दोहा । नेपाल लगायतका देशबाट गएका एकल विदेशी कामदारका लागि लक्षित गर्दै कतारको राजधानी दोहामा बहु प्रतिक्षित व्यापारिक तथा मनोरञ्जन कम्प्लेक्स संचालनमा आउने भएको छ । कतारमा पहिलोपटक एकल विदेशी कामदारका लागि खोल्न थालिएको उक्त सपिङ तथा मनोरञ्जन मल अक्टोबरको पहिलो सातादेखि संचालनमा आउने बताइएको छ ।
पहिलो चरणमा यो परियोजना अन्तरगत कम्प्लेक्स भित्र हाइपरमार्केट हुनेछ । सन् २०१४ को मध्यदेखि यो कम्प्लेक्स पूर्ण सुविधामा संचालित हुनेछ ।दोहाको औद्योगिक क्षेत्रस्थित वेस्ट इण्ड पार्कमा रहेको ग्राण्ड मल हाइपरमार्केट नामको यो मल खासगरी भारतीय, पाकिस्तानी, नेपाली, श्रृलंकाली तथा बंगलादेशी र दक्षिणपूर्वी एसियाली देशका कामदारलाई लक्षित गरी संचालनमा आउन लागेको हो ।



