बहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्ये बाट तेश्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सय जना व्यक्तिहरुको सूचि मंगलयात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नाम संस्थाले प्रकाशित गरेको छ ।
२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स वनले तेश्रो चरणका लागि छनोट भएका १ सय जना मध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४-४ जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइनेछ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्नेछन् ।
छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ त्था एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरु मंगल अभियानको अन्तिम १ सय मा छनोट हुन सफल भएका छन् ।
छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्यावारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबइमा बस्दै आएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षीया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ ।
त्यस्तै अन्तिम १ सय जनामा छनोट हुने एकमात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सवानको सूचिमा उल्लेख छ ।



