान्य जस्तै लागे पनि युरोपको एउटा प्रमुख सैन्य एकेडेमीको भएर यसले महत्व पाएको हो।
In Drones We Trust
कन्टेम्पोररी इस्युजको स्टोरिजतर्फ तेस्रो पुरस्कार जितेको यो फोटो बेल्जियमका Tomas van Houtryve ले VII for Harper’s Magazine का लागि खिचेका हुन्। फोटो क्यालिफोर्नियामा खिचिएको हो। विद्यार्थीहरु स्कूलको मैदानमा देखिएका छन्। त्यति भन्दैमा यो फोटोको कथा सकिँदैन। सन् २००४ यता अमेरिकाको गोप्य ड्रोन आक्रमणमा हजारौँको मृत्यु भएको छ। फोटोग्राफरले आफ्नै ड्रोन बनाएर त्यसमा क्यामेरा फिट गरी अमेरिकाका विभिन्न ठाउँमा पाकिस्तान र यमनमा अमेरिकी ड्रोन उडाए जस्तै गरी उडाएर हेरेका हुन्। त्यसै क्रममा यो स्कूलको मैदानको फोटो खिचिएको हो।
Operation Mare Nostrum
जनरल न्युज क्याटेगोरीको सिङ्गलतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो इटालीका Massimo Sestini ले खिचेका हुन्। इटालीको जलसैनिकले जहाजका यात्रुको उद्दार गर्दै लाँदै गर्दाको फोटो हो यो।
16_Bao Tailiang
स्पोर्टस् क्याटेगोरीको सिङ्गल्सतर्फ पहिलो पुरस्कार जितेको यो फोटो मलाई चैँ सबैभन्दा राम्रो लाग्यो। फोटो चीनमा Bao Tailiang ले Chengdu Economic Dailyका लागि खिचेका हुन्। अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो टिम जर्मनीसँग हारेपछि आफ्नो हुन नसकेको विश्व कप तिर सून्य भावले हेरेको यो दृश्य मनै छुने खालको छैन त ?
Ebola Virus for National Geographic Magazine
जनरल न्युज क्याटेगोरीको स्टोरिजतर्फ पहिलो पुरस्कार जितेको यो फोटो अमेरिकाका Pete Muller ले Prime for National Geographic / The Washington Post का लागि खिचेका हुन्। यो सियरा लियोनको फ्रि टाउनमा खिचिएको फोटो हो। इबोला रोग लागेका एक रोगी उनलाई अलग्गै राखिएको वार्डबाट भाग्न खोज्दा फेरि समातेर ल्याउँदै गर्दाको फोटो रहेछ यो। यो फोटो खिचेको केही समयमा नै रोगीको मृत्यु भएछ।
Dallas Cowboys v New York Giants
स्पोर्टस क्याटेगोरीको सिङ्गल्सतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो अमेरिकाका Al Bello ले Getty Images का लागि खिचेका हुन्।
11_Ami Vitale
नेचर क्याटेगोरीमा सिङ्गल्सतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो अमेरिकाकी Ami Vitale ले National Geographic का लागि केन्यामा खिचेका हुन्। केन्याका साम्बुरुहरुले पहिलो पटक गैँडा भेट्दा छाम्दै गरेको फोटो हो यो।
19_Yongzhi Chu
नेचर क्याटेगोरीको सिङ्गल्समा पहिलो पुरस्कार जितेको यो फोटो चिनियाँ फोटोग्राफर Yongzhi Chu ले खिचेका हुन्। यो फोटोमा बाँदर डराएको प्रष्ट देख्न सकिन्छ। आन्हुई प्रान्तमा सर्कस सञ्चालकले बाँदरलाई ट्रेनिङ दिँदै गर्दा पिट्न लागेको बेला खिचेको फोटो हो यो।
TURKEY-UNREST-POLITICS
स्पट न्युज क्याटेगोरीको सिङ्गल्समा पहिलो पुरस्कार जितेको यो फोटो टर्कीका Bulent Kilic ले Agence France-Presse का लागि खिचेका हुन्। इस्तानबुलमा मार्च १२, २०१४ मा सरकारविरोधी प्रदर्शनका क्रममा मारिएका १५ वर्यीय किशोरको अन्त्येष्टिपछि दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा घाइते भएकी किशोरीको फोटो हो यो।
Mass Abduction in Nigeria
हेर्दा यो फोटो पनि सामान्य नै देखिन्छ। यस्तो फोटो त मै खिच्छु जस्तो पनि लाग्दो हो तपाईँलाई। फोटोभन्दा पनि त्यसको पछाडि रहेको कथाका लागि यसले जनरल न्युज क्याटेगोरीको स्टोरिजमा दोस्रो पुरस्कार जितेको हो। अमेरिकाकी Glenna Gordon नाइजेरियाको अबुजामा यो फोटो खिचेका हुन्। यो फोटोको क्याप्सन हो- हराइरहेकी तीन बालिकाको स्कूल युनिफर्म। कथाको क्याप्सन भने यस्तो छ : आफ्नो स्कूल नोटबुकमा Hauwa Nkeki ले आफ्ना दाजुलाई लेखेकी छिन्, ‘प्रिय दाजु, तपाईँलाई लाखौँ शुभकामना, तपाईँका साथीलाई हजारौँ शुभकामना, तपाईँका शत्रुलाई सून्य शुभकामना।’
इस्लामिक लडाकु संगठन बोको हरामले उत्तरी नाइजेरियाको एउटा दुर्गम गाउँबाट अपहरण गरेका तीन सय स्कूले बालिकामध्ये हाउवा एक थिइन्। बोको हराम नामलाई अनुवाद गर्दा पश्चिमी शिक्षा पापी हो भन्ने हुन आउँछ। यो समूहले बालिकाहरुलाई स्कूलमा पठाउन नहुने र केटाहरुले मात्र कुरान पढ्नुपर्ने विश्वास गर्छ।
केही वर्षदेखि नै बोको हरामले गाउँ जलाउने, आफ्नो सेनामा भर्ती गराउन जबर्जस्ती लैजाने गरिरहेका थिए। तर यी बालिकाहरु अपहरण गर्नुअघिसम्म कसैले ध्यान दिएका थिएनन्। मे २०१४ मा अपहरण भएपछि विश्वभर नै यो खबर फैलियो। मिडियामा यसको विरोधमा भएका प्रदर्शनहरुको पनि निकै समाचार आयो। तर यो कभरेजमा केही मिस भएको थियो भने त्यो थियो तिनै बालिकाहरु।
moldovachild
चकलेट बोकेर अंगालो हाल्दै गरेको यो फोटो खासमा केही विशेष नलाग्न सक्छ। फोटोले हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा बोलेको हुन्छ भनेर भनिन्छ। तर यो फोटोले त्यस्तो केही व्याख्या गर्दैन। यो फोटोको बारेमा बुझ्न क्याप्सन पढ्नै पर्ने हुन्छ। क्याप्सन पढिसकेपछि बल्ल यसबारे थाहा हुन्छ। स्विडेनका Åsa Sjöström ले Moment Agency / INSTITUTE for Socionomen / UNICEF का लागि मोल्दोभाको बारोनसियामा खिचेको फोटो हो यो। फोटोको कथा यस्तो छ। यसमा देखिएका चकलेट भएका इगोर हुन्। उसले आफ्नो नवौँ जन्मदिन मनाउन कक्षाका सहपाठीलाई चकलेट दिँदैछन्। इगोर र उनका जुम्ल्याहा आर्थर दुई वर्षको हुँदा उनकी आमा कामका लागि मस्को गएकी थिइन्। पछि त्यहीँ उनको मृत्यु भयो। मोल्दोभाको गाउँतिर बाउआमा बिना हुर्किरहेका हजारौँ बालबालिकामध्येका एक हुन् यिनीहरु। जवानहरु देश छाडेर भागेपछि त्यहाँ बच्चा र बूढाबूढीहरु मात्रै छन्।
02_Raphaela Rosella
अस्ट्रेलियाका Raphaela Rosella ले खिचेर Oculi मा छापिएको यो फोटोले Portraits Category, Singles मा पहिलो पुरस्कार जित्यो। न्यु साउथ वेल्सको मोरीमा खिचेको यो फोटोमा आइतबारे स्कूलमा जान बस कुरिरहेको देखिन्छ। अस्ट्रेलियामा पिछडिएका समुदायका सामाजिक रुपमा अलग्गै रहेका केटीहरु मध्येकी एक हुन् उनी।
Jonathan Jacques Louis, 21, and Alexander Semyonov, 25.
Contemporary Issues, Singles श्रेणीमा पहिलो पुरस्कार पनि जितेको यो फोटो २०१४ को सर्वोत्कृष्ट फोटो अर्थात् वर्ल्ड प्रेस फोटो अफ दि इयर पनि हो। डेनमार्कका Mads Nissen ले खिचेको यो फोटो समलिङ्गी पुरुष जोडीले माया गरिरहेको बेलाको हो। नेपालमा भए समलिङ्गी जोडीको यस्तो निजी फोटो खिच्ने भनेर आलोचना हुन्थ्यो होला है। तर पश्चिमाले रुसमा भइरहेको समलिङ्गी गतिविधिलाई ग्लोरिफाइ गर्ने मौका किन छाड्थे।
04_Sarker Protick
बंगलादेशका Sarker Protick ले खिचेको यो फोटोले पनि खासै केही देखाउँदैन। यसले डेली लाइफ क्याटेगोरीको स्टोरिजमा दोस्रो पुरस्कार जितेको हो। आजभोलिका अनलाइनहरुमा एउटै सिरिजका एक हुल फोटो राखेर शीर्षकमा ब्राकेटभित्र फोटो कथा लेख्या जस्तो हुँदैन फोटो स्टोरी भनेको। यसमा त एउटा कथा समेटिनु पर्छ। जस्तै यो ‘ह्वाट रिमेन्स’ शीर्षकको स्टोरीमा छ। १० वटा फोटोको सिरिजसहितको कथामा माथिको एउटा फोटोमात्रै हो। थप फोटो हेर्न यता क्लिक गर्नुस्। यी फोटोहरु हेर्दा धत्, के खिच्या होला यस्तो लाइट नै नमिलाई जस्तो लाग्न सक्छ। हुन पनि फोटो फुङ्ग उड्या जस्तो देखिन्छ।
कथा यस्तो छ : दिउँसोको समय। म हजुरबुबाको कुर्सीमा बसिरहेको थिएँ। ढोका अलिकति खुला थियो र मैले त्यहाँबाट प्रकाश छिरेको देखेँ, सेतो ढोका र सेतो भित्ताबाट प्रवेश गर्दै। अकस्मात् सबै कुराको अर्थ देखिन थाल्यो। मैले जे देखिरहेको छु त्यसलाई मैले के महसूस गरिरहेको छु सँग सम्बन्ध जोड्न सकेँ। जोन र प्रोभा मेरा हजुरआमा हजुरबुबा हुन्। उनीहरुको मायाममता र हेरचाहका साथ म हुर्केको हुँ। उहाँहरु तगडा हुनुहुन्थ्यो।
समयसँगै सबै कुरा परिवर्तन हुँदै गयो। शरीरले फरक आकार लिन थाल्यो र सम्बन्धहरु टाढिए। हजुरआमाको कपाल फुल्दै गयो र भित्ताका पत्रहरु उप्कँदै गए। सबै सामानहरु एउटै कोठामा खुम्चन थाले। उहाँहरुले मैले फोटो खिचेको मन पराउनु हुन्थ्यो किनभने म उहाँहरुसित धेरै समय बिताउँथेँ र उहाँहरु आफूलाई एक्लो महसूस गर्नुहुन्न थियो। प्रोभाको मृत्युपछि झन् धेरै त्यहाँ जान थालेँ ताकि जोनले बोल्नुहोस्। उहाँले मलाई उहाँहरुको पहिलेको जीवन बारे सुनाउनु भयो र उहाँहरुको भेट भएको बारे पनि। धेरै कथाहरु छन्। यहाँ जीवन मौन र निलम्बित छ। हरेक कुरा पर्खाइमा छ; एउटा त्यसको कुराको पर्खाइ जुन म राम्रोसँग बुझ्दिनँ।
06_Ronghui Chen
चीनका Ronghui Chen ले City Express का लागि खिचेको यो फोटोले समसामियक विषय श्रेणीको सिङ्गल्समा दोस्रो पुरस्कार जितेको हो। चीनमा कामदार कति जोखिमपूर्ण अवस्थामा काम गर्छन् भनेर चीनलाई निच देखाउन सक्छ है भनेर पुरस्कृत गरेको पो हो कि। फोटोमा १९ वर्षका वेई फेस मास्क र सान्ता ह्याट लाएर बसेका छन्। सँगै क्रिसमसको सजावट सुकेको देखिन्छ। रङ्गका लागि रातो पाउडर उड्दै गरेको पनि देखिन्छ। यो रातो धुलोबाट जोगिन उसले दिनमा छ वटा मास्क र ह्याट लगाउँदा रहेछन्। घण्टौँ काम गरिसकेपछि यस्तो धुलोले टाउकोदेखि पैतालासम्म छपक्कै ढाक्दो रहेछ।
Crisis in Ukraine
रुसका Sergei Ilnitsky ले European Pressphoto Agency का लागि खिचेको यो फोटोले जनरल न्युज क्याटेगोरीको सिङ्गल्समा पहिलो पुरस्कार जितेको हो। युक्रेनमा रुस र पश्चिमा देशको अलग्गै स्वार्थ छ। देशमा द्वन्द्व छ। द्वन्द्वकै क्रममा तोप प्रहार हुँदा तीन जनाको मृत्यु र १० घाइते हुँदाको घटनाको फोटो हो यो। सांकेतिक रुपमा घटनाको गहिराई देखाउन खोजिएको छ यसमा।
[आयोजकले यति फोटो मात्र माइसंसारलाई प्रकाशन गर्न अनुमति दिएको छ। पुरस्कृत बाँकी फोटोहरु तपाईँ यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ]
तपाईँलाई कुन फोटो राम्रो लाग्यो त ? तल कमेन्टमा लेख्नुस् है।

No comments:

Post a Comment