Thursday, 15 August 2013

विन्डोज ८.१ अक्टोबर १८ मा

माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।

8.1

माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।

विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।

टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।

यस्तै रहेछ यहाँको चलन- सर्वसाधारण मरिरहन्छन्, दोषीहरु हिरो बनिरहन्छन्

गरिबको चमेली बोल्दिने कोही छैन!

jana-aandolan10 सँगैको फोटो २०४६ सालको जनआन्दोलनका क्रममा गोली हानेर मारिएका एक सर्वसाधारणको हो। उनलाई गोली हान्दा गृहमन्त्री निरन्जन थापा थिए, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए र कार्यकारी अधिकारसहितको राजा वीरेन्द्र थिए। राजा गोलीकान्डमा मारिए। मरिचमान ‘हिरो’ बनाइएर हिजो बिते। सर्वसाधारणको त यहाँ कुनै गन्ती नै हुँदैन। नेताहरु आफ्नो स्वार्थका लागि उनै सर्वसाधारणलाई उचाल्छन्, अगाडि उनीहरुलाई राख्छन्। घाइते उनीहरु हुन्छन्, ज्यान उनीहरुले गुमाउँछन्। तर मस्ती उनीहरु लुट्छन्। मार्ने र मार्न लगाउनेहरु हिरो कहलाइन्छन्। मार्ने र मार्न लगाउनेलाई कुनै कारबाही हुँदैन। धेरैअघिदेखि नै नेपालमा यस्तै हुँदै आएको छ। हजारौँको मृत्युको कारण बनेको माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट अनेक ज्यादतिपूर्ण घटना भए। अहिले दुवै पक्षका मर्ने र मार्न लगाउनेहरु दोषी ठहरिएका छैनन्। दुवै पक्षकाहरु हिरो भएका छन्। सत्य निरुपण आयोग भन्ने कुरो न बनाउँछन् न दोषीलाई कारबाही गर्न दिन्छन्। सत्ता र शक्तिको कठपुतली बनेका जनतालाई उनीहरुलाई नै हिरो मान्न लगाइन्छ। नेपालको इतिहास नै यस्तै छ। कोतपर्व मच्चाउनेले पनि सजाय पाएनन्, राणा शासनमा दमन गर्नेहरुले पनि सजाय पाएनन्, पञ्चायती कालमा दमन गर्नेले पनि सजाय पाएनन्। २०४६ सालको आन्दोलन, २०६२/६३ को आन्दोलन दबाउनेहरुले पनि सजाय भोग्नु परेन। गृहयुद्धमा मार्ने र मार्न लगाउनेहरुलाई पनि कारबाही भएको छैन, हुनेवाला पनि छैन। अब वैद्य बाको आडमा नेत्रविक्रम चन्द फेरि युद्ध गरेर मान्छे मारेर भविष्यमा हिरो बन्ने बाटो खोज्दैछन्। यस्तै हो, सर्वसाधारण मरिरहन्छन्, दोषीहरुलाई हिरो बनाइँदै गर्छ। प्रसङ्गै प्रसङ्गमा २०४६ सालको आन्दोलनका केही फोटो भेटियो। त्यतिबेला इन्टरनेट थिएन, ब्लग थिएन, सोसल मिडिया थिएन। अहिलेको पुस्तालाई त्यतिबेलाको आन्दोलन हेर्ने यो एउटा अवसर हो। फोटो विदेशी फोटोग्राफर एलिसन राइटले खिचेका हुन्।

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख

गत आर्थिक वर्ष २०६९/७० मा साढे चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले उक्त अवधिमा ४ लाख ५३ हजार ५ सय ४३ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १७.९ प्रतिशतले बढको जानकारी विभागले दिएको छ । अघिल्लो वर्ष विभागले कुल ३ लाख ८४ हजार ६ सय ६५ जनालाई यस्तो स्वीकृति प्रदान गरेको थियो ।

विगतमा जस्तै गत आर्थिक वर्षमा पनि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमा मलेसिया र खाडी मुलुकहरु देखिएका छन् । गत वर्ष विदेसिएका कामदारमध्ये ३४.६ प्रतिशत मलेशिया, २०.० प्रतिशत कतार, १९.० प्रतिशत साउदी अरब र ११.५ प्रतिशत यू.ए.ई गएका हुन् ।

गत वर्ष मलेशिया जानेको संख्या १ लाख ४६ हजार छ, जुन अघिल्लो वर्षको तुलनामा ५९.४ प्रतिशतले बढी हो । त्यस्तै, दोस्रो गन्तव्य कतार जानेको संख्या ९० हजार ९३ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.० प्रतिशतले कम हो ।

baidesik rojgar

Wednesday, 14 August 2013

त्यस दिनदेखि आमाको ओछ्यानमा सुत्न छाडिदिएँ

हाम्रो परिवार ठूलो थियो- छोराछोरी मात्र दस जना । अहिले सम्झँदा मलाई कहाली लाग्छ, भीरको बाटो हिँड्दा तल ठूलो नदी देखेजस्तो म आत्तिन्छु । मेरी आमाले यत्तिका छोराछोरी (त्यो पनि करिब-करिब बर्सेनीजस्तै भने पनि हुन्छ) के गरी हुर्काउनुभयो होला ? हुन त त्यस बेला मलाई यी कुराको परवाह नरहने मात्र होइन, ख्याल पनि रहँदैनथ्यो कि छोराछोरी हुर्काउनु वा जन्माउनुको पीडा वा व्यथा कस्तो हुन्छ । खासगरी मैले छोरो जन्माएपछि साँच्ची नै मलाई थाहा भयो यसको ‘पीडा’ वा ‘आनन्द’ दुवै कुराको आनन्द ? तपाईं भन्नुहोला पीडाको कुरा गर्दागर्दै फेरि आनन्दको कुरा कसरी आयो ? यसबारे म पछि कुनै बेला चर्चा गरौँला । तर अहिले पीडाकै कुरा राख्छु ।
आजभोलि पनि मैले कुनै गर्भवती आइमाई बाटोमा हिँडिरहेकी, चौतारीमा सुस्ताइरहेकी, आँगनमा उभिइरहेकी, बसमा झुन्डिरहेकी वा कारमै गुड्दै गरेकी देखेँ भने पनि झट्ट सम्झिन्छु- दुई-तीन वर्ष उसको त्यसै खेर जाने भो या मजाले दुःखसित खेल्नुपर्ने भो भनेर । म भित्रभित्रै अमिलिन्छु ।गर्भवती आइमाई जति सम्पन्न भए पनि थुप्रै यस्ता कुरा हुन्छन् जुन कुरा उसले बाहेक अरूले गर्न प्रायः असम्भव हुन्छ । ठूलो भएपछि कसैले स्याहार सुसार गर्‍यो भने पनि आफ्नो सन्तानलाई हुर्काउनु भनेको आफूसमानको दुई जना व्यक्तिसित बिनाहातहतियार लड्नु-भिड्नुजस्तै कठिन कुरा हो’ मलाई लाग्छ ।अँ त, म आफ्नो परिवारिक पृष्ठभूमिको आँगनमा उभिएकी थिएँ क्यार । त्यसबेला हामी सम्पन्न पनि थिएनौँ । तर विपन्न भन्न पनि त्यति सुहाउँदैनथ्यो होला । सायद हमी निम्नमध्यवर्गभित्र पर्दथ्यौँ । गरिबी जन्मजात छालाजस्तै टाँसिएर त आउँदैनथ्यो । तर क्रमशः एक पछि अर्को सन्तान जन्मिदै जाँदा शरीरमा दाँत उमि्रएजस्तै, नङ-कपाल बढेजस्तै हाम्रा आवश्यकताहरू हलक्क बढ्दै जान्थे । गरिबी झन्-झन् झ्यागिँदै, मौलाउँदै माथि-माथि उक्लिरहेको हुन्थ्यो । हाम्रो परिवारको थाँक्रो भने गरिबीको यस हरियालीभित्र कतै लुकेको थियो ।
त्यस बेला आमासित सुत्नका लागि हामीबीच होडबाजी चल्थ्यो तर दूध खाइरहेको बच्चा छ भने पहिले त्यसले मौका पाउँथ्यो । यदि त्यो छैन भने सबैभन्दा पछिल्लोले मात्र आमासित सुत्ने सौभाग्य पाउँथ्यो । त्यसो त दुई-तीन जनाले एकैपटक आमाको दूध खान प्रयत्न नगर्ने पनि होइन । यस्तो किन हुन्थ्यो, त्यो अब यहाँ भनिरहनु नपर्ला ।म केही ठूली भइसकेकी थिएँ । त्यसबेला सायद तेह्र चौध वर्षकी थिए कि ! तर पनि आमासित सुत्ने तिर्सना भने मेटिएको थिएन । त्यसो त हामी आमासित सुत्न नपाए पनि बेलाबखत आमाको ओछ्यानमा केही समयका लागि पल्टिन्थ्यौँ, खेल्थ्यौं झगडा गथ्यौँ । हामी अलि ठूला केटाकेटीहरू हजुरआमासित माथिल्लो तलामा (त्यसबेला नयाँ घर बनिसकेको थियो) सुत्थ्यौँ । तर आमाको ओछ्यान भान्साकोठाको नजिकै भुइँतलामा थियो, जसले गर्दा हामीलाई त्यहाँ जान र सुत्न सजिलो र आरामदायी त छँदै थियो, त्यसबाहेक पनि आमाको ओछ्यानमा सुत्ने मोह त्यसै पनि थियो ।बर्सेनी छोराछोरी जन्माएर पनि होला, प्रायः गरी आमा ओछ्यान पर्नुहुन्थ्यो अथवा नपरे पनि बिरामीभन्दा कम देखिनुहुन्नथ्यो ।
कुनै एक साँझ 
भान्साघरमा कल्याङमल्याङ सुनिथ्यो । केटाकेटीहरू मलाई यो पुगेन, त्यो पुगेन वा उसलाई किन बढी ? मलाई किन कम ? भनेर निहुँ खोज्दै, झगडा गर्दै थोरै खाँदै थिए, धेरै पोख्दै थिए । त्यस दिन कसो भएर हो मैले पहिले नै खाइसकेकी थिएँ । अनि मौका भेट्टाएँ भनेर झटपट आमाको ओछ्यानमा मुख छोपेर एक्लै आनन्दले गुटमुटिएँ । केहीबेरपछि कसैले बिस्तारै सिरक तान्यो ।
मैले सोचेँ कुनै भाइबहिनी आइपुगेछ र घुसि्रन कोसिस गरिरहेको छ । मैले उसलाई छिर्न नदिने हिसाबले झन् सिरक च्यापेँ । “कान्छी ! ए कान्छी ! किन यति छिट्टै सुतिस् ?” अप्रत्यासित बुबाको आवाजले म तर्सिएँ । उनी अझ कामुक स्वरमा भन्दै थिए, “खै ! मलाई पनि अलिकति ठाउँ दे ।”म आत्तिएँ । के गरौँ, कसो गरौँ भएर भित्रभित्रै छटपटिएँ, डराएँ । “खै यता आ ।” उनी झन्डै टाँस्सिन आइपुगे । मलाई एकातिर डर थियो, अर्कोतिर लाजले झन्झन् खुम्चिन थालेँ । अन्त्यमा उनले बलपूर्वक सिरक ताने । म विवश हेरिरहे, सहिरहेँ ।मलाई देखेपछि उनी तुरुन्तै त्यहाँबाट हिँडे । सायद उनी पनि आफैँदेखि लज्जित भए कि ! मलाई थाहा छैन । त्यस अँध्यारोमा मैले उनको अनुहार नियाल्न सकिनँ । न त मसित त्यो गर्ने साहस र आँट नै थियो । तर एउटा कुरा, त्यस दिनदेखि मैले आमाको ओछ्यानमा सुत्न छाडिदिएँ ।
(पाण्डेको सस्मरण संग्रह यौन र अनुभूतिबाट)

नासाको आज उल्का वर्षा

आज सोमबार राति नेपाली आकाशमा उल्का वर्षा हुँदैछ । सामान्य बोलिचालीमा तारा खसेको समेत भनेर चिनिने यस्तो उल्का वर्षा अवलोकनका लागि कुनै उपकरणको आवश्यकता नपर्ने र नांगो आँखाले समेत आकाशमा हेरेर यसको मनोरञ्जन लिन सकिने खगोलविद्हरुले जनाएका छन् । तर बादल लागेको तथा पानी परेका कारण उल्का वर्षाको दृश्य हेर्नमा भने कठिनाइ हुनेछ ।
1
यस्तो उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म हुनसक्ने बताइएको छ । पुछ्रेताराले छाडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घश्रणका कारण बल्न गई चम्किलो हुने गर्छन् । त्यसैलाई उल्का वर्षा भन्ने गरिन्छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले उल्का वर्षाको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । प्रत्यक्ष प्रशारण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वैज्ञानिकहरुका अनुसार हरेक वर्ष जुलाई १७ देखि अगष्ट २४ सम्म उल्कावर्षा सक्रिय हुने गर्छ । स्विफ्ट टटल नामक पुछ्रेताराले सुर्यको परिक्रमाका क्रममा छाडेका धूलोका कणहरु पृथ्वीको कक्षमा प्रवेश गर्ने गर्छन् । तिनैलाई उल्का वर्षा भन्ने गरिन्छ । यस्ता पदार्थहरु निकै उच्च गतिमा पृथ्वीको वायुमण्डमा प्रवेश गर्दछन् र त्यहीँ जलेर नष्ट हुन्छन् ।

दार्जीलिङमा जनताको कर्फ्यु , बंगाली नेताले भने- ‘नेपालीहरु नेपाल जाओ ‘

karfu३० साउन, काठमाडौं । भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाउनुभएको छ । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले बताउनुभएको छ ।
उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको गुरुङले दाबी गर्नुभएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । तृणमुल कांग्रेसका नेताले मंगलबार नेपाली हरु नेपाल जाओ भन्ने अभिव्यक्ति दिएको बुधबार प्रकाशित भारतीय पत्रिका हिमालयन दर्पणले लेखेको छ ।